आवरण
पछिल्लो सात वर्षमा सरकारी अस्पतालमा मात्रै सत्र सयभन्दा बढी सुत्केरीको निधन
खोटाङकी मीना राई (३४) नियमित गर्भ जाँचपछि ७ कात्तिकमा सुत्केरी हुन ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएकी थिइन्। उनले नियमित रूपमा सोही अस्पतालमै जाँच गराइरहेकी थिइन्। चिकित्सकले भर्ना हुन भनेपछि गत शुक्रबार बिहान ९ बजेतिर अस्पताल पुगिन्। सोही दिन राति ९ बजे छोरीलाई जन्म दिइन्। नर्मल डेलिभरी भए पनि मीनाको रक्तस्राव रोकिएको थिएन। अस्पतालमै उनको मृत्यु भएपछि आफन्तले तीन दिनसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनपछि उनीहरूले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए। उक्त गतिविधिका कारण अस्पतालको सेवा प्रभावित भएको थियो।
भक्तपुरको चाँगुनारायण नगरपालिका ताथली बस्दै आएकी ३५ वर्षीया तारा घिमिरे बास्तोला २८ असोज २०८२ मा अस्पताल पुगिन्। नयाँ सन्तानलाई जन्म दिन लागेकामा उनको खुसीको सीमा थिएन। नौ महिना पेटमा हुर्काएको बच्चालाई स्वागत गर्न निकै आतुर थिइन्। त्यसैले नियमित परीक्षणपछि सुत्केरी हुन उनी भक्तपुरको मध्यपुर अस्पताल पुगिन्। त्यसै दिन अस्पताल भर्ना भएकी बास्तोलाले २९ असोजमा छोरी जन्माइन्।
दुर्भाग्य, छोरीलाई धीत मरुन्जेल हेर्नसमेत नपाई उनी केही घण्टामै अस्ताइन्। अस्पताल प्रशासनका अनुसार उनी सामान्य अवस्थामा अस्पताल आएकी थिइन्। सामान्य रूपमा छोरीलाई जन्म दिएपछि उनको अवस्था जटिल बन्दै गयो। डेलिभरीपछि अत्यधिक रक्तस्राव भएपछि चिकित्सकहरूले अपरेसन गरी उनको पाठेघर निकाले। त्यसपछि पनि ताराको स्वास्थ्यमा सुधार आएन। उनलाई बचाउने चिकित्सकहरूको प्रयास सफल भएन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी तेजप्रसाद बास्तोलाकी पत्नी हुन् तारा। सामान्य प्रसूति (नर्मल डेलिभरी) पछि स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको हो। पति तेजप्रसादका अनुसार २९ असोजमा अस्पतालमै नर्मल डेलिभरी गरिएको थियो। जीवित शिशु जन्मिएको भए पनि प्रसूतिपछि अत्यधिक रगत बगेका कारण चिकित्सकले शल्यक्रिया गरेर पाठेघर निकाल्नुपरेको थियो। तर, शल्यक्रियापछि रगतको अभाव भएको भन्दै अस्पतालले थप उपचार अघि बढाउन नसकेको र अन्ततः उनको मृत्यु भएको परिवारको दाबी छ। प्रहरी वृत्त ठिमीका अनुसार सुत्केरीको मृत्युपछि उत्पन्न विवाद टुंगिएपछि मृतकको दाहसंस्कार गरिएको थियो।
यता, बानेश्वरको मीनभवनस्थित निजामती (सिभिल) अस्पतालमा दैलेखको नारायण नगरपालिका–२, जहारकोटकी ३० वर्षीया लक्ष्मी नेपालीको नवजात शिशुलाई जन्म दिएपछि १० असार २०८२ मा ज्यान गयो। त्यसदिन बिहान जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको लेखा शाखामा कार्यरत पति दीपक नेपाली कार्यालयमै थिए। अस्पतालको बेडबाट फोन गरेर आफ्नो स्वास्थ्य अवस्था ठीक भएको पतिलाई जानकारी गराएकी थिइन्। त्यसको एक घण्टापछि लक्ष्मीले सामान्य डेलिभरीबाट तेस्रो सन्तानका रूपमा छोरी जन्माएकी थिइन्। भर्खरै जन्मिएकी छोरीको मुख हेर्न नपाए पनि पत्नीले सुनाएको खबरबाट दीपकको खुसीको सीमा थिएन। तर त्यो खुसी दुई घण्टा पनि टिक्न पाएन।
