काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नगरपालिकाकै गाडी चढेर गर्दै छन् संगठन निर्माण

१२ कार्तिक २०८२
हर्क साम्पाङ। तस्बिर : साम्पाङको फेसबुक
अ+
अ-

पार्टी भनेको रोग हो!
क्यान्सरजस्तै निको नहुने!

धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले १८ वैशाख २०८१ मा आफ्नो फेसबुक पेजमा लेखेका शब्द हुन् यी। तर, अहिले साम्पाङ स्वयं श्रम संस्कृति नामको पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। आयोगले दल दर्ताका लागि साम्पाङले बुझाएका कागजातको अध्ययन गरिरहेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार सम्पूर्ण कागजात, हस्ताक्षर, विधानलगायतको अध्ययनपछि मात्र दल दर्ता गरिन्छ। दर्ता नभए पनि साम्पाङ र उनको समूह भने विभिन्न ठाउँमा पुगेर संगठन निर्माण गरिरहेका छन्।

राजनीतिक दललाई घृणा गर्ने र नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमा ‘झोले’, ‘भ्रष्टाचारी’ भनेर गाली गर्ने साम्पाङ किन आफैँ दल खोल्न अघि सरे?

२३ र २४ भदौको जेन-जी आन्दोलनपछि संघीय सरकार ढल्यो। त्यसपछि नयाँ सरकार बनाउने तयारी भइरहेको थियो। साम्पाङ आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै समर्थकको टोली लिएर काठमाडौँ आइपुगे। जंगी अड्डा र विभिन्न ठाउँमा पुगे, उनका समर्थकले नारा, जुलुस र झडप गरे। तर, साम्पाङ प्रधानमन्त्री बन्न सकेनन्। त्यसपछि उनी गृहमन्त्री माग्दै प्रधानमन्त्री कार्यालय पुगे। त्यसपछि धरान फर्किएका उनले रुँदै मन्त्री बन्न दूतावास जान भनिएको भन्दै सरकार विदेशी दलालको चलखेलमा बनेको आरोप लगाए। लगत्तै आफ्ना समर्थक भेला गरेर उनले स्वतन्त्र मान्छेलाई प्रधानमन्त्री बन्न नदिइएकाले अब राजनीतिक दल आवश्यक रहेको भन्दै संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए।

त्यसो त साम्पाङले दल बनाउने प्रयास गरेको यो पहिलोपटक भने होइन।

जाति र धर्मका विषयमा मनलाग्दी बोलेर विवादमा पर्ने गरेका साम्पाङ आफूलाई भने एकतावादको प्रतिपादन गर्ने दार्शनिक दाबी गर्छन्। २०७६ को उपनिर्वाचनमा चुनाव चिह्नन बोतल लिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका उनले वितरण गरेको पम्प्लेटमा स्वयंलाई ‘दार्शनिक (एकतावाद दर्शन प्रतिपादक)’ घोषित गरेका थिए।

आफूलाई एकतावाद दर्शनका प्रतिपादक (दार्शनिक) रहेको भन्दै साम्पाङले वितरण गरेको चुनावी पर्चा। तस्बिर : साम्पाङको फेसबुक

त्यसअघि साम्पाङले दल निर्माणका लागि ‘आदिवासी मूलवासी एकता सञ्जाल’ बनाएका थिए। तर, उनले भनेजस्तो सञ्जाल नबनेपछि आफैँ राजनीतिक दल बनाउन लागिपरे। आफू संस्थापक संयोजक बनेर राष्ट्रिय एकता पार्टी (लोकतान्त्रिक), राष्ट्रिय एकता पार्टी नेपालजस्ता नाम राखेर अभियान पनि चलाए। त्यसबेला उनले आफ्नो नाम हर्क साम्पाङ (क्रान्ति) राखेका थिए।

देश संघीयतामा गएपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा धरानका मेयरमा नेपाली कांग्रेसका तिलक राईलाई चार हजार मतान्तरले हराउँदै एमालेका तारा सुब्बा विजयी भए। तर, मेयर बनेको एक वर्षमै १ साउन २०७५ मा सुब्बाको मृत्यु भएपछि एमालेकै उपमेयर मञ्जु भण्डारी कार्यवाहक मेयर बनिन्। तर, उनको कार्यकाल विवादित बन्यो।

२०७६ सालमा भएको मेयर पदको उपनिर्वाचनमा एमालेका प्रकाश राईलाई हराउँदै धरानको इतिहासमै पहिलोपल्ट कांग्रेसका तिलक राई मेयर बने। एमालेको हारमा पूर्वउपमेयर भण्डारीको कमजोर कार्यसम्पादनका साथै उम्मेदवार प्रकाश राई मतदातामाझ खासै परिचित नहुनुलाई कारण मानिएको थियो। यो उपनिर्वाचनमा खानेपानी बोर्डमा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गर्दै अभियान चलाइरहेका हर्क साम्पाङ पनि मेयरको उम्मेदवार बनेका थिए। उनले जम्मा ४२२ मत पाएका थिए।

