काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

व्यक्तिवृत्त

स्विट्जरल्यान्ड, फ्रान्स र क्यानडाकी नागरिक सोफी लाभो नेपालमा सोफी दिदीको उपनामले चिनिन्छिन्। उनी युरोपलगायत अन्तर्राष्ट्रिय फोरममा नेपाली हिमालको कथा सुनाएर सबैलाई लट्ठ पार्छिन्।

१५ कार्तिक २०८२
मनास्लु हिमाल आरोहणका क्रममा सोफी। सबै तस्बिर : सोफी लाभो
अ+
अ-

“म आर्थिक संकटलाई धन्यवाद दिन्छु। पछिल्लो समय जे जति गरेँ, त्यो आर्थिक संकटले गर्दा भएको हो,” गत असोजमा काठमाडौँको बौद्धमा भेटिएकी सोफी लाभो भन्दै थिइन्।

सन् २००८ मा आर्थिक मन्दीले पश्चिमा राष्ट्रमा ठूलै संकट निम्त्यायो। धेरैले रोजगारी गुमाए, व्यापार-व्यवसाय चौपट भयो। त्यो संकटमा व्यवसाय गुमाउनेमध्ये एक थिइन् सोफी। उनी स्विट्जरल्यान्डमा दाइसँग मिलेर वित्तीय कम्पनी चलाउँथिन्। जसले लगानीसम्बन्धी ठूला सम्मेलन आयोजना गर्थ्यो। मन्दीपछि उनीहरूले जेनतेन तीन वर्ष कम्पनी चलाए। पार नलाग्ने देखेपछि सन् २०११ मा बन्द गरे।

त्यसपछि सोफीले नयाँ बाटो तय गरिन्– आठ हजार मिटर अग्ला हिमाल चढ्ने। “पहिलेदेखि रहर थियो। तर, हिमाल चढ्न कम्तीमा दुई महिना निकाल्नुपर्थ्यो। लामो समय बिदा बस्ने सुविधा थिएन,” ५७ वर्षीय सोफी भन्छिन्। कम्पनी बन्द भएपछि सुरुमा उनी तिब्बत लागेकी थिइन्, ११ मे २०१२ मा सेन्ट्रल सिसापाङ्मा (८,०२७ मिटर) आरोहण गर्न। आठ हजार मिटरको अग्लो अर्को हिमाल चो ओयु (८,१५० मिटर) १४ दिनभित्रै चढिन्।

मनास्लु आरोहणका क्रममा सोफी

“कम्पनी बन्द हुनु मेरा लागि मेडलजस्तै भयो,” उनी भन्छिन्। आठ हजार मिटरभन्दा अग्ला दुई हिमाल सहजै एकै सिजन चढे पनि अरू हिमाल चढ्ने रहर गरिनन्।

“हिमाल आरोहणमा प्रतिस्पर्धा सुरुदेखि नै छ। तर, मलाई त्यो मन पर्दैन,” उनी भन्छिन्। उनले आरामसँग हिमाल चढ्ने नीति बनाइन्। पछिल्लो ११ वर्षयता उनले १४ वटै हिमाल आरोहण गरिसकेकी छन्, जुन उपलब्धि हालसम्म केवल एक दर्जन महिलाले हासिल गरेका छन्।

“यो सफलताका लागि २२ पटक प्रयास गरेकी हुँ,” उनी भन्छिन्। सोफीले २५ मे २०१४ मा तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरिन्। त्यसपछि उनलाई आठ हजारभन्दा अग्ला बाँकी हिमाल चढ्न मन लागेन। २६ जुन २०२३ मा नागापर्वत (८,१२६ मिटर) चढेपछि १४ वटै हिमाल चढ्ने कीर्तिमान बनाएकी उनी यो उपलब्धि प्राप्त गर्ने पहिलो स्विस,  फ्रान्सेली र क्यानडेली महिला हुन्। सोफीसँग तीन देश (स्विट्जरल्यान्ड, फ्रान्स र क्यानडा)को पासपोर्ट छ। सोफीका बाबु र आमा फ्रान्सेली नागरिक हुन्। बुवाले क्यानडाको ठूलो खाद्य कम्पनीमा काम गरे। उतैकाे नागरिकता लिए। आमा एयर फ्रान्सकी एयरहोस्टेस थिइन्। सोफी र उनका दाजु भने स्विट्जरल्यान्डमा जन्मिएका थिए।

सगरमाथा शिखरमा सोफी

आफू काम गर्ने कम्पनी बन्द भएपछि सोफीले सन् २००४ देखि सानातिना हिमाली टाकुरा चढ्ने अभियान सुरु गरेकी हुन्। युरोपको अग्लो टाकुरा मो ब्लाँ (४,८०५ मिटर) सन् २००४ मा चढिन्। “अल्प्सका चार हजार मिटरभन्दा अग्ला ८२ वटा टाकुरा छन्। जसमध्ये २५ वटा चढेकी छु,” उनी भन्छिन्।

