१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सरकारले काठमाडौंको उपत्यकाको सहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ। बागमती सफाइ महाअभियानको ६५०औं साता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उपत्यकाको सहरीकरको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने दाबी गरे।

“अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोहीबमोजिम सहरलाई सुन्दर बनाउन ढल, विद्युत्, खानेपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायत योजना एकीकृत रुपमा बनाएर सोहीबमोजिम काम अगाडि बढाउन लागेका छौं,” उनले भने‚ “नदी सफा नभएसम्म सहरी सौन्दर्य कायम हुन सक्दैन। यसका लागि ठूलो लगानी आवश्यक छ। त्यसैले नदी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थायी सरकार मिलेर संयुक्त रुपमा नदी सफाइ व्यवस्थापनको काम गर्न जरुरी छ।”

उपत्यकाका नदीनाला सफा भएर नुहाउन सक्ने अवस्था नबनेसम्म सहर सफा हुन नसक्ने उल्लेख गर्दै उनले नदीलाई सफ राख्न जनस्तरबाट सञ्चालन गरिएको महाअभियानलाई धन्यवाद दिए।

बागमतीमा जम्मा भएको फोहोर निकाल्ने मात्र नभई मानिसको मन सफा गर्ने उद्देश्यका महाअभियान सञ्चालन गरिएको प्रमुख अभियन्ता एवं पूर्वमुख्य-सचिव लीलामणि पौड्यालको भनाइ छ। उनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई सहरीकरणका अन्य कामभन्दा योजनाबद्ध रुपमा ढल निर्माण र प्रशोधनमा केन्द्रित गराउन सुझाए।

समितिले सन् २०२५-४५ कार्ययोजना तयार गरेको छ। कार्ययोजनामा जलस्रोत संरक्षण र संवर्धन गरी नदीहरुमा पानीको मात्र बढाउने, जैविक विविधता संरक्षण गर्ने, दिगो सहरी विकास गर्ने, पानीको गुणस्तर र मात्रामा सुधार गर्ने,नदीको बहाव क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण गर्नेलगायत उद्देश्य राखिएका छन्। कार्ययोजना कार्यान्वयन गर्न करिब दुई खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।