काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

भरतपुरमा समाजसेवी चालकको परिचय बनाएका आकाशले खोजेर ल्याएका थिए जर्मन युवतीको हराएको ब्याग

११ कार्तिक २०८२
क्यान्सरका बिरामीलाई निःशुल्क अटो सेवा दिने आकाश। तस्बिर : निशा श्रेष्ठ
अ+
अ-

नारायणगढ पुलचोकमा एक जर्मन युवती तनावमा ओहोरदोहोर गरिरहेकी थिइन्।

कात्तिक ५ गते साँझ ४ बजेतिर यो दृश्य नियालिरहेका अटो चालक आकाश अर्यालले ती युवतीलाई विनम्र भई सोधे, ‘तपाईंलाई के समस्या पर्‍यो? म केही सहयोग गर्न सक्छु कि?’

तर, ती युवतीले झर्किंदै भनिन्, ‘नो! नो! प्लिज लिभ मी अलोन।’

६/७ चक्कर लगाएर थाकेपछि ती युवती आकाशको नजिकै पुगिन् र भक्कानिँदै रुन थालिन्।

काठमाडौँबाट सौरहा घुम्न गएकी ती युवतीले झर्ने बेला एउटा ब्याग माइक्रोमै छुटाइछिन्, जसमा आइप्याडलगायत महत्त्वपूर्ण सामान थिए।

उनीसँग दुइटा ब्याग रहेछ। एउटा सिटमा र अर्को पछाडि डिक्कीमा। डिक्कीको ब्याग निकाल्ने क्रममा उनले सिटमा भएको ब्याग निकाल्न छुटाइन्। त्यसपछि अलमलिएकी उनले आकाशसँग आफ्नो समस्या सुनाइन्।

आकाश भन्छन्, “रुँदै समस्या बताएपछि उहाँलाई सौरहाको होटलमा पुर्‍याएर म ब्याग खोज्न निस्किएँ। त्यो माइक्रो पत्ता लगाउन निकै सोधखोज गर्नुपर्‍यो। अन्त्यमा ब्याग फिर्ता पाइयो। ब्याग उहाँ बसेको होटेलमै पुर्‍याइदिएँ।”

ब्याग फिर्ता गरेपछि ती युवतीले आकाशलाई सन्देश पठाइन्, ‘नारायणघाट फर्केपछि म तपाईंलाई भेट्न चाहन्छु।’

त्यसपछि युवतीले आकाश मात्र नभई उनको परिवारलाई नै भेटिन् र एक रात आकाशकै घरमा अतिथि बनेर बसिन्।

तिहारको समय भएकाले आकाशले ती युवतीलाई स्टेजमा हुने देउसीभैलो कार्यक्रम देखाउन लगे। भन्छन्, “देउसीभैलोमा रमाउँदै उहाँले पैसा पनि उडाउनुभयो।”

उनीहरूको सम्बन्ध यत्तिमै सीमित भएन। ती युवतीले ठोरीमा रहेका आकाशका आमाबुबासँग भिडियो कलमार्फत कुराकानीसमेत गरिन्। आकाशले पनि उसै गरी विदेशी युवतीका अभिभावकसँग बात मारिसके।

आकाश भन्छन्, “हामी दुवैका अभिभावकहरू खुसी हुनुभयो।”

भन्छन् नि, खुसी दुबोजस्तै फैलिन्छ। यो खुसीमा धेरै मानिस जोडिएका छन्।

सामाजिक सञ्जालमा सक्रिय आकाशले २२ वर्षीय जर्मन युवतीसँगको पहिलो भेट, उनलाई गरेको सहयोगदेखि घरमा बोलाएर खाना खाएका गतिविधिसम्मको भिडियो सार्वजनिक गरे। त्यसपछि सामाजिक सञ्जालमा आकाशको चौतर्फी प्रशंसा भइरहेको छ।

