काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा देशभरका दर्जनौं उद्योग बन्द भएको र हजारौँ मजदुरको रोजगारी संकटमा परेको बताए। उनले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरे।

लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति बेहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको अध्यक्ष ढकालले अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा बताए। उनले विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न पनि सरकारसँग आग्रह गरे।

अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यकता भएको बताए। उनले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताले आत्मविश्वास कमजोर भएको धारणा राखे।

अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पुँजीसमेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता जनाए।