काठमाडौं। बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याब्रिएन पाट्रोल २०२५’ मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले आइतबार जंगीअड्डामा आयोजित एक विशेष समारोहमा सो टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन्।
अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गरी नेपाल र नेपाली सेनाको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै ९ जना प्रतियोगी र एकजना व्यवस्थापक गरी १० जनालाई प्रशंसा निशानबाट सम्मान गरिएको सेनाले जनाएको छ।
गत १७ असोजदेखि २६ गतेसम्म बेलायतको वेल्सस्थित ब्रेकन क्षेत्रमा सञ्चालन भएको सो अभ्यासमा ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता थियो। कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकको उपस्थिति थियो।