हर्क साम्पाङको घरको भित्तामा झुन्ड्याइएको राष्ट्रिय एकता पार्टीको संस्थापक संयोजक रहेको तस्बिर

चुनावमा पराजित भए पनि साम्पाङ भ्रष्टाचार, खानेपानीलगायत मुद्दा लिएर टोल टोलमा पुगे। अमेरिकी परियोजना एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरे। जातीय समुदाय र धार्मिक समूहलाई भेटेर सहयोगको अपिल गरे।

२०७९ सालको स्थानीय निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टी (जसपा)सँग टिकटका लागि अनुनय गरेका साम्पाङले धरानवासीको ध्यानाकर्षण गराउन कहिले सडकमा एक्लै आन्दोलन गर्ने, कहिले नगरपालिकाको गेटमा प्रदर्शन गर्ने त कहिले खानेपानीको पाइप तोडफोड गर्ने कार्यमा लागे।

यता, उपनिर्वाचनबाट मेयर बनेका कांग्रेसका तिलक राईले पनि तीन वर्षको अवधिमा उल्लेखनीय काम गर्न सकेनन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेले उनै पूर्वउपमेयर मञ्जु भण्डारीलाई मेयरको टिकट दियो। कांग्रेस र माओवादी केन्द्र गठबन्धनले कांग्रेसका किशोर राईलाई मेयर र माओवादीका आईन्द्रविक्रम वेघालाई उपमेयरको उम्मेदवार बनाए। हर्क साम्पाङ स्वतन्त्र उम्मेदवार बने। संयोगवश उनले पनि देशव्यापी माहोल बनाएका काठमाडौँका मेयरका उम्मेदवार बालेन्द्र साहको चुनाव चिह्न लौरो नै पाए।

कांग्रेस, एमाले र माओवादीभित्रका असन्तुष्ट पक्षको भोट उनैलाई गयो। राई बहुल धरानमा उनलाई जातीय भोटसमेत आयो। सबै कुरा मिल्दा उनी नगर प्रमुखको कुर्सीमा पुग्न सफल भए।

मेयर बनिसकेपछि पनि अभियन्ताकै रूपमा चन्दा उठाएर पार्क निर्माण गर्ने, श्रमदान अभियान चलाउने काम गरिरहेका उनले देशमा प्रधानमन्त्रीका लागि प्रत्यक्ष निर्वाचन हुने हो भने आफू प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका थिए। उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने भन्दै सडकमा प्रदर्शन पनि गरे।

प्रत्यक्ष निर्वाचित कार्यकारीको मागसहित साम्पाङ। तस्बिर : साम्पाङको फेसबुक

जेन-जी आन्दोलनपछि प्रधानमन्त्री दाबी गरे पनि नपाएका उनी अहिले दर्ताको प्रक्रियामा रहेको श्रम संस्कृति पार्टीको संगठन निर्माणमा जुटेका छन्। उनले सुनसरीका विभिन्न ठाउँदेखि झापा, उदयपुर, काठमाडौँलगायत ठाउँमा पुगेर संगठन निर्माण गरिरहेका छन्।

संगठन निर्माणका लागि सरकारी गाडी चढेर विभिन्न ठाउँ पुगेपछि सामाजिक सञ्जालमै उनको आलोचना भइरहेको छ।

चुनाव जित्नुअघि नै उनले आफू मेयर बनेमा सरकारी गाडी नचढी आफ्नै पुरानो मोटरसाइकल चढ्ने बताएका थिए। मेयर जितेलगत्तै उनले भनेका पनि थिए, ‘गाडी चढेर हिँडेँ भने सडकका खाल्डाखुल्डी देख्दिनँ।’

संगठन निर्माण गर्न सरकारी गाडी प्रयोग गर्दै हर्क साम्पाङ

तर, त्यसको केही समयपछि नै उनले खानेपानी बोर्डको पैसाले करिब सात लाख पर्ने होन्डा कम्पनीको एक्सआर मोटरसाइकल खरिद गरे। हाल कहिले उपमहानगरपालिकाको गाडी र कहिले मोटरसाइकल चढेर हिँड्छन्। उपमहानगरको गाडी लिएर संगठन निर्माणमा हिँडेको भनेर आलोचना गर्नेहरूलाई उनले सञ्जालमै यस्तो जवाफ दिएका छन्, ‘सरकारी गाडी सरकारले नचढेर कसले चढ्छ त, लाटाहरू।’

तत्कालीन समयमा सात लाख पर्ने होन्डाको एक्सआर मोटरसाइकलतस्बिर : साम्पाङको फेसबुक

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको राजनीतिशास्त्रका उपप्राध्यापक सकुल श्रेष्ठ साम्पाङले अहिले पनि राजनीतिलाई गहिरिएर बुझ्ने प्रयास नगरेको बताउँछन्। क्याम्पसमा साम्पाङका गुरुसमेत रहेका श्रेष्ठ भन्छन्, “पहिला राजनीतिक दल र नेता-कार्यकर्तालाई गाली गर्थे, अहिले दल चाहिने रहेछ भन्ने महसुस भएको देखिन्छ, तर राजनीतिक परिपक्वता अझै देखिँदैन।”