काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

त्यो काण्ड

खिमबहादुर उर्फ केटी थापा मुम्बईका एक्ला यस्ता ‘नेपाली डन’ हुन्, जसको थरले मात्र अहिले पनि मुम्बईमा धेरै नेपालीको गुजारा चलेको छ। ३३ वर्षअघि मंगतराम पेट्रोल पम्पअगाडि उनको हत्या हुँदा पूरा मुम्बई त्रासमा डुबेको थियो।

१५ कार्तिक २०८२
भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवसँग सेतो पाइजामामा उभिएका केटी थापा।
अ+
अ-

त्यो दिन उनी मुम्बईको लाइट सिनेमा हलनजिकै आफ्नो कार्यालयमा समाचार सम्पादन गरिरहेका थिए। दिउँसो करिब पौने ४ बजे उनको टेबलमा फोनको घण्टी बज्यो। उनले जसो टेलिफोनको रिसिभर आफ्नो कानमा थापे, उताबाट खबर आयो– केटी थापाको हत्या भयो।

उनी अर्थात् भारतका चर्चित क्राइम रिपोर्टर विवेक अग्रवाल। उनले मुम्बईको अपराधबारे १० वटा पुस्तक लेखिसकेका छन्। सुरुमा केटी थापाको हत्याको खबर सुन्दा उनलाई पत्यारै लागेन। हिन्दी महानगर पत्रिकाको आफ्नो अफिसबाट मुम्बई क्राइम ब्रान्चका पुलिस अधिकारीलाई फोन लगाए। यसपछि पुष्टि भयो– शिव सेनाका कन्ट्र्याक्टर, मुम्बई नगर निगमका पार्षद् केटी थापाको भान्डुपनजिक मंगतराम पेट्रोल पम्पअगाडि दिउँसो साढे ३ बजे अज्ञात समूहले हानेको गोली लागेर निधन भयो।

यो घटना भएको थियो, २३ अप्रिल १९९२ मा। जतिबेला मुम्बईमा सिरियल बम ब्लास्टको घटना भइसकेको थिएन। भारतका दुई खुंखार डन दाउद इब्राहिम र छोटा राजन एउटै समूहमा आबद्ध भएर अपराधको दुनियाँमा अगाडि बढिरहेका थिए। यही समूहमा एक यस्ता नेपाली पनि थिए, जसले मुम्बईमा आफ्नो बेग्लै पहिचान बनाए। उनी शिव सेनादेखि मुम्बईको राजनीतिमा दह्रोसँग उभिने यात्रामा अगाडि बढिसकेका थिए। तर, एक्कासि उनको दिनदहाडै हत्या भयो। यसपछि समाप्त भयो– मुम्बईका एक्ला ‘नेपाली डन’ खिमबहादुर उर्फ केटी थापाको कथा। जो अहिले पनि यस क्षेत्रमा ‘रोबिनहुड’ को छवि बोकेर लाखौँ नेपाली र मराठीबीच बाँचिरहेका छन्।

उनी महाराष्ट्रको मुख्यमन्त्री बन्ने औकात राख्थे। भान्डुपमा निम्न आय भएका व्यक्तिहरू अहिले पनि उनलाई भगवान्‌सरह पुज्ने गर्छन्। हरेक वर्ष उनको जन्मजयन्ती मनाइन्छ। हत्या भएको दिन विशेष कार्यक्रम गरेर उनलाई सम्झिने गर्छन्, स्थानीयवासी।

१९८० को दशकका डन, कुनैबेला महाराष्ट्र एक्लै हल्लाउनसक्ने ताकत राख्ने शिव सेना प्रमुख बालासाहेब ठाकरेका अतिविश्वासपात्र केटी थापाको विषयमा नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइराला भन्ने गर्थे– निकै आँटी मान्छे हो। सन् १९७३ मा नेपाली कांग्रेसले विराटनगरबाट विमान अपहरण गरेर फारबिसगन्जमा उतारेपछि नेपाल सरकारको आग्रहमा भारतीय सरकारले अपहरणकारीको खोजी गरेको थियो। त्यो अपहरणमा नेपाली कांग्रेसका कार्यकर्ता सक्रिय थिए। अपहरणकारीलाई लुकाउन नेपाली कांग्रेसका नेता बीपी कोइरालाले आफ्ना कार्यकर्तालाई मुम्बई पठाउनुपर्‍यो। फारबिसगन्जबाट पहिले बनारस र बनारसपछि मुम्बई पुगेका ती कार्यकर्तालाई लुक्नका लागि घर खोज्नेदेखि सुरक्षा दिने काममा खटिएका थिए, उनै थापा।