अफ्रिकाको किलिमन्जारो (५,८९५ मिटर), ल्याटिन अमेरिकी देशहरू अर्जेन्टिना, इक्वेडर, चिली, बोलिभियाका हिमालहरू पनि चढ्न भ्याइन्। “हिउँदमा तीन साताको छुट्टी हुन्थ्यो। त्यस समय हिमाल चढ्न जान्थेँ,” पुरानो कुरा सम्झँदै उनी भन्छिन्, “त्यसले दक्षिणी गोलार्द्धका धेरै देश घुम्न र हिमाल चढ्न प्रेरित गर्थ्यो।”

अन्नपूर्ण दोस्रोमा सोफी

उनी पर्वतारोहणमा आउन चाहनेहरूलाई पनि क्रमश: चार हजार, पाँच हजार गर्दै अग्ला हिमालहरू चढेर आठ हजारमा जान सुझाव दिन्छिन्। “तर आठ हजार मिटर अग्ला हिमाल निकै फरक प्रकारका हुन्छन्,” सोफी आफ्नो अनुभव सुनाउँछिन्। आठ हजार मिटरको हिमाल चढ्नुअघि उनले सोलुखुम्बुमा रहेको मेरापिक (६,४७६ मिटर) पनि चढिन्।

आठ हजार मिटरमाथिको कुन हिमाल चढ्न सजिलो भनेर मानिसहरू उनलाई सोध्ने गर्छन्। उनको धारणामा कुनै पनि हिमाल चढ्न सजिलो भने छैन। “हिमालका लागि सजिलो शब्दको प्रयोग नै उचित हुँदैन। कम कठिन भन्ने मात्रै हो। आठ हजार मिटरको हिमालका लागि म कहिले पनि त्यो शब्द प्रयोग गर्दिनँ,” उनी भन्छिन्।

अन्नपूरणको शिखरमा सोफी

पर्वतारोही चो-ओयु र मनास्लुलाई सहज ठान्दछन्। “यो एक्सेसिबल हो। सहज भन्ने होइन,” उनी भन्छिन्। हिमालमा आठ हजार मिटरभन्दा माथिको उचाइलाई मृत्युक्षेत्र अर्थात् डेथ जोन भन्ने गरिन्छ। कठिन भौगोलिक अवस्थिति, न्यून अक्सिजन, छिनमै परिवर्तन हुने मौसम, हिमपहिरोजस्ता कारण अग्ला हिमाल आरोहण जोखिमपूर्ण मानिन्छ।

हिमालअनुसार जोखिमका कारण पनि फरक फरक हुन्छन्। जनशक्ति, बन्दोबस्ती, मौसमजस्ता विषयले त्यस्तो जोखिमलाई कम गर्न भूमिका खेल्छन्। उनका लागि सबैभन्दा कठिन भने ‘के-टु’ (८,६११ मिटर), नागापर्वत र अन्नपूर्ण रहे। “के-टु सबैभन्दा कठिन हो। यसमा धेरै कुराको कम्बिनेसनले त्यस्तो बनाएको हो। हिमालको फेदमा पुग्न १० दिन हिँड्नुपर्छ। यो निकै टाढा छ,” उनले सम्झिइन्, “त्यसपछि त्यहाँ ३६ सय मिटर ननस्टप क्लाइम्बिङ गर्नुपर्छ। फेदीदेखि चुचुरोसम्म निरन्तर  चढिरहनुपर्छ। रोकिने ठाउँ छैन।”

उनले दोस्रो प्रयासमा २१ जुलाई २०१८ मा ‘के-टु’ को सफल आरोहण गरिन्। धौलागिरि (८,१६७ मिटर) आरोहण गर्न भने चारपटक प्रयास गर्नुपर्‍यो। १ अक्टोबर २०२१ मा उनले धौलागिरिको सफल आरोहण गरिन्। कञ्चनजंघा (८,५८६ मिटर) पनि तीनपटकको प्रयासमा १५ मे २०१९ मा चढ्न सफल भइन्। यस्तै, दोस्रो प्रयासमा मनास्लु (८,१६३ मिटर) १ अक्टोबर २०२२ मा चढिन्।

