काठमाडौँ। म्याग्दीबाट धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ।
गत मंगलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले मुस्ताङस्थित सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली बुधबार त्यहाँ गएको थियो।

उच्च हिमपात, कमजोर ‘भिजिबिलिटी’ तथा सञ्चार कठिनाइका कारण उद्धारमा समस्या भएको थियो। तीन दिनको प्रयासपछि करिब ४९०० मिटरको बतासेडाँडा इलाकाबाट टोलीले आज (शुक्रबार) फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
फेला परेका पर्यटक संयुक्त उद्धार टोलीसहित जोमसोम फर्किएको छ।

सबै तस्बिर : सैनिक जनसम्पर्क निर्देशनालय।