फिल्म समीक्षा
पारिवारिक सिनेमा हेर्न रुचाउने दर्शकका लागि ‘परान’ बन्नसक्छ मीठै खुराक
निर्देशक: दीपक आचार्य
कथा: दीपकप्रसाद आचार्य
पटकथा तथा संवाद: यम थापा
छायांकन: शिवराम श्रेष्ठ
सम्पादन: मित्र डी गुरुङ
कलाकारहरू: नीर शाह, महेश त्रिपाठी, प्रवीण खतिवडा, अञ्जना बराइली, केकी अधिकारी, बुद्धि तामाङ, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, सुव्रतराज आचार्य र अन्य।
निर्माता: रञ्जित आचार्य, शेखर गोल्छा
कथा/पटकथा : अंक ३
कुनै बेलाका जिम्बाल धनकुटाका धर्मनाथ (नीर)को दिनचर्या घरको तुलसी मोठअगाडि शंख फुकेर सुरु हुन्छ। पूजापाठ गरिसकेपछि उनी घरका सदस्यहरू मात्र नभई गाईलाई समेत टीका लगाइदिन्छन्। त्यसपछि निस्कन्छन्, तासको गड्डी बोकेर आफूजस्तै उमेर ढल्केकाहरूसँग चिया पिउँदै समय कटाउन।
हरेक दिन गाउँका केटाकेटीलाई मिस्री बाँड्ने उनलाई केटाकेटीहरू ‘मिस्री बा’ भनेर पनि बोलाउँछन्। गरिब-दुःखीलाई सहयोग गर्न पछि नहट्ने उनी माहुरी र कमिलासँग समेत बात मार्छन्।
जेठा छोरा (सुव्रत) विदेश र माइला (प्रवीण) काठमाडौँ गएकामा भने धर्मनाथ असन्तुष्ट छन्। तथापि, कान्छा छोरा (महेश)ले साथ नछोड्नेमा उनी ढुक्क हुन्छन्। कान्छा छोरा पनि बुवा भनेपछि हिरिक्कै।
तर, एकदिन तिनै कान्छा छोरालाई अमेरिकाको डीभी पर्छ। बुबाको चित्त दुःखाएर विदेश जान अनिच्छुक हुँदाहुँदै पनि श्रीमती (अञ्जना)को रहरसामु हारेर अन्ततः ऊ पनि बिदेसिन्छ।
आफ्नो परान नै अडेको कान्छा छोराबिना धर्मनाथको हालत के होला?

कलाकार नीर शाह फिल्म परानको एक दृश्यमा
कान्छा छोरा बिदेसिएपछि धर्मनाथ माइला छोरालाई गाउँ फर्काउन सकिन्छ कि भन्ने आसमा काठमाडौँ धाउँछन्। तर, श्रीमती र एक छोराका साथमा काठमाडौँमा संघर्ष गरेर बल्ल बल्ल स्थापित भएका माइला बुबाले चाहँदैमा गाउँ फर्केलान् त? फिल्म यी दुई प्रश्नकै सेरोफेरोमा बुनिएको छ।
बुवाछोराबीचको सम्बन्ध र सन्तान लाखापाखा लागेर वृद्धवृद्धा एक्लै हुने कथा अब नयाँ होइन। तर पनि, परानले दर्शकमा संवेदना जगाइराख्छ। यसमा फिल्मका संवादले पनि ठूलो भूमिका खेल्छ। जस्तै, धर्मनाथले कान्छा छोरालाई भन्छन्, ‘तँ मेरो औषधि होस् कान्छा, तँ मेरो छेउमा देखेपछि काल पनि डराएर भाग्छ।’
अर्को, ‘पहिला पहिला बाआमा मरेपछि छोराछोरी टुहुरा हुन्छ भन्थे, अहिले छोराछोरी बढेपछि बाआमा टुहुरा हुँदा रहेछन्।’
मध्यान्तरपछि पनि बुवाछोराको आत्मीयताको कथा थोरै ओझेल परेको महसुस हुन्छ। यद्यपि, छोरा वा बुहारीलाई दोष नलगाई परिवारभित्रको परिस्थितजन्य जटिलताको कथा भन्न सक्नु परानको विशेषता हो।
अभिनय : अंक ३
