काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। भारतसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले विजयी भएको छ।

सिक्किमको पाल्जोर रंगशालामा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेनन्। खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबीच थप गोल नभएपछि पेनाल्टी सुटआउटमा नेपाल ३-० ले विजयी भएको हो।

नेपालको गोलपोस्टको जिम्मा खेलको निर्धारित ९० मिनेटसम्मै उषा नाथले सम्हालेकी थिइन्। खेल बराबरीमा गएपछि नेपालका प्रशिक्षक नवीन न्यौपानेले अन्जना राना मगरलाई गोलपोस्ट सम्हाल्न अनुमति दिए। अन्जनाले भारतको दुई पेनाल्टी रोक्दै नेपालको जित सुनिश्चित गरिन्।

नेपालका लागि पेनाल्टी सुटआउटमा सविता राना मगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गरे। अनीता बस्नेतले भने पोस्ट बाहिर प्रहार गरिन्। पहिलो र दोस्रो पेनाल्टी गोल हुँदा तेस्रो क्रममा आएकी अनीताले पोस्टबाहिर प्रहार गरेकी थिइन्। जसको कारण नेपालले चौथो पेनाल्टीसम्म कुर्नुपर्‍यो। चौथो पेनाल्टीमा निशा थोकरले गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्।

भारतका लागि प्रियादर्शनीले पहिलो, दोस्रो सन्तोष र तेस्रो पेनाल्टी सुटआउट अष्टम ओरम हानेकी थिइन्। तीनैका प्रहारलाई गोलकिपर अन्जनाले रोकिन्।

खेलको ३०औं मिनेटमा भारतका लागि सोमिया गुगलोथले गरेको गोलसँगै १-० को अग्रता बनाएको थियो। पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा नेपालका लागि रश्मीकुमारी सिंहले गोल गर्दै नेपाललाई एक-एक बराबरीको स्थितिमा ल्याइन्। नेपालले यसअघि त्रिदेशीय शृंखलामा पनि भारतलाई २-१ ले पराजित गरेको थियो।