दैलेखमा रहेका दीपकलाई सिभिल अस्पतालले लक्ष्मीलाई अत्यधिक रक्तस्राव भएकाले तत्काल अपरेसन गरेर पाठेघर निकाल्नुपर्ने जानकारी दियो। नयाँ सन्तानलाई स्वागत गर्न दीपक काठमाडौँ आउन चाहन्थे। तर, आर्थिक वर्षको अन्त्य हुन लागेकाले कार्यालयमा कामको चटारो थियो। त्यसैले २५ असारमा सुत्केरी बिदा लिएर उनी काठमाडौँ आउने तयारीमा थिए। तर, लक्ष्मीको स्वास्थ्य बिग्रिएको खबर सुनेपछि दीपक तुरुन्त बिदा लिएर काठमाडौँ हानिए। काठमाडौँ नपुग्दै उनले आफन्तबाट अपरेसन सकिएको खबर पाए।
त्रिभुवन विमानस्थलमा झरेपछि दीपक सीधै सिभिल अस्पताल पुगे। तर, उनी पुग्दा लक्ष्मीको मृत्यु भइसेको थियो। शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएकाले मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो। उनका १३ र ९ वर्षका बालकलाई पनि अस्पताल ल्याइएको थियो। त्यो सबै दृश्य अचानक देखेपछि दीपक अत्तालिए।

सुत्केरीको मृत्यु भएपछि किस्ट अस्पतालमा तोडफोड गरिरहेका आक्रोशित भिड। तस्बिर : नेपालन्युज
प्रसूतिका लागि अस्पतालले उनलाई सुरुमा १७ असारमा आउन भनिए पनि पछि ९ असारमै बोलाइएको थियो। त्यो दिन उनी दिउँसो ३ बजेतिर वार्डमा भर्ना भइन्। दीपकका अनुसार भर्ना हुँदा लक्ष्मीको स्वास्थ्य सामान्य रहेको भनी चिकित्सकले जानकारी दिएका थिए। आमा र पेटमा रहेको बच्चामा कुनै जटिलता नदेखिएकाले उनको साथमा रहेका भाइबुहारी ढुक्क थिए।
दीपक स्वयंले पनि सुविधासम्पन्न अस्पतालमा सुत्केरी गराउन गएकी पत्नी गुमाउनुपर्ला भनेर सोचेकासम्म थिएनन्। भन्छन्, “सार्वजनिक बस चढेर डेलिभरी गराउन गएकी थिइन् उनी। सामान्य अवस्थामा अस्पताल गएकी उनको सामान्य डेलिभरी हुँदा पनि ज्यान जोगिएन। मेरो जीवनमा बज्रपात भयो।”
हुन पनि सिभिल अस्पतालमा लक्ष्मीको मात्र ज्यान गएन, उपचारका क्रममा रहेकी नवजात शिशुको पनि मृत्यु भयो। श्रीमती र छोरी दुवैको मृत्यु हुँदा दीपक मर्माहत भएका छन्। नवजात छोरीलाई अस्पतालकै भेन्टिलेटरमा राखेर उपचार गरिए पनि भेन्टिलेटरमा राखेको ३२ दिनमा उनको ज्यान गुमेको थियो।
मृत्युको कारण उच्च रक्तस्राव
बच्चा जन्माउन सामान्य अवस्थामा अस्पताल आएका गर्भवतीहरूको अचानक मृत्यु हुने गरेको अनुभव सुनाउँछिन्, निजामती (सिभिल) अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रिमा महर्जन। उनको अनुभवमा गर्भावस्था अत्यन्तै जटिल हुने भएकाले नियमित परीक्षणदेखि सुत्केरी हुँदासम्म पनि सामान्य अवस्थामा रहेका सुत्केरी महिलाको आकस्मिक मृत्यु हुने गरेको छ। डा. महर्जनका अनुसार लक्ष्मीको मृत्यु भवितव्य होइन, गर्भावस्था ज्यादै जटिल भएकाले उनको ज्यान गएको हो।