केटी थापा

भारतीय प्रधानमन्त्री चन्द्रशेखरसँग पनि थापाको राम्रो सम्बन्ध थियो। सन् १९८९ मा मुम्बई नगर निगमको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर चुनाव जितेपछि थापाले प्रधानमन्त्री चन्द्रशेखरलाई आफूले आयोजना गरेको एउटा कार्यक्रममा आउन निम्तो गरेका थिए। चन्द्रशेखरले आउने वचन पनि दिए। तर, त्यो मौका कहिल्यै जुरेन। दिल्लीमा राजनीतिक खिचातानी तीव्र हुँदा थापाको कार्यक्रममा जान सकेनन्, चन्द्रशेखर। सन् १९९१ मा त सरकार नै ढल्यो।

थापा सानै हुँदा उनको परिवार रोजगारीको सिलसिलामा स्याङ्जाबाट बसाइँ सरेर मुम्बई पुगेको हो। उनले भान्डुपको सर्वोदयनगरमा रहेको आफ्नो घरनजिकको गुरु नानक स्कुलबाट प्रारम्भिक शिक्षा आर्जन गरे। उनी कपर्दीका सोखिन खेलाडी थिए। कम उचाइ तर गठिलो ज्यान, हेर्दै  पहलमानजस्तो लाग्ने थापाको खेलको मुम्बईभरि तारिफ हुन्थ्यो। एकदिन कपर्दी प्रतियोगितामा मुख्य अतिथि भएर गएका शिव सेना प्रमुख बालासाहेब उनको फुर्तिलो खेल देखेर यति मन्त्रमुग्ध भए, उनले पुरस्कार वितरणको कार्यक्रम सकिएलगत्तै थापालाई शिव सेना प्रवेश गर्न निम्तो गरे। त्यतिबेला थापा आफ्नो पेट पाल्न स्थानीय एउटा फ्याक्ट्रीमा चौकीदारको काम गर्थे। बालासाहेबको प्रस्ताव थापाका लागि वरदान साबित भयो। यसपछि सुरु भयो, थापाको डन बन्नेदेखि कर्पोरेटरसम्मको कहानी।

७० को दशक र केटी थापा

सन् १९७० को दशकको मुम्बई अहिलेजस्तो प्रदूषित भइसकेको थिएन। त्यतिबेला डनगिरीको नाममा दुई जना व्यक्ति मात्र हाबी थिए, सन् १९३० को दशकमा अफगानिस्तानबाट मुम्बई झरेका पस्तुन परिवारका करिम लाला र तमिलनाडुबाट मुम्बई भित्रिएका हाजी मस्तान। पछि तमिलनाडुबाटै बरदराजन मुदालियरको प्रवेश भयो। उनीहरू विशेषतः सुनको तस्करी, विदेशबाट आउने इलेक्ट्रोनिक समानको चोरी र लोकल रक्सीको व्यापार गर्थे। तीन जनाले आआफ्नो ठाउँ छुट्याएका थिए। कोही एकअर्काको क्षेत्राधिकारको अतिक्रमण गर्दैनथे। शिव सेना प्रमुखसँग पनि उनीहरूको सम्बन्ध राम्रो थियो।

तर, १९८० को दशक प्रवेश गर्दानगर्दै मुम्बईमा छोटे डनहरूको बिगबिगी बढ्यो। लागुऔषधको कारोबार व्यापक फैलियो। सन् १९७६ मा इन्दिरा गान्धी नेतृत्व सरकारले लागु गरेको इमर्जेन्सी र बैंकहरूको राष्ट्रियकरणको मुद्दाले ठूला-साना उद्योगहरू धरापमा परे। उद्योगहरूमा ‘युनियनगिरी’ को प्रभाव यस्तो देखियो, उद्योगीहरूले आफ्नो सुरक्षाका लागि गुन्डाहरू पाल्न थाले।

हो, यति नै बेला दाउद इब्राहिम, अरुण गौली, बर्किया भाइ, रमा भाइ, शरद सेट्टी, बडा राजन हुँदै छोटा राजनको उदय भयो। यी सबै डनहरूको बीचमा केटी थापाले छुट्टै पहिचान बनाए। सुरुमा उनको कसैसँग दुस्मनी थिएन। निकै मिजासिला। बालासाहेबका विश्वासपात्र त छँदै थिए, दाउद इब्राहिमले पनि उनलाई निकै रुचाउँथे। पहिले छोटा राजन पनि दाउदकै लागि काम गर्थे।

“शिव सेनामा धेरैजना आबद्ध थिए। तर, उनको क्षमता देखेर  सन् १९८५ मा बालासाहेबले पहिलोपल्ट नगर निगमको चुनावमा उठाउने निर्णय गर्नुभयो। उनी निकै ठूलो मतले विजयी भए,” नेपाल न्युजसँगको संवादमा विवेक अग्रवाल भन्छन्।

