भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले हाल नख्खु जेलमा रहेका सभापति रवि लामिछानेलाई कारागार प्रशासनकै आग्रहमा निकालिएको दाबी गरेका छन्।
भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे जवाफ दिँदै उनले रवि बलजफ्तीले नभई कारागार प्रशासनकै आग्रहअनुसार बाहिर आएको दाबी गरे।
उनले त्यसदिन रविलाई निकाल्न भन्दै कारागार प्रशासनले अर्का उपसभापति स्वर्णिम वाग्लेलाई फोन गरेको पनि अर्यालले जिकिर गरे। भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईं, डीपी अर्याल वा निकिता पौडेलमध्ये कोही आउनुपर्छ,’ नख्खुबाट स्वर्णिमलाई आएको फोनबारे उनले भने। उनले उक्त प्रमाण पार्टीसँग सुरक्षित रहेको पनि जिकिर गरे।
उनले रविलाई नख्खु कारागारबाट जबरजस्ती ननिकालेको भन्दै आफ्नो बचाउ गरे। ‘भदौ २४ गतेको त्यस परिस्थितिमा सरकारकै उच्च तहले रविलाई जेलबाट बुझिदिन भनेर आग्रह गरेकाले हामी गएका हौँ,’ उनले दाबी गरे।
उनले २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा रविलाई छुटाउने उक्त निर्णयमा आफ्नो गल्ती भेटिएमा कारबाही सहन तयार रहेको पनि उनले बताएका छन्।