संस्मरण
भियतनामको राजदूत बन्नुअघि बन्करले राष्ट्रपति जोन्सनसँग एउटा अनौठो सर्त राखे– ‘मलाई प्रत्येक महिना नेपाल जान दिइनुपर्छ।’ राष्ट्रपतिले जोन्सनको त्यो सर्त स्विकारे।
ब्रिटिस लेखक जेम्स हिल्टनले सन् १९३३ मा लस्ट होराइजन उपन्यासमार्फत तिब्बतलाई ‘सांग्रिला’ का रूपमा विश्वभर चर्चित बनाए। तर, तिब्बतभन्दा पहिले हिल्टनको लेखकीय चेतमा नेपाल आएको भए त्यो उपाधि सायद नेपालले पाउने थियो।
यसै अवसर जुराएर वा जुरेर होइन, कामविशेषले नेपाल पुग्ने अमेरिकी दूतहरूसमेत प्राकृतिक सुन्दरताका दृष्टिले नेपाललाई नै वास्तविक सांग्रिला वा स्वर्ग ठान्छन्।
नेपाल पुगेका सबै अमेरिकी कूटनीतिकर्मीका आँखा त्यहाँको राजनीतिमा मात्रै केन्द्रित थिएनन्, केही त प्राकृतिक सौन्दर्यमा लट्ठिएका पनि थिए।
सन् १९६० को दशकमा अमेरिकाको सानफ्रान्सिस्कोबाट निस्किएर युरोप, इरान र बनारस हुँदै काठमाडौँको झोछेँका गल्लीहरूमा पुगेका हिप्पीहरूले काठमाडौँसँग साइनो जोडनुअघि नै अमेरिकी कूटनीतिकर्मीहरू नेपाल मोहमा परिसकेका थिए।
सन् १९५४ मा नेपालबाट खम्पा विद्रोह सुरु भयो। यस विद्रोहले तिब्बतमा मार्च १९५९ मा नयाँ रूप धारण गर्यो। अमेरिकालाई लाग्यो– अब नेपाललाई दिल्लीबाट मात्र हेरेर पुग्दैन। त्यसैले अमेरिकाले सन् १९५९ मा काठमाडौँमै कूटनीतिक नियोग खोल्यो। त्यसपछि स्वाभाविक रूपमा नेपालमा अमेरिकी कूटनीतिकर्मीको उपस्थिति बाक्लियो।
हुरुक्कै पार्ने भौगोलिक सुन्दरता, निष्कपट आतिथ्य, त्यसमाथि प्रजातन्त्रपछि विश्वमाझ भर्खरै मात्र खुला भएको देश।
हुरुक्क हुनेमध्ये थिए– एल्सवर्थ बन्कर। बन्कर तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन बी. जोन्सनको समयका सबैभन्दा अनुभवी र उम्दा कूटनीतिकर्मी मानिन्थे। ती बन्कर नै थिए जसले पानामा नहर निर्माण विवाद सुल्झाएर ख्याति कमाएका थिए। राष्ट्रपति जोन्सन बन्करलाई युद्धग्रस्त क्षेत्र भियतनामको राजदूत बनाउन चाहन्थे। तर, भियतनामको राजदूत बन्नुअघि बन्करले जोन्सनसँग एउटा अनौठो सर्त राखे– ‘मलाई प्रत्येक महिना नेपाल जान दिइनुपर्छ।’ राष्ट्रपतिले त्यो सर्त स्विकारे।
बन्कर सन् १९५६ मा भारत र नेपालका लागि अमेरिकी राजदूत थिए। त्यहीबेला नेपालको सौन्दर्यपान गरेका बन्करले सन् १९६७ मा आफ्नो दोस्रो विवाह नेपालमै गरे। त्यो पनि नेपालका लागि तत्कालीन अमेरिकी राजदूत क्यारोल लेइजसँग। उनीहरूले पर्साको बिरुवा गुठीमा हनिमुन मनाएका थिए। पद र पैसा दुवै हिसाबले समृद्ध बन्कर भन्थे, ‘नेपाल मेरो दोस्रो घर हो।’

सन् १९७२ मा राजा महेन्द्रको अन्तिम संस्कारका लागि नेपाल रवाना भएका लेजी र बन्कर
विवाहपछि भियतनाममा राजदूत रहुन्जेल (सन् १९७३)सम्म बन्कर लगभग प्रत्येक महिनाजसो सरकारी बिमान लिएर भियतनामबाट काठमाडौँ ओर्लिन्थे।
