सात सवाल
रंगमञ्चको लाइभ गायन र संगीतबाट यात्रा सुरु गरेकी गरेकी स्मारिका फुयाँललाई धेरैले ‘द पोयट आइडल’ को मञ्चमा गाउने/बजाउने कलाकारका रूपमा चिन्छन्। आस्था राउतसँग मञ्चमा सँगै गाएको जुरुक्क कर्णाली ले त पछिल्लो समय उनलाई धेरै दर्शकमाझ चिनायो। काठमाडौँ विश्वविद्यालयमा इथ्नोम्युजिकोलोजी अध्ययन गर्ने उनलाई आफ्नो नामझैँ स्मारिकामा खुब लगाव छ। आमाको टिकट संकलन गर्ने बानीको प्रभावले उनी पनि पुराना चिजबिज संग्रह गर्न रुचाउँछिन्। स्मारिकाको यही रुचिबारे नेपाल न्युजले गरेको सात सवाल :
तपाईंको संग्रहमा नौला, पुराना के के सामग्री छन्?
मैले हेरेका नाटक, कार्यक्रम, कन्सर्टहरूको ब्रोसर र टिकट, सलाईका बट्टा, क्यासेट/सीडी, किताब, कानमा लगाउने झुम्का आदिको संकलन गरेकी छु। विभिन्न डिजाइनको सलाईको बट्टाको संख्या अहिले ५० नाघिसकेको छ जुन साथीहरू विदेश गएको बेला पनि मगाउने गरेकी छु।

संकलन गर्न आकर्षित हुनुको मुख्य कारण?
पुराना सामान परिवर्तनका प्रमाण हुन्, ती अप्राप्य हुन्छन्। म अलिक नोस्टाल्जिक मान्छे नै हुँ, पुराना यादहरूको स्मारिका राख्न मन लाग्ने। ‘पहिले यस्तो थियो, यस्तो रहेछ’ भन्ने कुरा सोच्न रमाइलो लाग्छ।
पहिलोपटक के संकलन गर्नुभएको थियो, याद छ?
स्कुल जाँदा मैले हेर्ने कार्टुनका स्टिकरहरू। तर, ती अहिले मसँग छैनन्। त्यसपछि नाटक, कार्यक्रम, कन्सर्टका ब्रोसर र टिकटहरू संकलन गर्न थालेँ।
तपाईंको संग्रहमा कुनै दुर्लभ वस्तु पनि छ?
आमाको संकलनमा मैले सन् १९७९ को एउटा हुलाक टिकट भेटेकी थिएँ जुन अहिले मेरो संकलन भएको छ। यो अरू हुलाक टिकट संकलकहरूका लागि दुर्लभ नहुन सक्छ, मेरा लागि चाहिँ दुर्लभ नै हो। किनकि, मैले मिति भएको सबैभन्दा पुरानो भेटेको चिज त्यही थियो।

पुराना सामग्री संकलन गर्दा पाइने सन्तुष्टि कस्तो हुन्छ?
ती पुराना सामानहरूले देखेका मालिक केकस्ता थिए होलान् भनेर कल्पिनु। जुन जीवन एउटा मान्छेले जिउन पाउँछ, पुरानो सामानले त्यसरी नै जीवन जिएको हुन्छ जस्तो लाग्छ मलाई। मेरी हजुरआमाको पुरानो सन्दुकमा पहिले नुन, चिनी, चामल, गरगहना पैसा राख्नुहुन्थ्यो होला, अहिले म ब्रोसर, हुलाक टिकट, सलाईका बट्टाहरू राख्छु।
पुराना सामग्री खोज्ने तरिका केही छ?
तस्बिरहरू र आफ्ना वरिपरिका बूढापाकासँग कुराकानी गर्ने।
संकलन गरेको कुनै चिज आफ्नो प्रेमीलाई दिनुपर्यो भने के रोज्नुहुन्छ?
सायद हामी सँगसँगै सहभागी भएका कार्यक्रमका ब्रोसरहरूको साथमा मनका भावना पोखेको चिठी दिन्थेँ होला।