काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँका सडकमा पैदलयात्रीको सिक्री थुतेर लुटपाट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली, हरिहरगढी गाउँपालिका-६ का घर भई भक्तपुर, सूर्यविनायक नगरपालिका-५ तीनधारे बस्ने २८ वर्षीय राज लामा, उदयपुर ताप्ले गाउँपालिका-४ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ सल्लाघारी बस्ने २० वर्षीय दुर्गबहादुर मगर रहेका छन्।

यस्तै, रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भई चाँगुनारायण नगरपालिका-२ सल्लाघारीस्थित श्री लक्ष्मी ज्वलर्सका सञ्चालक ३२ वर्षीय दिलबहादुर विक, बागलुङको गल्कोट नगरपालिका-२ घर भई बूढानीलकण्ठ नगरपालिका-६ सरस्वतीनगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय को गोविन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२२ स्थित मनु जेम्स एन्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारको छोरा वर्ष २२ को दिपेश रसाइली रहेका छन्।

उनीहरूलाई स्वयम्भु प्रहरी वृत्तको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

पक्राउ परेकामध्ये लामा मोटरसाइकल चलाउँथे भने मगर सिक्री तान्थे। त्यसरी लुटेको सिक्री उनीहरूले विक, सुनार र रसाइलीले ज्वेलर्समा पुर्‍याउँथे। ती ज्वेलर्सका सञ्चालकले लुटिएका सिक्री किनबेच गर्ने गरेको भट्टराई बताउँछन्।

उनीहरूको साथबाट प्रहरीले लुटेका सिक्री तथा गालेर स-साना ढिक्का बनाइएको सात तोला सुन बरामद गरेको छ। यस्तै, सुनारको ज्वेलर्सबाट एक लाख ६६ हजार र विकको ज्वेलर्सबाट तीन लाख ८८ हजार ५०० रुपैयाँ बरामद गरेको छ। उनीहरूको साथबाट सिक्री लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल, मोबाइललगायत बरामद भएको प्रहरीले जनाएको छ।