कपिलवस्तु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार पाँच जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न बाँकी छ।
घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। बस चालकसहित बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।