काठमाडौँ। मनाङमा हिमपातमा फसेका ७५० जनाको उद्धार गरिएको छ। मनाङ घुम्न गएका उनीहरूलाई तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका ९ स्थित खाङसारमा सुरक्षित ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षित राखिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। मनाङ घुम्न गएका केहीलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि सुरक्षित फर्कने व्यवस्था मिलाइएको उनको भनाइ छ।
त्यसैगरी काठमाडौं महानगरपालिका ३१ बस्ने ४५ वर्षीय वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस् अवस्थामा उद्धार गरिएको छ। तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा एक्कासि लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको फौजले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो।
मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भू-भाग खोज तथा उद्धार तालिम सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरूको उद्धारमा सहजता भएको थापाले बताए।
यो पनि…
अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो, पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो
अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात [फोटो फिचर]