काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार खोज्न काठमाडौं उपत्यका प्रहरीले ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ।

आइतबारदेखि सुरू गरिएको उक्त अपरेसनमा जेन-जी आन्दोलनका लुटिएका हातहतियार खोजिने उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बताए।

“यो सुरक्षाजन्य संवेदनशील गतिविधि, लुटिएका हातहतियार सामग्री र व्यक्तिहरू फेला पार्ने उद्देश्यले सञ्चालन गरिएको संयुक्त वा योजनाबद्ध अपरेसन हो,” एआईजी कार्कीले भने।

यो अपरेसन अन्तर्गत आइतबार प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा खानतलासी गरेको थियो। काठमाडौं महानगरपालिका–३२ सुबिधानगरस्थित सम्पदा बोइज होस्टेल ब्लक ‘बी’ र महानगरपालिका–३१ प्रयागमार्गस्थित ब्लक ‘ए’ मा प्रहरीले स्वीप अपरेसन चलायो।

उक्त अपरेसनका क्रममा ब्लक ‘ए’ को कम्पाउन्डभित्र रहेको स्टोरमा लुकाइएका सामग्री फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा दुई थान हतकडी, एपीएफ बडी प्रोटेक्टर विथ स्टिक एक थान, प्रहरी लौरो एक थान र एउटा हार्ड डिस्क बरामद भएको एआईजी कार्कीले बताए।

ती सामग्री लुटेको आरोपमा धनुषा जनकपुर उपमहानगरपालिका–७ घर भई हाल प्रयागमार्गस्थित ‘ए’ होस्टेलका वार्डन २४ वर्षीय गोविन्दकुमार ठाकुर पक्राउ परेका छन्।

स्वीप अपरेसनका क्रममा ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली मोतीचोकमा प्रहरीले बेवरिसे अवस्थामा एउटा चाइनिज हतकडी फेला पारिएको ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले बताए।

प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरी टोलीले हतकडी फेला पारी चौकीमा ल्याएको छ। टिकाथलीमा आइतबार दिउँसो प्रहरीले हनुमन्ते खोला किनारबाट चाइनिज पेस्तोल, म्यागजिन र तीन थान गोली बरामद गरेको थियो।

जेन-जी आन्दोलनको दोस्रो दिन उपत्यकाका प्रहरी युनिटहरूबाट ठूलो संख्यामा साना तथा ठूला हातहतियार, गोली लुटिएको थियो। लुटिएका हतियार बुझाउन गृह मन्त्रालयले असोज मसान्तसम्मको समय दिएको थियो। असोज मसान्त गुज्रिएपछि गृहले विशेष अपरेसन सञ्चालन गरेर हातहतियार खोज्न प्रहरीलाई निर्देशन दिएको थियो।