काठमाडौं। काभा कप पुरुष भलिबल (काभा कप फर मेन)को उपाधि होडबाट नेपाल बाहिरिएको छ।
ढाकास्थित इन्डोर हलमा आइतबार सम्पन्न चौथो खेलमा अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो।
यसअघि तुर्कमेनिस्तानसँग ३–० को सोझो सेट र बंगलादेशसँग ३–२ को हार बेहोरेको थियो। तर, चौथो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर नेपालले फाइनल खेल्ने सम्भावना कायम राखेको थियो।
तर, आइतबारको हारसँगै नेपालको शीर्ष दुईमा रहने सम्भावना समाप्त भएको छ। नेपालले अन्तिमबाहेक कुनै पनि सेटमा अफगानिस्तानलाई चुनौती पेस गर्न सकेन।
नेपालले पहिलो सेट २५–१८ ले सहजै विपक्षीलाई सुम्पिएको थियो। दोस्रो सेटमा पनि नेपालको उस्तै प्रदर्शन रह्यो र खेल २५–१७ ले गुमायो। तेस्रो तथा अन्तिम सेटमा नेपालले पुनरागमन गर्ने प्रयास गरेको थियो। तर, २५–२१ अंकले खेल गुमायो।
प्रतियोगितामा शीर्ष दुई टोली उपाधिक लागि भिड्ने छन्। जितसँगै अफगानिस्तान ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ४ अंक रहेको नेपाल चौथो स्थानमा छ।