जर्मन युवतीसँग आकाश। तस्बिर : आकाशको फेसबुक

सो घटनापछि फेसबुकमा १२ हजार फलोअर्स बढेको उनी बताउँछन्। टिकटकमा पनि उनलाई ६ हजारभन्दा बढीले पछ्याएका छन्। फोनै गरेर धन्यवाद दिनेहरूको संख्या पनि कम छैन।

आकाशको परिचय र चर्चा यतिमै सीमित छैन। २८३९ नम्बरको हरियो अटो चलाउने उनले भरतपुर क्षेत्रमा समाजसेवी चालकको परिचय बनाएको धेरै भइसक्यो। उनले आठ महिनादेखि क्यान्सर बिरामी र उनका आफन्तलाई निःशुल्क अस्पताल पुर्‍याउँदै आएका छन्।

यो सेवा प्रदान गर्न उनले निश्चित समय नै तोकेका छन्, शनिबारबाहेक हरेक दिन बिहान ७ देखि १० बजेसम्म। दैनिक कम्तीमा पाँचसातपटक क्यान्सर अस्पताल ओहोरदोहोर गर्ने उनी औसतमा १५/१६ जनालाई निःशुल्क सेवा प्रदान गर्ने बताउँछन्।

पर्सा, ठोरी गाउँपालिका वडा नं १ मूलघर भएका आकाशको कर्मभूमि भरतपुर हो। आठ वर्षअघि नारायणघाट बजार क्षेत्रमा अटो चलाउन थालेपछि उनले क्यान्सर अस्पताल आउजाउ गर्ने धेरै बिरामी भेटे। त्यतिबेलासम्म उनलाई क्यान्सर प्राणघातक रोग हो भन्नेसमेत थाहा थिएन। अटो चलाउन थालेपछि क्यान्सर बिरामी र उनका आफन्तका पीरमर्कालाई नजिकबाट अनुभूत गरे। बिरामीका दुःखपीडाका कथा सुने र बुझे पनि।

टाढा टाढाबाट आउने बिरामीहरूले पैसा नभएर भोकभोकै दुई पैसा भए पनि जोगाउन गरेको दुःख देखेपछि केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरह्यो। “म आफैँ गरिब परिवारमा जन्मेर दुःख गरेर बाँचिरहेको मान्छे। अझै संघर्ष गरिरहेको छु,” भन्छन्, “बूढाबूढी र आपतमा परेकाहरूलाई निःशुल्क अस्पताल पुर्‍याएर सहयोग गर्नबाहेक अरू सक्दिनथेँ।”

बेलाबखत सहयोग गर्दै आएका उनले आठ महिनाअघि भने घोषणा गरेरै समय तोके। त्यसयता भरतपुरमा क्यान्सर बिरामीलाई निःशुल्क सेवा दिने अटोचालकको परिचय बनाइसकेका छन्।

आकाश अर्याल।

निःशुल्क सेवा दिने भन्दै यात्रुलाई बोलाउँदा धेरै त खुसी हुँदै उनको अटोमा बस्छन्। तर कोही कोही त निःशुल्क भनेकैले चढ्न अनकनाउँछन्। जब अन्य यात्रु चढ्छन् अनि बल्ल विश्वास गर्छन्। अनि उत्रेपछि भन्छन्, ‘तपाईंले एकदमै राम्रो काम गर्नुभएको छ। धेरै धन्यवाद है!’

एसएलसी सकेको केही समयमै प्रेमविवाह गरेका उनी ठोरीमै बुवाको टेलरिङको काममा सहयोग गर्थे। तर, बिहे गरेपछि आर्थिक दबाब बढ्यो र थप सम्भावनाको खोजीमा चितवन पसे। सुरुमा त्यहाँ पनि उनले कपडा सिलाउने नै काम गरे। त्यसपछि वेल्डिङको काम गरेका उनलाई एक दिन श्रीमतीले सल्लाह दिइन्, ‘अटो किनेर आफ्नै काम गर्दा अझै फाइदा हुन्छ कि!’

