काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले रणनीतिक भेला बोलाएको छ।
हस्ताक्षर अभियानकर्ताका संयोजक गुरू घिमिरेका अनुसार भेला आइतबार मध्याह्न साढे १२ बजे बानेश्वरको आनन्दभूमि पार्टी भेन्युमा बस्नेछ। भेलामा काठमाडौँमा उपलब्ध रहेका तथा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरू उपस्थित हुने उनले बताए।
केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनका लागि कार्यतालिका ल्याउन आनाकानी भएपछि दबाब दिने उद्देश्यका साथ भेला बस्न लागिएको हो। नेता घिमिरेका अनुसार शुक्रबार र शनिबार बस्ने केन्द्रीय समिति बैठकको निर्णयलाई पर्खिने निर्णय भएकाले आइतबारलाई भेला बोलाइएको हो। “हामी आज र भोलि पर्खन्छौँ। सहमतिमा केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका नल्याए हामी भेला गरेर रणानीति तय गर्छौं‚” उनले भने‚ “कार्यतालिका सहमतिमा आए उक्त भेला महाधिवेशनका विभिन्न तयारीका लागि रणनीति तय गर्ने भेलामा रूपान्तरण हुन्छ।”
उनले हस्ताक्षरकर्ताहरूले पनि पहिलो प्राथमिकतामा नियमित महाधिवेशन भनेकाले त्यसकै सुनिश्चितताका पक्षमा दबाब हुने बताए। नियमित महाधिवेशनलाई केन्द्रीय समितिले अस्वीकृत गरेको अवस्थामा भने दोस्रो विकल्प स्वतः सुरु हुने बताए।
नेता घिमिरेले ५४ प्रतिशत हस्ताक्षरकर्ताहरूको पहिलो प्राथमिकतामा नियमित महाधिवेशन भएको भन्दै नियमित कार्यतालिका नआए विशेष महाधिवेशनका लागि निर्णाय दबाब दिनेगरी भेलाले रणनीति तय गर्ने पनि जानकारी दिए।