बन्करको बरोबरको नेपाल यात्राबारे २८ सेप्टेम्बर १९८४ को द न्युयोर्क टाइम्समा समाचार नै छापियो, जहाँ भनिएको थियो– बन्कर मात्र होइन, भियतनामस्थित अमरिकी दूतावासमा काम गर्ने उच्चपदस्थ कर्मचारीहरू पनि उनीसँगै बिदा मनाउन काठमाडौँ जान्थे।
सन् १९८१ मा नेपालका लागि अमेरिकी राजदूत बनेका कार्ल कुनको कथा पनि बन्कर र लेइजसँग मिल्दोजुल्दो छ। भर्जिनियाको वुडभिलस्थित उनकै घरमा रेकर्ड गरिएको टेलिभिजन अन्तर्वार्तामा कार्लले हामीलाई भनेका थिए, ‘म जेन अबेल (बाङ्लादेशका लागि अमेरिकी राजदूत)लाई भेट्न कहिलेकाहीँ काठमाडौँबाट ढाका जान्थेँ। हामी कहिलेकाहीँ नयाँ दिल्लीलाई मिटिङ पोइन्ट बनाउँथ्यौँ। जब चाडबाडको समय आउँथ्यो वा बालबच्चासहित समय बिताउने मुड आउँथ्यो, हामी काठमाडौँलाई नै छान्थ्यौँ। मलाई लाग्छ, दक्षिण एसियामै काठमाडौँबाहेक सुन्दर अरू कुनै ठाउँ छैन।”
कार्ल कुनको घरको बैठक कोठामा आज पनि अधिकांश सजावटका वस्तु नेपालकै छन्। ‘यी सबै हेर्दा मलाई आज पनि नेपालमै छु जस्तो लाग्छ,’ बैठक कोठाका भित्तामा सजिएका सामग्री हेर्दै उनले भनेका थिए। नेपाललाई मनमा राख्दै सन् २०१८ मा उनी बिते।

भर्जिनियास्थित कुनको निवासमा
कुन यस्ता कूटनीतिकर्मी हुन्, जो बीपी कोइरालाको अन्त्येष्टिमा खाली खुट्टा सहभागी थिए। बीपीप्रति उनमा गजबको सम्मानभाव थियो। त्यसैले अमेरिकामा अलपत्र बीपीको एउटा प्रतिमा कुनले आफ्नै घरमा त्यतिन्जेल जतनसाथ सम्हालेर राखेका थिए, जतिबेलासम्म अमेरिकी नेपाली समाज दाबी गर्न पुगेको थिएन।
कुन मात्र होइन, उनकी छोरी एलेन पनि नेपालसँग जोडिएकी छन्। एलेनले भक्तपुरमा बोलिने नेवार भाषामा विद्यावारिधि नै गरेकी छन्।
अब कुरा गरौँ– नेपालका लागि अर्का एक अमेरिकी राजदूत राल्फ फ्रांकको।
सन् १९९९ को एक साँझ हामी काठमाडौँको नयाँ सडकमा टहल्दै थियौँ, जहाँ राल्फ फ्रांक एउटा कपडा पसलमा कमिज र टु पिस सुटका लागि नापो दिँदै थिए। उनी राजदूतका रूपमा आफ्नो चारवर्षे कार्यकाल सकेर अमेरिका फर्कंदै थिए।
‘यस्तो सुट अमेरिकामा सिलाउन महँगो पर्छ, यतैबाट आठदशवटा सुट सिलाएर लैजान लागेको,’ हामीलाई देखेपछि फ्रांकले भने।
‘वी विल मिस यु एम्बास्डर,’ हामीले भन्यौँ। फ्रांकले नेपाल छोड्नुपर्दा आफू दु:खी भएको बताए।
नेपाल भनेपछि हुरुक्क हुने अर्का अमेरिकी कूटनीतिकर्मी हुन्, रबर्ट ब्लेक। जो दक्षिण एसियाका लागि सहायक विदेशमन्त्री थिए। ब्लेक आज पनि नेपालको हालचाल बुझिरहन्छन्। नेपाल कुशासनको चक्रमा परेको सुन्दा दु:खी हुन्छन्।
नेपालमा राजदूत बनेका कुनै अमेरिकी राजदूत छैनन्, जो यहाँका पहाड नउक्लेका हुन्, प्रकृति र संस्कृतिको स्वाद नचाखेका हुन्।