काभ्रे। जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सातजना काभ्रेमा पक्राउ परेका छन्। गत भदौ २४ गते काभ्रेका विभिन्न सरकारी तथा निजी भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) रविन विष्टका अनुसार पक्राउ पर्नेमा पनौती नगरपालिका ३ का अनिष सापकोटा, वडा ८ का सुमन केसी, वडा १० का साकार केसी, वडा २ का स्यान्जी भन्ने सुवास तामाङ, बेथानचोक गाउँपालिका ६ का समीर तामाङ, वडा ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका ४ का ङेमासाङ मोक्तान छन्।
यस्तै पनौती ३ का अनिष सापकोटाविरुद्ध यसअघिसमेत मुद्दा दर्ता भएको थियो। सापकोटाविरुद्ध २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ।
बेथानचोकका होमप्रसाद तिमल्सिनाविरुद्ध २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो। यसैगरी पनौती २ का तामाङविरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ। कार्यालयका अनुसार काभ्रे र मातहत प्रहरी एकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि काभ्रे जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको हो।
जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा उजुरी परेको छ। अन्य आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कोमल शाहले बताए।
गत भदौ तेस्रो साता भएको आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रे प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेका ६ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको छ। कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी पक्राउ गर्नेसमेतको योजना बनाएको हो।
कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ। जाहेरीबाहेक अन्य सरकारी संरचनामा क्षति पुगेको तथा पुर्याउनेबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता विष्टले बताए। उनका अनुसार ठूला चाडबाडले केही सुस्ताए पनि अब अनुसन्धानलाई तीव्रता दिइनेछ।
प्रहरीले विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराई उक्साउनेको पहिचान र प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाएको हो। गत भदौ २४ गतेको ध्वंसात्मक घटनामा काभ्रेको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान गरी कारबाही गर्न सुरक्षा निकायमा पीडितले जाहेरी दर्ता गराएका हुन्। उक्त जाहेरीमा घटनामा संलग्न तथा घटनाको वातावरण सिर्जना गर्ने, गराउनेका बारेमा प्रमाण पेस गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी सरकारी सम्पत्ति र सार्वजनिक क्षेत्रमा आगजनी र तोडफोड गर्नेहरूको पहिचानका लागि प्रहरीले यसअघि नै उजुरी गर्न इमेलमार्फत आह्वान गरेको थियो। प्रदर्शनका क्रममा काभ्रेमा विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्याइएको थियो। विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्याइएको हो। ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेका चारजनाले काठमाडौँमा ज्यान गुमाएका थिए।
यसअघि ‘जेनजी’ को आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ। त्यसबेला प्रहरीले बनेपा नगरपालिका ९ बाट ७३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको थियो।