९ कार्तिक २०८२
अ+
अ-

काठमाडाैं। लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो।

घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्‍यो। खेलको पाँचौं मिनेटमा डाङ्गो ओउटाराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि केभिन सेडले पहिलो हाफको अन्त्यतिर, ४५औं मिनेटमा, अर्को गोल गर्दै अग्रता दोब्बर पारे।

तर, इन्जुरी समयमा लिभरपुलका मिलोस कर्केजले एक गोल फर्काएपछि पहिलो हाफ २–१ को स्थितिमा टुंगियो।

दोस्रो हाफमा पनि खेल निकै रोमाञ्चक बन्यो। ८०औं मिनेटमा ब्रेन्टफोर्डका इगोर थियागोले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै अग्रता ३–१ मा पु-र्‍याए। अन्त्यतिर, लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सलाहले ८९औं मिनेटमा गोल फर्काए पनि टोली बराबरीमा फर्किन सकेन।

निर्धारित समयसम्म थप गोल हुन नसक्दा लिभरपुल ३–२ ले पराजित भयो।
यो जितसँगै ब्रेन्टफोर्ड अंकतालिकाको दसौं स्थानमा उक्लिएको छ भने लिभरपुल छैटौं स्थानमा झरेको छ।