काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
अ+
अ-

भक्तपुर। जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिएका छन्।

सरकारले आगामी २१ फागुनमा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामवाली दर्ताको आह्वान गरेपछि जिल्लामा मतदाता नामावली दर्ता गर्ने युवापुस्ता बढेका हुन्।

निर्वाचन आयोगले गत १० असोजदेखि १६ वर्ष उमेर पुगेका नेपाली नगरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि अहिले १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक २५० देखि तीन सय जनासम्म नाम दर्ता गराउन आउने गरेका कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले १० असोजदेखि सुरु भएको नयाँ मतदाता नामावली सङ्कलनमा आजसम्म तीन हजार ४४८ जनाले नाम दर्ता गराएको जानकारी दिए। उनका अनुसार जिल्लाभित्रका पुरुष एक हजार १३ र महिला ९५४ तथा बाह्य जिल्लाबाट बसाइँ सरी आएका एक हजार ४८१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका छन्।

सूचना अधिकारी बीसीले भक्तपुरमा अहिलेसम्म कुल एक लाख ९३ हजार ४८२ जना मतदाता कायम रहेको पनि जानकारी दिए। उनले सरकारले नयाँ नामावली दर्तासँगै सच्याउने, दोहोरो नाम हटाउने, ठाउँसारी गर्नेलगायत कार्यका लागि यही ३० कात्तिकसम्मको समयसीमा निर्धारण गरेकाले अझै मतदाताको सङ्ख्या बढ्ने उनले बताए।