काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

त्यो काण्ड

२०१३ सालमा नेपालको शिक्षाको मुख्य भाषा नेपाली हुने घोषणा भयो। त्यतिबेला शिक्षामन्त्री थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा। यही सेरोफेरोका बीच २०१४ सालमा विराटनगरमा एउटा यस्तो काण्ड भयो, जसले पूरै नेपाल हल्लियो। घटना थियो– ४ माघको। र, मुद्दा बन्यो– हिन्दीलाई राष्ट्रिय भाषा बनाउनुपर्ने।

८ कार्तिक २०८२
विराटनगरको हिन्दी भाषा आन्दोलनको एआईसिर्जित तस्बिर र नारायणप्रसाद अर्जेल
अ+
अ-

सी ए टी– क्याट।
क्याट माने बिल्ली।।
डी ओ जी– डग।
डग माने कुत्ता।।

२००७ सालअघि नेपाली विद्यार्थीहरूले अंग्रेजी पढ्ने भनेकै यसरी नै थियो। अझ भारतसँग सीमा जोडिएको तराईका स्कुलहरूमा राष्ट्रिय गान गाउँदा लाइनमा उभिएका नेपालीहरूले भट्याउने गर्थे–

जन–गण–मन अधिनायक जय हे
भारत भाग्य विधाता।

भारतको यही राष्ट्रिय गान कण्ठ पारेका नारायणप्रसाद अर्जेल २०१२ सालमा लखनउ विश्वविद्यालयबाट एमए पास गरेर विराटनगर फर्किएका मात्र के थिए, स्थानीय बुद्धिजीवीहरूले उनलाई समातिहाले। त्यतिबेला मनमोहन अधिकारीका बुबा रामचन्द्र अधिकारी, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, चन्द्रिकाप्रसाद लोहनीलगायत बुद्धिजीवीहरू विराटनगरमा कलेज स्थापनाका लागि दिनरात खटिरहेका थिए। तर, उनीहरूले नेपाली भाषामा पाठ्यपुस्तक पढाउने व्यक्ति फेला पार्न सकिरहेका थिएनन्। त्यसैले निराश बन्दै गएका थिए।

नारायणप्रसादको विराटनगर आगमनले उनीहरूमा खुसीको रक्तसञ्चार भयो। नभन्दै उनीहरू प्रस्ताव लिएर नारायणप्रसादको घर पुगे। सुरुमा नारायणप्रसाद पढाउने कुरामा सहमत थिएनन्। तर, अर्को जागिर नभएको अवस्थामा यत्तिकै किन बस्ने भन्ने भयो। यही भएर उनले अग्रजहरूको प्रस्ताव स्वीकार गरे।

यसपछि नेपालको शैक्षिक इतिहासमा अर्को कोसेढुंगा थप्यो, विराटनगरले। राणाकालमै १९९२ सालमा कृष्णप्रसाद कोइरालाको अग्रसरतामा पहिलोपल्ट फुसको घरमा जनताका छोराछोरी पढाउन आदर्श विद्यालयको स्थापना भएको थियो। २०१२ सालमा मोरङ कलेजको स्थापना भयो। यो कलेज त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो हो र राजधानीको त्रिचन्द्र कलेजपछि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने दोस्रो कलेज पनि बन्यो।

त्यतिबेला त्रिभुवन विश्वविद्यालयको स्थापना भइसकेको थिएन। त्यसैले पटना विश्वविद्यालय (राणाकालमा कोलकाता विश्वविद्यालय)बाट सम्बन्धन लिएर कलेजको पढाइ हुन्थ्यो। फेरि, पढाउने मास्टरहरूको पनि कमी थियो। काठमाडौँमा केही अनुभवी नेपाली शिक्षक थिए। तर, तराईको हकमा त्यो पनि भएन। भारतबाटै शिक्षक झिकाउनुपर्ने बाध्यताका बीच पढाइलगायत सबै गतिविधि भारतीय स्कुल र कलेजको जस्तै हुन्थ्यो।

नारायणप्रसादको आगमनसँगै मोरङ कलेजमा नेपाली भाषामा पढाइ सुरु भयो। उनी हेडमास्टर नियुक्त भए। कलेजको नतिजा पनि राम्रो थियो। त्यहाँ बाहुन, क्षेत्री मात्र होइन; राई, लिम्बु, मारवाडी, मधेसीलगायत सबै भर्ना भए।

नारायणप्रसाद अर्जेल। तस्बिर : बिक्रम राई/नेपालन्युज

नेपाली भाषामा हुने पढाइबाट सबै खुसी नै देखिन्थे। कलेज भर्ना हुने नयाँ पुस्ताका विद्यार्थीका लागि नौलो अनुभव पनि थियो। किनभने, धेरै स्कुलमा हिन्दी भाषामै पढाइ हुन्थ्यो।

यही स्थितिमा २०१३ सालमा नेपालको शिक्षाको मुख्य भाषा नेपाली हुने घोषणा भयो। त्यतिबेला महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री थिए। यही सेरोफेरोका बीच २०१४ सालमा विराटनगरमा एउटा यस्तो काण्ड भयो, जसले पूरै नेपाल हल्लियो। घटना थियो– ४ माघको। र, मुद्दा बन्यो– हिन्दीलाई राष्ट्रिय भाषा बनाउनुपर्ने।

यही दिन रंगेलीस्थित भारतीय सीमाबाट आएका आन्दोलनकारीले ‘हिन्दी भाषा लेकर रहेंगे’ भन्दै नगर परिक्रमा गरेर गोस्वारास्थित बडाहाकिमको कार्यालय घेर्‍यो। पूर्वसूचना नदिई सयौँको संख्यामा आएको त्यो भिडबाट उठेको आवाज थियो– ‘हिन्दी भाषा जिन्दावाद। तराईं स्थान लेकर रहेंगे।’

