मौसम अपडेट
स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अपिल
काठमाडौँ। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज (मंगलबार) राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ। त्यसपछि विस्तारै कमजोर हुँदै उत्तर, उत्तर-पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भागनजिक आई पूर्वतर्फ सर्दै मिति पर्सि (बिहीबार) दिउँसोदेखि शनिबार (१५ गते) बिहानसम्म नेपालको बागमती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ।
उक्त प्रणालीको प्रभावले मधेस र कोसी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले मंगलबार दिउँसो सूचनामार्फत जनाएको छ। मधेस र कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
विभागका अनुसार कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ। साथै कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावनासमेत रहेको सूचनामा उल्लेख छ।
अहिलेको विश्लेषणअनुसार उक्त अवधिमा बागमती, कमला, कोसी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ। साथै कोसी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।
विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेसका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोसीका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको पनि विभागकी प्रवक्ता विभूति पोखरेलले सूचनामार्फत जनाएकी छन्।
सम्भावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा यस विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको पनि जनाएको छ। तसर्थ, सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सम्बन्धित सबै निकाय र आमसर्वसाधारणलाई विभागबाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन पनि अपिल गरेको छ।
यी हुन् वेबसाइट तथा सामाजिक सञ्जाल :
Website : https://www.dhm.gov.np/
Website: https://hydrology.gov.np/
Website: https://dhm.gov.np/mfd/
Facebook Page: https://www.facebook.com/mfd.nepal.5
Facebook Page: https://www.facebook.com/Flood.EWS
Facebook Page: https://www.facebook.com/climate.section.3
X Page: https://x.com/ DHM Weather
X Page: https://x.com/DHM FloodEWS