लेखक तथा पत्रकार विवेक अग्रवाल। तस्बिर : राज समानीको पडकास्ट फिगरिङ आउट

मुम्बईका पूर्वमुख्यमन्त्री नारायण राणे र केटी थापा एकैदिन शिव सेनाबाट राजनीतिमा प्रवेश गरेका हुन्। राणे सन् १९९९ मा महाराष्ट्रको मुख्यमन्त्री नियुक्त भए।

“सन् १९८५ मा केटी थापा र नारायण राणे दुवैले छुट्टाछुट्टै क्षेत्रबाट नगर सेवकको चुनाव लड्नुभयो। उहाँको हत्या अप्रत्याशित थियो। निकै सरल र संगठनका लागि मरिमेट्ने स्वभाव थियो,” मुम्बईका पूर्वमुख्यमन्त्री राणेका साथी तथा हाल भारतीय जनता पार्टी (विजेपी) नेता साम सावन्त भन्छन्।

त्यस निर्वाचनमा शिव सेनाबाट उठेका सदस्यहरूमा सर्वाधिक मत प्राप्त गर्ने व्यक्तिमा थापाकै नाम अगाडि थियो। नगर निगमको चुनाव जितेपछि मुम्बईका गरिब बस्तीलाई सहरी क्षेत्रसँग जोड्ने कामको सुरुआत थापाले नै गरेका थिए। उनले भान्डुपबाट सहर प्रवेश गर्ने नगर निगमका दुईवटा सरकारी बस ६०५ र ६०६ सञ्चालनमा ल्याए। यसले स्थानीयहरूलाई ठूलो राहत दियो।

“उनले धेरै पैसा कमाएनन्। कमाएको पैसा पनि गरिबहरूको हितमै खर्च गरे। उनको त घरमै दरबार लाग्थ्यो। खाली हात कसैलाई पठाउँदैनथे। नेपाली समुदायको मात्र होइन, मराठीहरूको वृत्तिविकासमा पनि उत्तिकै चासो देखाउँथे,” अग्रवाल भन्छन्, “त्यसैले त उनको इमेज रोबिनहुडको जस्तो भयो। गरिबका छोरा-छोरीलाई फ्याक्ट्रीमा जागिर लगाइदिए। झोपड बस्तीमा सरकारी सुविधा विस्तार गरे।”

उनको यही कामको मूल्यांकन गर्दै स्थानीयवासीले जगलमंगल रोडको नाम फेरेर केटी थापा रोड राख्नुपर्ने आवाज उठाइरहेका छन्।

मुम्बईमा भेटिने प्रायः नेपालीको थर थापा हुने गर्छ। त्यसको प्रमुख कारण केटी थापा नै हुन्। केटी थापा भन्ने गर्थे– ब्रिटिसकालमा नेपालीहरू बहादुरीका लागि संसारभरि कहलिए। भीमसेन थापा, अमरसिंह थापा, भक्ति थापालगायत ब्रिटिस सेनामा भर्ती भएका थुप्रै थापाहरूले नाम कमाए। यो हाम्रो पहिचान हो। सन् १९८० को अन्त्यतिर केटी थापासँग संगत गरेका मास्टर थापाको वास्तविक थर लम्साल थियो। तर, केटीले नै आफ्नो थर परिवर्तन गर्न प्रेरित गरेको उनी सुनाउँछन्। “दाइको के कुरा गर्नु! मुम्बईमा धेरै नेपालीको थर थापा हुनुमा उहाँकै देन छ,” मास्टर भन्छन्, “नेपालमा मेरो थर लम्साल हो। तर, मुम्बईमा उहाँले मलाई थापाका रूपमा अलग्गै पहिचान दिलाउनुभयो।”

बाल ठाकरेसँग मास्टर थापा

सन् १९८० को दशकमा मुम्बईमा केटी थापाको यस्तो प्रभाव थियो कि, स्थानीय कसैले नेपालीलाई भेट्यो कि भन्ने गर्थे– थापाका आदमी है।

सानोतिनो लफडामा कुनै नेपाली पक्राउ पर्‍यो भने प्रहरीहरूले समेत भन्ने शब्द यही हुन्थ्यो– थापाका आदमी है, छोड्दो । एक प्रकारले भन्नुपर्दा १९८० को दशकदेखि मुम्बईमा थापा थर एउटा ‘ब्रान्ड ’ बन्न सुरु भइसकेको थियो।