स्त्रीरोग विशेषज्ञ डा. महर्जनका अनुसार अस्पतालको प्रोटोकलअनुसार लक्ष्मीको स्वास्थ्य अवस्था जटिल भएपछि पाठेघर सफा गर्ने र खुम्च्याउने औषधि प्रयोग गरिएको थियो। तर, सामान्यभन्दा बढी रक्तस्राव भएपछि अवस्था जटिल बनेको उनको भनाइ छ। यसबाट बिरामीलाई जोखिम नहोस् भनेर पाठेघर निकालिएको र शल्यक्रियापछि पेटभित्र कुनै रक्तस्राव नरहेको अनि पाठेघर राम्ररी खुम्चिएको अवस्थामा थियो। तथापि, बिरामीको मुटुको धड्कन कम हुँदै गएपछि तुरुन्तै आकस्मिक औषधिहरू ‘एट्रोपन’ र ‘अड्रेनालिन’ चलाइएको थियो। प्रसूति अवस्थामा भएको रक्तस्राव अनेक प्रयास गर्दा पनि रोक्न नसक्दा लक्ष्मीको मृत्यु भएको स्त्रीरोग विशेषज्ञ डा. रिमा बताउँछिन्।
नेपालका कैयौँ स्वास्थ्य संस्थामा ब्लड बैंक र आईसीयू सुविधा नभएकाले डेलिभरीको समयमा सुत्केरीको ज्यान जाने गरेको छ।
नेपालजस्तो विकासोन्मुख देशमा प्रसूति हुनुअघि र भइसकेपछि मृत्यु हुने प्रमुख कारण अत्यधिक रक्तस्राव नै हो। पाँचौँ र छैटौँपटक गर्भवती भएका महिलामा अत्यधिक रक्तस्रावको जोखिम हुन्छ। चिकित्सकका अनुसार धेरैपटक गर्भवती हुँदा पाठेघरको मुख फैलिएर रक्तस्राव रोकिन कठिन गर्छ।
त्यसो त गर्भवती अवस्थामा मधुमेह, उच्च रक्तचाप वा एनिमिया भएका महिलाहरूमा पनि रक्तस्रावको जोखिम बढी हुन्छ। डा. रिमा थप्छिन्, “उच्च रक्तचाप धेरै भएको अवस्थामा पनि आमाको ज्यान जाने जोखिम हुन्छ।”
नेपालमा मातृमृत्यु अध्ययन प्रतिवेदन, २०७८ का अनुसार २७ प्रतिशत मृत्यु अत्यधिक रक्तस्रावबाट हुने गरेको छ। “यस्तो मृत्यु रोक्न गर्भावस्थादेखि नै नियमित परीक्षण, जोखिमको पहिचान र अस्पतामै डेलिभरी गराउनुपर्छ। तर, यी सबै कुरा उपलब्ध हुँदा पनि कतिपय अवस्थामा अचानक मृत्यु हुन्छ। त्यस्तो अवस्थामा जति सुविधासम्पन्न अस्पतालमा ल्याए पनि बचाउन सकिँदैन।”
विश्व स्वास्थ्य संगठनले गर्भवती भएदेखि सुत्केरी हुँदासम्म नियमित रूपमा आठपटकसम्म परीक्षण गर्नुपर्छ। स्वास्थ्य पूर्वाधार कम भएका अस्पतालमा सुत्केरी आमाहरूको मृत्युको जोखिम झन् बढी हुन्छ। १५-१९ वर्षको कलिलो उमेरमा गर्भवती भएका आमाहरूमा एनिमियाको समस्या धेरै हुन्छ। यसले गर्भवती र सुत्केरी दुवै अवस्थामा जोखिम बढी हुन्छ। यो उमेरसमूहमा मृत्यु भएका सुत्केरीको संख्या १० प्रतिशत छ। त्यस्तै, ३५ वर्षभन्दा माथिका महिलामा गर्भावस्थामा मधुमेह, मोटोपना र उच्च रक्तचाप हुने सम्भावना अत्यधिक हुँदा त्यस समूहका गर्भवती र सुत्केरीको ज्यान जोखिममा हुन्छ। डा. रिमा महर्जन भन्छिन् ,“पहिले स्वस्थ देखिएकी आमामा पनि गर्भावस्थामा प्रेसर बढ्ने ,सुगर हुने वा पिसाबबाट प्रोटिन जाने समस्या देखिन्छ।”
अस्पतालमै मृत्यु हुने कारण
नेपालका कैयौँ स्वास्थ्य संस्थामा ब्लड बैंक र आईसीयू सुविधा नभएकाले डेलिभरीको समयमा सुत्केरीको ज्यान जाने गरेको छ। रगतको व्यवस्थापन तुरुन्तै नहुँदा सुत्केरीको ज्यान जान्छ। कैयौँ अस्पतालमा सुत्केरीको पाठेघर खुम्च्याउने औषधि अभाव हुँदा पनि रक्तस्राव रोक्न कठिन हुन्छ। गर्भावस्था आफैँमा जटिल अवस्था भएकाले संसारकै सुविधासम्पन्न अस्पतालमा पनि मातृमृत्युदर शून्यमा झार्न सकिएको छैन।
