९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ।

गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा अनुरोध गरेको छ।

जेनजीको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवाद गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

‘‘देशमा शान्ति सुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान महत्त्वपूर्ण एवं अपरिहार्य रहेको हुँदा सोहीबमोजिमको भूमिका र दायित्व अपेक्षित छ”, विज्ञप्तिमा भनिएको छ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात, सार्वजनिक सेवा पुनः सुरु गर्नुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याई निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको थप प्रष्ट पारेको छ। यो स्थितिमा हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

“देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ।

आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हकअधिकार कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा मन्त्रालयले अनुरोध गरेको छ।