काठमाडौँ। परम्परागत पौभा चित्रकलाको महत्त्व दर्शाउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ।
‘मास्टर्स अफ डिभोसन : पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा गरिएको चित्रकला प्रदर्शनी यसअघि भक्तपुरमा प्रदर्शन गरिएको थियो। सोही कलालाई पुनः काठमाडौँमा दोहोर्याएर प्रदर्शन गरिएको सिद्धार्थ आर्ट ग्यालरीका प्रमुख सङ्गीता थापाले जानकारी दिइन्।
काठमाडौँ आर्ट ग्यालरीले आयोजना गरेको प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन्। पाका र युवा पुस्ताको मिश्रित कला एकसाथ देख्न पाइने प्रदर्शनी आगामी ६ मंसिरसम्म जारी रहनेछ। ग्यालरी प्रमुख थापाले सातौँ शताब्दीको प्राचीन पौभा परम्परालाई भक्तपुरका कलाकारहरूले आध्यात्मिक चिन्तनका साथ प्रस्तुत गरेकामा प्रशंसा गरिन्।
उनले प्रत्येक चित्रले पवित्र भेटी र नेपालको स्थायी सांस्कृतिक आत्माको प्रतिबिम्ब दुवै प्रतिनिधित्व गर्ने कुरामा जोड दिएको बताइन। अजय कर्माचार्य, बलराम निस्टु, चन्द्रकृष्ण किजू, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन्।