काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवातका कारण नेपालको पूर्वी भागमा हुने वर्षाले नदी सतह बढ्ने भन्दै कोशी, मधेश र बागमतीका २७ वटा जिल्लामा सतर्कताको चेतावनी जारी गरेको छ। विभागका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।
त्यसैगरी वर्षा र हिमपातको कारणले नदीनालाहरूमा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले विभागको चेतावनीमा उल्लेख छ।
विभागले बुधबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। बिहीबार दिउँसोदेखि शनिबारसम्म मधेश तथा कोशी प्रदेशको केही स्थानमा भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ। मौसमविद्हरूले २४ घण्टामा ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भन्ने गरेका छन्। विभागले बागमती प्रदेशमा मध्यम वर्षा हुने जनाएको छ। १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भन्ने गरिएको छ।
साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको तथा कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
हालसम्मको मौसमको विश्लेषण गर्दा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने विभागले जनाएको छ।