उनले सल्लाह मनन गरेर अटो किने। कमाइ पनि राम्रै भयो। तीन वर्षअघि बचत गरेको पैसामा ऋण जोरजाम गरेर घर किने।

आकाशले बिरामीलाई सहयोग गर्ने भनेर छुट्याएको दैनिक तीन घण्टाको समय उनको राम्रो कमाइ हुने बेला हो। भन्छन्, “बिहानको कमाइ राम्रो हुन्छ, तर बिहान निःशुल्क अटो चलाउँछु। धेरै पैसा भएर होइन, केही राम्रो काम गरौँ भन्ने सेवाभावले हो।”

५ वर्षीय छोराका पिता आकाशलाई बिहानको कमाइको क्षतिपूर्ति गर्न दिउँसो र बेलुका अतिरिक्त मेहनत गर्नुपर्ने दबाब छ। यही दबाबबीच केही बाधाअड्चन पनि झेल्नुपरेको उनको दुखेसो छ।

“राम्रो काम गर्दा पनि मान्छेले आरिस गर्दा रहेछन्। निःशुल्क यात्रु बोकेर हिँड्दा कतिले धम्क्याए। कतिले यस्तो काम गरेर केही हुन्न। कहिलेसम्म नि:शुल्क गर्न सक्छस् र? छोड् दे समेत भने,” भन्छन्, “१० बजेपछि अटो नै चलाउन दिन्नँ भन्नेहरूको तनावसमेत झेल्नुपरेको छ।”

जसले जे भने पनि उनी दत्तचित्त भएर आफ्नो काममा लागिरहेका छन्।

बिरामी र तिनका आफन्तले उनको सहयोगको महत्त्व बुझेका छन्। असल मन भएकाहरूले टाढैबाट भए पनि उनको कामको खुलेर प्रशंसा गरेका छन्। सबैभन्दा ठूलो कुरा आमा, बुबा, श्रीमती र भाइबाट उनले पूर्ण समर्थन पाएका छन्। भन्छन्, “म धेरै पेसा भएर नभई परिवारको साथले गर्दा यहाँसम्म आइपुगेको हुँ।”

जाडो, गर्मी, धुवाँधुलो र घामपानी सहेर अटो चलाउने काम आफैँमा चुनौतीपूर्ण छ। झन् आकाशले अटो दुर्घटना हुने र अटो चोरी भएको घटनासमेत भोगेका छन्। सुनाउँछन्, “एकपटक त अटो चोरेर लगे अनि धादिङ भिरबाट खसालेर समेत कच्याककुचुक पारिदिएँ।”

तैपनि आठ वर्षदेखि यही अटोको सहारामा उनको परिवारको गुजारा चलिरहेको छ। आकाशका अनुसार निःशुल्क सेवा पाएपछि वृद्धवृद्धाले दिने आशीर्वाद उनका लागि ठूलो सम्पत्ति हो। त्यही आशीर्वाद थाप्न होला, दुबई जान भिसा लागेर पनि उनले भरतपुर छोडेनन्।

अटो सेवा दिइरहेका आकाश। तस्बिर : आकाशको फेसबुक

पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका आकाशले त्यसलाई पनि बिरामीका लागि रगत, अर्थ र अन्य सहयोग संकलन गर्ने माध्यम बनाएका छन्। यसले उनको तारिफ गर्ने र उनीमार्फत बिरामीलाई सहयोग गर्नेहरूको संख्या पनि बढिरहेको छ।

यसले थप राम्रो काम गर्ने ऊर्जा बढेको उनी बताउँछन्। “राम्रो काम गर्दा सन्देश पनि राम्रै जाने रहेछ। क्यान्सर बिरामीलाई सहयोग गर्ने मान्छे भनेर भरतपुरतिर मलाई केहीले चिन्नुहुन्थ्यो,” भन्छन्, “विदेशी नागरिकलाई सहयोग गरेपछि विदेशमा समेत नेपाली इमानदार हुन्छन् भन्ने सन्देश फैलिएको छ।”