त्यो आन्दोलन कसको नेतृत्वमा भएको थियो? त्यो सुरुमा खुलेको थिएन। तर, सविस्तार बुझेपछि प्रशासनलाई खुट्याउन गाह्रो परेन– आन्दोलन तराई कांग्रेसका नेता वेदानन्द झाको सक्रियतामा भएको रहेछ।

“म त्यतिबेला कलेजमै कार्यरत थिएँ। बजारमा वेदानन्दले उत्पात मच्चाएछन्,” ९१ वर्षीय नारायणप्रसाद पुरानो कुरा सम्झिँदै भन्छन्।

काण्डमा स्थानीय मारवाडी तोलाराम दुगड र डा. अवध नारायणलगायतको पनि संलग्नता थियो। त्यतिबेला विराटनगरका बडाहाकिम तारकबहादुर शाह (ऋषिकेश शाहका बुवा) थिए। घटना हुँदा उनी कामविशेषले काठमाडौँ फर्किएका रहेछन्।

“मेरै विद्यार्थीका अभिभावक पनि हिन्दी भाषाको आन्दोलनमा लागेको देखेर चकित परेँ,” उनी भन्छन्।

रंगेलीको भारतीय सीमाबाट आएका आन्दोलनकारीले केही बेर बजारमा उत्पात मच्चाए। यो घटनाको सूचना पाएपछि धरान र इटहरीका राई–लिम्बूहरू गाडी र ट्रक चढेर विराटनगर उत्रिए।

धन्न, त्यहाँ कुनै अप्रिय घटना भएन। “हिन्दीलाई राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर आन्दोलन हुन थालेपछि धरान र इटहरीबाट मानिसहरू गाडी र ट्रक चढेर विराटनगरतर्फ आउन थाले,” विराटनगर जुट मिल्सका पूर्वनिर्देशक लीलाप्रसाद लोहनी सम्झन्छन्, “धरान र इटहरीबाट आएका नेपालीहरूको हातमा नांगो खुकुरी थियो।”

उक्त घटनामा विराटनगरमा रगतको खोला बग्ने अनुमान गरिएको थियो। तर, तत्कालीन इन्स्पेक्टर पहलमान सिंह (पीएस) गुरुङको नेतृत्वमा स्थानीय सरकारले अभूतपूर्व काम गर्‍यो। हिन्दी भाषाको आन्दोलनमा उत्रिएका केही व्यापारीहरू भागेर स्थानीयको घर घरमा छिरे। “तोलाराम दुगडहरू बुवा (चन्द्रिकाप्रसाद लोहनी)सँग हारगुहार गर्न घर आउनुभयो। त्यतिबेला विराटनगरका बुद्धिजीवीहरूले अग्रसरता नलिएको भए घटनाले अर्को रूप लिनसक्थ्यो,” विराटनगरका अर्का बुद्धिजीवी दीपक लोहनी बताउँछन्।

यस घटनामा प्रशासनले पनि सकारात्मक भूमिका निर्वाह गर्‍यो। दुवै पक्षका आन्दोलनकारीलाई मत्थर पार्न विराटनगरका बुद्धिजीवी र राजनीतिकर्मीहरू समावेश गरेर सर्वदलीय बैठकको आयोजना भयो। यही बैठकमा आन्दोलनकारीले पनि स्वीकार गरे– नेपालमा हिन्दीलाई राष्ट्रिय भाषा घोषणा गर्ने कार्य उपयुक्त छैन।

वेदानन्द झा। एआईसिर्जित तस्बिर

“वास्तवमा त्यो वेदानन्दको राजनीतिक स्टन्ट थियो। पछि मन्त्री भएर फ्रान्सको भ्रमणमा आउँदा मलाई सुनाउँदै हुनुहुन्थ्यो– सबैलाई देखाइदिएँ। त्यतिबेला म फ्रान्सको राजदूत थिएँ,” नारायणप्रसाद भन्छन्।

२०१५ सालको पहिलो जननिर्वाचनमा वेदानन्द सिरहाबाट उठेका थिए। उनलाई लागेको थियो, तराईमा त्यति ठूलो आन्दोलन गरेका कारण सबैले भोट हालिहाल्छन् भन्ने। तर, उनी नराम्ररी चिप्लिए। त्यो चुनावमा उनी मात्र होइन, तराई कांग्रेसका सबै नेताहरूको जमानत जफत भयो। २०१७ सालमा राजा महेन्द्रको कदमलाई समर्थन गरेर उनी पञ्चायतमा उद्योग तथा वाणिज्यमन्त्री नियुक्त भए। उद्योग तथा वाणिज्यमन्त्री भएको अवस्थामा नै आफ्नो भेट फ्रान्समा वेदानन्दसँग भएको अर्जेल बताउँछन्। “मलाई उहाँले राम्रोसँग चिन्नुहुन्थ्यो। त्यही भएर २०१४ सालको घटना कोट्याउनुभयो। उहाँको कुरा सुनेर अचम्म लाग्यो,” उनी भन्छन्। २०३५ सालमा वेदानन्दलाई भारतका लागि नेपाली राजदूत पनि नियुक्त गरियो।

यसपछि विराटनगरमा लामो समय कुनै घटना भएन। २०३१ सालमा एकैपल्ट राजा वीरेन्द्रलाई कोसी प्रदेश अस्पतालनजिकै बम प्रहार भयो।