सुत्केरी र गर्भवती महिलाका लागि नेपाल सरकारले पनि आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण, बाटो खर्च र न्यानो झोला कार्यक्रम सञ्चालन गरेको छ। तर, त्यसको प्रभावकारिता शंकारहित छैन।
घरमै, अस्पताल लैजाँदा बाटामै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको छ।
अचेल गर्भवती महिला परीक्षणका लागि अस्पताल धाउने क्रम बढेको छ। सहरबजार मात्र होइन, गाउँमा पनि गर्भवतीहरू नियमित परीक्षण र सुत्केरी गराउन अस्पताल जाने गर्छन्। यसरी अस्पताल आउने सबैको जोखिमको पहिचान गर्न कठिन हुन्छ। सुत्केरी जोगाउन अस्पतालहरूले आईसीयू र ब्लड बैंक तयारी अवस्थामा राख्न जरुरी हुन्छ। कैयौँ अस्पतालमा औषधिको अभाव, विशेषज्ञ चिकित्सक पर्याप्त नहुनु, चिकित्सक तथा नर्सलाई पर्याप्त तालिम नदिइनु, सुविधासम्पन्न प्रसूतिगृह नहुनुलगायत कारणले सुत्केरीको अकालमै मृत्यु हुने गरेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्।
समुदायस्तरमा सुरक्षित प्रसूति सेवाका बारेमा आवश्यक जनचेतना नभएकाले पनि जटिल अवस्था आएपछि मात्र अस्पताल पुर्याइँदा सुत्केरीको ज्यान जाने गरेको उनको भनाइ छ। तर, गर्भवती तथा सुत्केरीका आफन्तले भने अस्पतालको लापर्वाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउने गरेका छन्।
नेपाल मातृमृत्यु अध्ययन प्रतिवेदन, २०७८ का अनुसार सुत्केरी अवस्थामा हुने उच्च रक्तस्रावबाट २७ प्रतिशत महिलाको ज्यान गएको छ। रिँगटा लाग्ने, काम्ने र बेहोस हुने समस्याले १२ प्रतिशत सुत्केरी तथा गर्भवती महिलाको मृत्यु भएको छ। त्यसैगरी, उच्च रक्तचापले १२ प्रतिशत सुत्केरी तथा गर्भवती महिलाले ज्यान गुमाउनुपरेको छ भने गर्भावस्थामा हुने विभिन्न संक्रमणबाट सात प्रतिशतले ज्यान गुमाएका छन्। मृत्यु भएका सुत्केरीमध्ये ८३ प्रतिशतले कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार सेवा लिन खोजेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ।
मातृमृत्युदरबारे प्रतिवेदन :
प्रतिवेदनले ५७ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाको मृत्यु स्वास्थ्य संस्थामै हुने गरेको देखाउँछ। उपचारमा ढिलाइ भएर ४० प्रतिशत र स्वास्थ्य संस्थामा पुग्न ढिलाइ भएर ३३ प्रतिशतको मृत्यु हुने गरेको छ। त्यस्तै, विभिन्न कारणले १७ प्रतिशतको मृत्यु हुने गरेको छ। उक्त प्रतिवेदनमा समेटिएको विवरण अनुसार प्रसव र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृमृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकलअनुसार चारपटक गर्भजाँच गराएका थिए । प्रसूति भएको सात देखि ४२ दिनको अवधिमा मृत्यु भएका १७३ महिलामध्ये ४५ प्रतिशतले त्यो प्रोटोकलअनुसार तीनपटक सुत्केरी जाँच गराएका थिए। त्यस्तै, प्रसूति र सुत्केरी अवधिमा मृत्यु भएका महिलामध्ये ७६ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए। यसरी सुरक्षित मातृत्व सेवा प्रोटोकलअनुसार गर्भजाँच र सुत्केरी गराउँदा स्वास्थ्य संस्थामा पुर्याउँदा पनि मृत्यु हुनुले समुदायमा यस कार्यक्रमको प्रभावकारितमा प्रश्न उठेको जनस्वाथ्यविद् डा. शरद वन्त बताउँछन्।
