काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जनस्वास्थ्य

जलवायु परिवर्तन, बदलिँदो मौसमी प्रणालीका कारण तराईबाट पहाड हुँदै हिमालसम्म पुग्यो कालाजार

९ कार्तिक २०८२
बाजुरामा समातिएका स्यान्डफ्लाई स्याम्पलहरू। तस्बिर : श्याम भट्ट
अ+
अ-

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विज्ञहरूले लगातार २४ महिना गरेको पछिल्लो अध्ययनले सुदूरपश्चिमका बैतडी र बाजुराका चार गाउँमा कालाजारको स्थिति डरलाग्दो देखिएको छ।

भारतीय सीमाबाट एकदेखि तीन किलोमिटर टाढा रहेका बैतडी पहाडका दशरथचन्द नगरपालिकास्थित त्रिपुरा र सेरा अनि २०० किमी टाढा रहेका बाजुराका हिमाली गाउँ काम्ती र तिलुचौरमा कालाजारका बिरामी अझै छन्। अनुसन्धाता धनबहादुर उरावका अनुसार बैतडीको सानो भूगोल त्रिपुरा क्षेत्रमा मात्र पाँच संक्रमित भेटिनु राम्रो लक्षण हैन। ‘‘जनसांख्यिक वितरणका हिसाबले देशका पहाडी र हिमाली क्षेत्रको अवस्था उस्तै भएकाले यो रोग देशभरि सक्रिय छ,’’ उराव भन्छन्।

भारतसँगको खुला सीमाका कारण पनि नेपालमा यो रोग सजिलै भित्रिने गरेको छ।

जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी भरत पन्तका अनुसार गत वर्ष मात्र भारतीय सीमावर्ती चार गाउँमा कालाजारका १२ बिरामी भेटिएका थिए।

कालाजारको लक्षण साधारण ज्वरो आउने, सिटामोल खाँदा निको हुने र फेरि ज्वरो आउने हो। शरीर कालो बन्दै जाने भएकाले यस रोगलाई कालाजार भनिएको हो। प्रारम्भमै रगत जाँच गरी गाउँमै निःशुल्क औषधि सेवन गर्दा यस रोगले खासै समस्या दिँदैन। तर हेलचेक्र्याइँ गर्दा रोग पत्ता लगाउन बोनम्यारो परीक्षण गर्नुपर्ने हुन्छ, र त्यसको उपचार धरान र काठमाडौँमा मात्र सम्भव छ। ‘‘बोनम्यारो टेस्टसम्म पुग्नु अन्तिम स्टेज हो र यसपछिको उपचार जटिल तर निःशुल्क छ,’’ प्रतिष्ठानका अनुसन्धाता मनीष कर्ण बताउँछन्।

नेपाली समाजमा ३० वर्षयता जरा गाडेको कालाजारविरुद्ध सजगता अपनाउन समाज आफैँ सक्रिय हुनुपर्ने अनुसन्धाता कैलासकुमार माझीको सुझाव छ।

२४ महिना लगातार अनुसन्धानमा संलग्न धरानका कर्ण, माझी र उराव। तस्बिर : श्याम भट्ट

सामान्य देखिने थुप्रिएको फोहोर, मुसाको दुलो, पुराना घर, सफा नगरिने गोठका कारण उत्पन्न हुने भुसुनाले मानिसमा कालाजार संक्रमण गर्छन्। दुई साता लगातार ज्वरो आउनु, खानामा रुचि नलाग्नु र शरीर कालो हुँदै जानु यसका प्रमुख लक्षण हुन्।

नब्बेको दशकमा तराईमा कालाजार देखिएपछि सन् १९९६ देखि २०१५ सम्म नियन्त्रण अभियान चलाइएको थियो। जसका कारण तराईमा कालाजार संक्रमण कमी भयो। तर अहिले पहाड हुँदै हिमालमा पुनः देखा परेपछि अनुसन्धाता चकित छन्।

निश्चित स्थानमा भेटिएका भुसुनाको घनत्वका हिसाबले गरिने यस अध्ययनमा उनीहरूलाई स्याम्पलका रूपमा टिप्न मेसिन र मुखको समेत प्रयोग गरिन्छ।

सरकारले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर कालाजार अध्ययन र नियन्त्रण अभियान चलाए पनि यो रोग उन्मुलन भने हुन सकेको छैन।

बाङ्लादेशलाई कालाजारको खानी मानिन्छ। संक्रमितको संख्याको आधारमा भारत दोस्रो स्थानमा छ भने तेस्रोमा पाकिस्तान। यो सूचीको चौथोमा नेपाल छ। युरोप, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा आजसम्म कालाजारको पहिचान भएको छैन।

बाजुरामा समातिएका स्यान्डफ्लाई स्याम्पलहरू। तस्बिर : श्याम भट्ट

बैतडी र बाजुराअघि सरकारले हुम्ला, सुर्खेत, डोटी, अछाम, कैलाली र पाल्पामा पटक पटक यस रोगबारे अध्ययन र नियन्त्रणका प्रयास गर्दै आएको थियो। नब्बेको दशकमा सर्लाही, महोत्तरी र सप्तरीलाई नराम्ररी गाँजेको कालाजार नेपालको तराईभरि फैलिएको थियो।

जलवायु परिवर्तन, बदलिँदो मौसमी प्रणालीका कारण वैज्ञानिकहरूले यो रोग तराईबाट पहाड हुँदै हिमालसम्म पुगेको बताएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले यो अध्ययन बेल्जियमको एक गैरसरकारी संस्थासँग मिलेर गरेको हो।