गासरब्रम-१ को शिखरमा सोफी

उनीसँग हिमाल आरोहणको सफलताको कुरा मात्र होइन, चढ्ने प्रक्रियाको कथा पनि थुप्रै छ। परिस्थिति अनुकूल नहुँदा जोर-जबरजस्ती कहिले नगरेको उनको अनुभव छ। समुद्री सतहबाट जति माथि गयो, त्यति हावाको सघनता र दबाब कम हुन्छ। पर्याप्त मात्रामा अक्सिजन नपाउँदा शरीरका कोष तथा तन्तु बिग्रन थाल्छन्। मुटु र मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैनन्। मस्तिष्कले राम्रोसँग निर्णय लिन सक्दैन। आठ हजार मिटर र सोभन्दा माथिका क्षेत्रमा तीव्र वेगमा हावा चल्छ। अधिकांश पर्वतारोहीको मृत्यु आठ हजार वा सोभन्दा माथि भएको छ। मानिस जतिसुकै तन्दुरुस्त भए पनि, त्यतिको उचाइमा आफूलाई अनुकूलित बनाए पनि केही घण्टा बस्नसमेत मुस्किल हुन्छ। शरीर मर्न सुरु गर्छ।

“बीचमा आरोहण त्याग्नु पनि आरोहणकै एउटा अंश हो। त्यसले जीवन जोगाउने काम गर्छ। मैले हिमाल चढ्ने क्रममा जबरजस्ती गरेको भए अहिले तपाईंहरूलाई कथा सुनाउने ठाउँमा हुन्नथेँ,” उनी भन्छिन्।

आ‍रोहणबाट जुनसुकै अवस्थामा पनि जीवित फर्किनु नै उनको गुरुमन्त्र हो। “सबैभन्दा महत्त्वपूर्ण कुरा, कथा भन्नका लागि घर फर्किनुपर्छ भन्ने हो। यति मात्र सम्झिने हो भने पनि धेरै जोडबल गरिँदैन। चुचुरामा पुग्ने कुरामा मात्र ध्यान दिनु हुँदैन। आरोहण सफल भए पनि नभए पनि त्यसमा सुनाउने कथा थुप्रै हुन्छन्,” उनी भन्छिन्।

त्यसैले आरोहणका क्रममा कहिले घाइते नभएको र कोभिडबाहेक कहिले पनि उद्धार गर्नुपर्ने अवस्थामा नपरेको उनको अनुभव छ।

धौलागिरि आरोहणका क्रममा महिला टोलीको नेतृत्व गरिरहेको सोफी

अहिले सोफीको मुख्य पेसा आरोहणको कथा सुनाउने हो। व्यापारिक प्रतिष्ठानहरूले राम्रै रकम दिएर प्रमुख वक्ताका रूपमा बोलाउँछन्। “आरोहणमा प्राप्त सफलताको अनुभवको आधार बनाएर बोल्ने गरेको छु,” उनी भन्छिन्।

अहिले उनी हिमाली क्षेत्रमा उद्धारका लागि प्रयोग गर्ने उपकरण बनाउने कम्पनीकी ब्रान्ड एम्बेस्डर हुन्। फरक पेसामा काम गरे पनि हिउँसँग उनको सम्बन्ध पुरानो भइसक्यो। तीन वर्षदेखि उनी स्की खेल्ने र हाइकिङ जाने गर्छिन्।

“१५ वर्षसम्म ब्याले डान्स गर्थें,” बाल्यकाल सम्झिन्छिन्, “पर्वतारोहण ढिलो सुरु भयो। हाम्रो परिवारमा यसको परम्परा थिएन।” पाँचतारे होटलको रिसेप्सनिस्ट हुँदै मार्केटिङ मेनेजर पदमा पुगेकी सोफीले लक्जरी कस्मेटिक र गरगहना बेच्ने कम्पनीमा पनि काम गरिन्।

सन् २००४ मा पहिलोपटक दाजुसँग नेपाल आएकी थिइन्। त्यसबेला उनलाई सगरमाथा बेसक्याम्प पुग्ने ठूलो रहर थियो। तर, फेब्रुअरी महिनामा सबै बन्द हुँदा उनको रहर पूरा भएन। यसपटक उनी वसन्त ऋतुमा नेपाल आउने पुरानो चाहना पूरा गर्न आएकी हुन्। बाह्य संसारमा उनी ‘एट थाउजेन्ड लेडी’ भनेर चिनिन्छिन्। तर, नेपालीहरूले माया गरेर ‘सोफी दिदी’ भन्छन्।

‘एट थाउजेन्ड लेडी’ का नामले परिचित सोफी लाभो

कुराकानीकै क्रममा छुट्टिने बेला सोफी दिदीले हाँस्दै भनिन्, “२९ पटक नेपाल आइसकेकी छु। अर्कोपटक ३० पुग्छ। त्यतिबेला सबै बसेर सेलिब्रेसन गर्नुपर्छ है।”