अस्पताल ढिलो पुर्याउनुको जोखिम
राष्ट्रिय जनगणना, २०७८ का अनुसार सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतले अस्पताल ढिलो पुर्याएका कारण ज्यान गुमाएका छन्। १२ महिनाको मातृमृत्युका आधारमा उक्त तथ्यांक संकलन गरिएको थियो । उक्त अवधिमा ६२२ सुत्केरी तथा गर्भवतीको मृत्यु पुष्टि भएकामा २६५ जनाले उपचार नपाएर ज्यान गुमाएको खुलेको थियो । त्यस्तै, स्वास्थ्य संस्थामा उपचारकै क्रममा ३४६ जनाको मृत्यु भएको तथा ११ जनाको मृत्युको कारण नखुलेको मातृमृत्यु अध्ययन प्रतिवेदनमा छ। तथ्यांकअनुसार उपचार नपाएर भएको मातृमृत्युमध्ये कोशीमा ४१, मधेसमा ५९, बागमतीमा १८, गण्डकीमा १४, लुम्बिनीमा ७०, कर्णालीमा २७ र सुदूरपश्चिममा ३६ जना छन् । विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिनभित्र आमाको मृत्यु हुनुलाई मातृमृत्युका रूपमा परिभाषित गरेको छ।
घरमै, अस्पताल लैजाँदा बाटामै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको छ । खासगरी, जटिल समस्याको उपचार पालिकास्तरको स्वास्थ्य संस्थामा सम्भव नहुने र जिल्ला अस्पताल रेफर गर्दा निकै ढिला भइसक्नाले सुत्केरीको मृत्यु हुने गरेको हो । उपचार नपाएर ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतमध्ये २६ प्रतिशतको घरमै, नौ प्रतिशतको अस्पताल लैजाँदै गर्दा बाटामा र आठ प्रतिशतको एक स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक छ ।
गर्भवती र सुत्केरीको उद्धार गर्न हवाई सुविधा, तर झन्झटिलो प्रक्रियाले समयमै अस्पताल पुर्याउन दुर्गम भेगका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारको सुविधा दिए पनि झन्झटिलो प्रक्रियाका कारण त्यो प्रभावकारी हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी समयमा उपचार नपाउँदा मातृमृत्युदर अपेक्षाकृत रूपमा कम हुन नसकेको स्विकार्छन्। डा. बुढाथोकीका अनुसार स्वास्थ्य संस्थामा लैजाने निर्णयमा ढिलाइ गर्ने, बाटामै मृत्यु हुने र स्वास्थ्य संस्थासम्म पुर्याउँदा पनि स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण र सुविधाको अभावमा मृत्यु हुने गरेको छ।
मातृमृत्यु घटाउने चुनौती