ज्यानजस्तै वजनदार बोली, सम्प्रेषणीय आँखा र उस्तै प्रभावशाली चरित्रको तालमेलले नीर शाह धर्मनाथको भूमिकामा जमेका छन्। कान्छा छोरा बनेका महेश त्रिपाठीको परिबन्धले बुवा छोड्न बाध्य पात्रको भूमिकाले पनि दर्शकको मन पगाल्छ। माइला छोराका रूपमा प्रवीण खतिवडा पनि आफ्नो चरित्रमा सुहाएकै छन्।
अञ्जना बराइली विवाहपछि पनि शिक्षण पेसामा सक्रिय आधुनिक युवतीको भूमिकामा देखिएकी छिन्। उनी विदेश पुगेर मात्रै सन्तान जन्माउने महत्त्वाकांक्षा पाल्छिन्। गृहिणी मात्र बनेकी माइली बुहारी केकी अधिकारीको चरित्र भने परिवारकै खुसीमा समाहित भएको छ। दुवैको अभिनय चरित्रअनुसार सुहाउँदो छ। धेरैपछि पर्दामा देखिएकी पूजा चन्द पनि रुँदाबाहेक अन्य दृश्यमा सुहाएकै छिन्। बुद्धि तामाङलाई दर्शकले थोरै भए पनि फरक चरित्रमा देख्न पाउँछन्। मदनकृष्ण श्रेष्ठको उपस्थिति छोटो तर महत्त्वपूर्ण छ।
प्राविधिक पक्ष : अंक २
फिल्मको कथ्य संरचना सिधा रेखामा हिँड्छ। छायांकनमा पनि तामझामभन्दा मानवीय भावनालाई प्राथमिकता दिइएको छ। केही विम्ब जोड्ने प्रयास दर्शकलाई पनि महसुस हुन्छ। जस्तै, मध्यान्तरअघि कान्छा छोरा-बुहारीले घर छोड्ने बेला रूख ढलेको दृश्य आउँछ। यसले बुढाबुढीको सहारा ढलेको र अनिष्टको संकेतसमेत दिन्छ।
धर्मनाथ एक्लै लाठी टेकेर कुहिरोले ढाकेको बाटोमा हिँडेको दृश्यले पनि उनको अनिश्चित भविष्यको संकेत गरेको छ। सन्तान र अभिभावकको प्रेमलाई जनावरसँगका दृश्यमार्फत पनि दर्साउन खोजिएको छ। तर, कलात्मक हिसाबले छायांकन औसत लाग्छ।

परानको एक दृश्यमा कलाकार महेश त्रिपाठी र नीर शाह
फिल्मको गति सुस्त छ। यसो हुनुमा पटकथाजस्तै सम्पादन पनि जिम्मेवार छ। साउन्ड डिजाइन र पृष्ठभूमि संगीत अझै स्तरीय हुनुपर्थ्यो। ‘ओइभन्दा नि बोलेन’ रमाइलो शैलीको गीत हो। ‘ख्याल गरी साचौँला’ गीतका शब्द मार्मिक छन्। ‘पखेटाले आकाश ताकी बुढ्यो रूख छोड्यो’ जस्तो अर्थपूर्ण शब्द भएको यो गीतमा हाइपिचले भने कान बिझाउँछ।
निर्देशन : अंक २.५
परानले एकातिर अभिभावक र सन्तानबीचको अन्तर्निर्भरताको कथा भन्छ। अर्कातिर विदेश जानैपर्ने नियतिको कथा बोल्छ। यस कथामा यसअघि फिल्म बनिसकेको भए पनि निर्देशक दीपक आचार्यले आफ्नै कथा मिसाएकाले उनको छाप भेटिन्छ। उनी स्वयंले फिल्मको कथा आफ्नै घरबाट सूत्रपात भएको बताएका छन्।
प्रस्तुतिमा नयाँपन नहुनु, सिनेमामा टेलिफिल्मको झल्को आइरहनुलाई भने निर्देशकीय कमजोरी मान्नुपर्छ। परानको कथा आधा गाउँ, आधा सहर हुँदै फेरि गाउँतिरै फर्किएको छ। धेरै नेपाली सिनेमाजस्तै यसले पनि सहरभन्दा गाउँ राम्रो भन्ने भाष्यलाई मलजल गर्दै गाउँ नोस्टाल्जियासँग ‘खेलबाड’ गर्छ।
तथापि, पारिवारिक सिनेमा हेर्न रुचाउने दर्शकका लागि परान मीठो खुराक बन्न सक्छ।