काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पोखरा। कास्की जिल्ला प्रहरी कार्यालयअन्तर्गतका कार्यालय तोडफोड, आगजनी र प्रहरीका हतियार लुटेको आरोपमा १० जना पक्राउ परेका छन्।

भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका ती घटनामा १० जनालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।

पक्राउ परेकामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट हातहतियार लुटपाट र प्रहरी कार्यालय आगजनी गर्ने चारजना, वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रो लगाएर आगो लगाउने एकजना र प्रहरी चौकी नयाँपुलमा आगजनी गर्ने पाँचजना रहेको कार्कीले बताए।

जेन-जी आन्दोलनको क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा आगजनी गरिएको थियो। उक्त कार्यालय मातहतका प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो।

पक्राउ पर्नेमा कास्की जिल्लाका २४ को राजेश मक्रान्ती, ५४ वर्षीय नारायण साई, २२ वर्षीय अरुण विक, ४१ को रुपेश मगर, ४३ को दिपु साई छन्। अन्य पक्राउ पर्नेमा ४७ को लङबहादुर नेपाली, १९ वर्षीय अरविन विक, २२ को ग्रिस क्षेत्री, ६२ वर्षीय थमबहादुर सार्की र ४२ वर्षीय पूर्णबहादुर नेपाली छन्।

पक्राउ परेकालाई तोडफोड, आगजनी तथा आपराधिक उपध्रव कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक कार्कीले बताए।