दिगो विकासको लक्ष्यअनुरूप सन् २०३० सम्म मातृमृत्युदरलाई प्रति एक लाखमा ७० मा झार्ने लक्ष्य लिइएको छ । तर, राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा मातृमृत्युदर प्रति एक लाखमा १५१ देखिएको छ । यसअघि सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)अनुसार प्रति एक लाख जीवित जन्ममा मातृमृत्युदर २३९ जना थियो । गर्भपतनदेखि बच्चा जन्माइसकेपछि हुने उच्च रक्तस्राव, संक्रमण, उच्च रक्तचाप, गर्भपतन आदिका कारण गर्भवती र सुत्केरीको ज्यान गइरहेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखासँग भने मातृमृत्युदरको तथ्यांक छैन। स्वास्थ्य संस्थामा मृत्यु भएकाको पूर्ण तथ्यांक नभएको महाशाखाकी वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशी बताउँछिन्। महाशाखामा स्वास्थ्य संस्थामा मृत्यु भएकाको मात्र तथ्यांक छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार २०७६/७७ देखि २०८२/०८३ सम्म एक हजार ७७९ सुत्केरीको डेलिभरीका क्रममा स्वास्थ्य संस्थामा मृत्यु भएको थियो। उक्त अवधिमा कोसी प्रदेशमा मृत्यु हुनेको संख्या ९८८ रहेको छ। मधेस प्रदेशमा १६०,बागमतीमा ७९ ,गण्डकी ११७ ,लुम्बिनीमा ६३ ,कर्णालीमा ३१५ र सुदूरपश्चिममा ५७ रहेको छ। पछिल्लो समय स्वास्थ्य संस्थामा बच्चा जन्माउने दर बढे पनि सुत्केरी महिलाको मातृमृत्युदर घटाउने राष्ट्रिय लक्ष्य अझै चुनौतीपूर्ण देखिएको जनस्वाथ्यविद् वन्त बताउँछन्।
नेपालमा मातृशिशु मृत्युदरबारे बृहत् अध्ययन गर्न आमा सुरक्षा कार्यक्रमअन्तर्गत एमपीडीएसआर अर्थात् मृत्युको कारण पत्ता लगाएर न्यूनीकरण गर्न कार्यक्रम लागू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। प्रवक्ता डा. बुढाथोकीले मातृमृत्यु कम गर्न दुर्गम भेगमा स्क्रिनिङका लागि गाउँस्तरमा अल्ट्रासाउन्ड गर्ने, गर्भावस्थाको मानसिक स्वास्थ्य कार्यक्रम, रक्तस्राव कम गर्न प्रयोग गरिने प्रविधिजस्ता कार्यक्रम सुरु गरिएको जानकारी दिए।
बच्चा जन्मिसकेपछि उच्च रक्तस्रावका कारण मृत्यु भएको, मानसिक समस्याका कारण आत्महत्या बढेको र समयमा परीक्षण नगर्दा जटिलता बढेकाले त्यस्ता कार्यक्रम लागू गरिएको उनको भनाइ छ। यसबाहेक गर्भावस्थामा आठपटक र बच्चा जन्मिसकेपछि चारपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने मापदण्ड बनाइएको पनि उनले बताए । ग्रामीण भेगमा ४२ दिनभित्र स्वास्थ्यकर्मी घरमै आएर आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्नुपर्ने कार्यक्रम पनि लागु भइरहेको छ । प्रतिवेदनमा प्रसूतिको समयमा मृत्यु भएका महिलामध्ये ७८ प्रतिशतको अत्यधिक रक्तस्राव भएको बताएको छ।
गर्भवती र सुत्केरीको उद्धार गर्न हवाई सुविधा, तर झन्झटिलो प्रक्रियाले समयमै अस्पताल पुर्याउन दुर्गम भेगका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारको सुविधा दिए पनि झन्झटिलो प्रक्रियाका कारण त्यो प्रभावकारी हुन सकेको छैन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको यो सुविधा समयमै लिन नपाउँदा गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन् । पूर्व प्रसूति सेवालाई प्रभावकारी बनाएमा गर्भवती र सुत्केरीको मृत्युलाई रोक्न सकिने जनस्वाथ्यविद् डा. वन्तको भनाइ छ। उनी भन्छन्, “जटिलतालाई समयमा पहिचान गर्न सकियो भने केही हदसम्म मृत्युलाई रोक्न सकिन्छ।”