काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
अ+
अ-

सोलुखम्बु। सोलुखुम्बुको लोबुचेमा आज (बुधबार) बिहान भएको हेलिकोप्टर दुर्घटनामा पाइलट सकुशल छन्। हेलिकोप्टरको पुच्छरको भागमा भने क्षति भएको छ।

अल्टिच्युट एयरको हेलिकोप्टर चिप्लिएर अवतरणस्थलमा ठोक्किएको थियो। बुधबार बिहान ८:१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकोप्टर लुक्लाबाट (४,९४० मिटर) लोबुचेतर्फ उडेको थियो। मंगलबार राति परेको बाक्लो हिमपातपछि त्यहाँ रोकिएका केही पर्यटक उद्धार गर्न हेलिकोप्टर त्यसतर्फ उडेको थियो।

तर लोबुचे हेलिप्याडमा अवतरणका क्रममा सतहमा जमेको हिउँले रनवेमा चिप्लियो, अनि हेलिकोप्टरको पुच्छर जमिनमा ठोक्कियो।

“अवतरणकै क्रममा हेलिकोप्टर चिप्लिएर पछाडिको भाग क्षतिग्रस्त भएको हो,” प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भनिन्, “तर पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ, यो खुसीको खबर हो।” उनका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर अहिले पनि सोही क्षेत्रमा छ।

बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण तत्काल उद्धार सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिइन्। “हेलिकोप्टर हिउँमा केही भाँसिएको छ, त्यसैले उडान सम्भव छैन,” उनले भनिन्।

दुर्घटनाका बेला हेलिकोप्टरमा पाइलट खड्का एक्लै थिए। उनलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। “हामीले तत्काल उद्धारको व्यवस्था गरेका थियौँ, पाइलट सकुशल हुनु ठूलो राहत हो,” जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने।

हिउँले ढाकियो सगरमाथा क्षेत्र : होटेलमा पर्यटक
मंगलबार रातिदेखि परेको लगातार हिमपातपछि सगरमाथा क्षेत्र सेताम्मे बनेको छ। दिङबोचे (४४१० मिटर)माथि मात्र अहिले करिब ३३२ जना विदेशी पर्यटक रहेको प्रशासनले जनाएको छ। “ती सबै पर्यटक होटेलभित्र सुरक्षित छन्,”प्रहरी नायब उपरीक्षक कुँवरले भने। मौसम अझै बिग्रिँदै गएकाले तल्लो क्षेत्रमा झर्नेहरूको सङ्ख्या बढेको उनले जानकारी दिए।

सगरमाथा क्षेत्रमा अहिलेको अवस्था ‘उच्च जोखिमयुक्त तर शान्त’ जस्तो देखिएको प्रहरी नायब उपरीक्षक कुँवरको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज (बुधबार) बिहानदेखि खुम्बु क्षेत्रमा सबै हेलिकोप्टर र विमान उडान रोकिएका छन्। मौसममा सुधार नआएसम्म कुनै उडान सम्भव छैन।