काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

आवरण

थलिएको विद्युतीय शवदाह गृह

१२ कार्तिक २०८२
पशुपतिस्थित विद्युतीय शवदाह गृह। तस्बिर : शिखा श्रेष्ठ/नेपालन्युज
अ+
अ-

वातावरण प्रदूषण रोकथाम गर्ने उद्देश्यसहित पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याएको विद्युतीय शवदाह गृहमा हाल तीनवटा मेसिन छन्। तर, दुईवटा मेसिन सधैँजसो बन्द हुन्छ। एउटा मात्रै मेसिन चलेका कारण अन्तिम संस्कारका लागि शव लैजाँदा चारपाँच घण्टासम्म पालो कुर्नुपर्छ।

पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृहको परिकल्पना २०३९ सालमा गरिएको थियो, तर ल्याइयो २०६९ सालमा। २०७१ सालदेखि सञ्चालनमा आएको शवदाह गृह एक दशकमै पूर्ण क्षमतामा नचल्ने भइसकेको छ।

हुन त मेसिन स्थापना गरेर सञ्चालनमा ल्याउने समयमा नै यसको विरोध भएको थियो। पशुपति आर्यघाटमा काम गर्नेहरूको रोजगारी गुम्ने भन्दै गरिएको विरोधकै बीच अस्पतालबाट १४ बेवारिसे शव ल्याएर मेसिन सञ्चालनको सुरुआत गरिएको थियो। काठमाडौँमा जनघनत्व बढ्दै जाँदा आर्यघाटमा शवको चापले वातावरण प्रदूषण बढ्नुका साथै बागमती नदी धमिलिँदै गएपछि विद्युतीय शवदाह यन्त्रको योजना बनाइएको थियो।

सुरुमा दुईवटा मेसिन राखिएकामा शवको चाप बढ्दै गएपछि २०७६ सालमा तेस्रो मेसिन थपियो। त्यसपछि कोभिड महाव्याधिको समयमा थुप्रै शव जलाइए। त्यतिबेलादेखि दुईवटा मेसिनमा समस्या आयो। भएकै मेसिनका पार्टपुर्जा हेरफेर गरेर दुईवटा चल्न सक्ने बनाइयो।

शवदाह गृहका दुईवटा मेसिन अहिले पनि बिग्रिएकै अवस्थामा छन्। शवदाह गृहका कर्मचारी र पशुपति क्षेत्र विकास कोषले मर्मतको क्रममा रहेको बताउँदै आएका छन्। यसबारे हामीले दुई महिनाअघि पनि जिज्ञासा राखेका थियौँ। उक्त समयमा पनि एउटा मात्रै मेसिन सञ्चालनमा थियो। मेसिन बिग्रेर शवदाहमा समस्या भइरहे पनि मर्मत गर्न कोषले चासो राखेको छैन। कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार भारतबाट सामान ल्याउनुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको हो।

यी दुवै मेसिन कोभिडकालमा बिग्रेका दुई मेसिनको ठाउँमा नयाँ प्रतिस्थापन गरी चैत २०८० देखि सञ्चालनमा ल्याइएको हो। जडान गरेको डेढ वर्षमै समस्या आएका मेसिनहरूको मर्मत नहुँदा प्रयोगविहीन छन्। कोषका एक कर्मचारीका अनुसार आपूर्तिकर्ता कम्पनी म्याप इन्टरप्रेनर्सले समयमा भुक्तानी नपाएका कारण मेसिन मर्मत हुन नसकेको हो। ती कर्मचारीका अनुसार मेसिनको मर्मत हरेक तीन महिनामा गर्नुपर्नेमा डेढ वर्षको बीचमा एकपटक मात्रै मर्मत गरिएको छ।

विद्युतीय शवदाह गृहमा तीन मेसिन भए पनि एउटा मात्रै चल्नु र मर्मत गर्न तत्परता नदेखाउनुमा नागरिकले कोषको नियतमा शंका गरेका छन्।

विद्युतीय शवदाह गृहमा दैनिक औसतमा १५ वटा शव जलाइन्छ। एउटा शव जल्न ४५ मिनेट लाग्छ। यहाँ शवदाह गर्न चार हजार रुपैयाँ शुल्क तोकिएको छ। दाउराको प्रयोग गरिने पशुपति आर्यघाटमा भने १५ हजार रुपैयाँ लाग्छ। छिटो, सहज र वातावरणीय हिसाबले पनि विद्युतीय शवदाह गृह उचित भएकाले मेसिनमा आएको समस्या तत्कालै समाधान गरेर सेवा सहज बनाउन कोष अग्रसर हुनुपर्ने देखिन्छ।

२४ वैशाख २०८२ मा पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहका लागि थप चार थान फर्नेस अर्थात् शव जलाउने मेसिन र एक थान जेनेरेटर खरिद गर्ने निर्णय गरेको थियो। यो खरिद प्रक्रियामा १० करोड ३३ लाख ९१ हजार रुपैयाँ भ्रष्टाचार भएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन सदस्यसचिव मिलन थापासहित १६ जनाविरुद्ध ८ असार २०८२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जुन अदालतमा विचाराधीन छ।

पुरानो मेसिन नबन्दा र विद्युतीय शवदाह गृहको क्षमता विस्तारको काम अलपत्र परेपछि शवदाह सेवा लिन जानेहरूले असहजता खेपिरहनुपर्ने अवस्था छ। जसले मृत्यु संस्कारजस्तो विषयमा पनि राज्यको असंवेदनशीलता देखाउँछ।

हेर्नुहोस् भिडियो :