“विदेशमा पहिचानको ठूलो संकट हुँदो रहेछ। मुम्बईमा उहाँजत्तिको लोकप्रिय मान्छे नै थिएनन् त्यतिबेला। त्यसैले नामको पछाडि थापा थर लगायो, ढुक्क। न कुनै गुन्डाको टेन्सन, न प्रहरीको,” मास्टर सम्झन्छन्, “मलाई भन्नुहुन्थ्यो– हेर् केटा, ब्रिटिस–इन्डियामा यति धेरै नाम कमायौँ। थापा भन्नुपर्छ।”

केटी थापाको रवाफ देखेर मुम्बईका पहिलो गैरकांग्रेसी मुख्यमन्त्री मनोहर जोशी पनि हच्किन्थे। जोशीले सन् १९९५ मा भारतीय जनता पार्टी (बीजेपी)को सहयोगमा पहिलो शिव सैनिकका रूपमा मुख्यमन्त्रीको शपथ खाएका थिए। “सन् १९८५ र १९८९ मा दुईपल्ट अत्यधिक मतले नगर निगमको पार्षद् चुनिएपछि उहाँको उचाइ ह्वात्त बढेको थियो। नेपाली मात्र होइन, मराठीमाझ पनि उहाँ उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो,” २७ वर्ष बालासाहेबको सेवा गरेका चम्पा थापा थप्छन्। बालासाहेबको घरमा केटीपछि अर्को कुनै थापा चर्चित थियो भने ती चम्पा र मास्टर नै थिए। यी दुवैलाई शिव सेना प्रमुखको घरमा प्रवेश गर्ने वातावरण उनै केटीले मिलाएका थिए। “म त्यस्तै १६ वर्षको थिएँ, दाइले मलाई मातोश्री बंगला (बालासाहेबको घर) ल्याउँदा। यो सबै दाइकै अनुकम्पा हो,” केटीको हत्यापछि बालासाहेबको खुब सेवा गरेका चम्पा भन्छन्। सन् २०१२ मा बालासाहेबको मृत्यु नहुँदासम्म चम्पा मातोश्री बंगलामै कार्यरत रहे।

यस्तै, बालासाहेबको निधनपछि अस्तुलाई पशुपतिनाथ मन्दिरको छेउबाट बग्ने बागमती नदीमा विसर्जन गर्न मास्टर मुम्बईबाटै नेपाल आएका थिए। “उहाँ गरिबको मसिहा हुनुहुन्थ्यो। दाउद र छोटा राजन दुवै डराउँथे,” मास्टर सम्झन्छन्।

दाउद इब्राहिम र छोटा राजन

थापा जीवित हुँदा उनको एउटा फोन कलको भरमा त्यतिबेलाका बलिउड हस्ती गोविन्दादेखि अन्य सबै कलाकार भेला हुन्थे। उनका कारण थुप्रै नेपालीले बलिउड मात्र होइन, रिलायन्सलगायत ठूला उद्योगहरूमा काम पाए। भारतको प्रख्यात कम्पनी सिएट टायर, आनन्द महेन्द्रादेखि रिलायन्सको युनियन तोड्ने काममा उनी सक्रिय थिए। त्यसैले उनले यी कम्पनीमा थुप्रै गरिब परिवारलाई रोजगारी दिलाए।

किन मारिए थापा?

भारतीय प्रधानमन्त्री चन्द्रशेखर र मुम्बईका ‘राजा’ बालासाहेब ठाकरेसँग राम्रो सम्बन्ध बनाएका केटी थापाको ३७ वर्षको अल्पायुमा हत्या भयो। उनको हत्यामा छोटा राजन समूहको संलग्नता रहेको लेखक तथा पत्रकार अग्रवाल बताउँछन्। मुम्बई अपराध अनुसन्धान शाखाले पनि थापाको हत्यामा छोटा राजन समूहको संलग्नता रहेको भन्दै समूहका १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर, सन् १९९६ मा अभियुक्त मानिएका १६ जनाविरुद्ध ठोस प्रमाण फेला नपरेको भन्दै सबैलाई सफाइ दिइयो। त्यतिबेला राजन इन्डोनेसियामा लुकेर बसेका थिए। त्यसैले उनलाई भगौडा घोषित गरियो। तर, सन् २०१५ मा उनी बालीमा पक्राउ परे। उनीविरुद्ध थापाको हत्यालगायत १७ वटा मुद्दा दायर गरियो। तर, सन् २०२० मा थापाको हत्याको आरोपमा मुद्दा नचलाउने निर्णय भएको भन्दै अग्रवाल अचम्म मान्छन्। “छोटा राजनलाई पक्राउ गर्नुको प्रमुख कारण केटी थापाको हत्यालाई पनि मानिएको छ। तर, अहिले त्यसलाई क्लोजर रिपोर्टमा हाल्ने काम भयो,” उनी भन्छन्।

हत्या हुनुअघि थापाको दाउदसँग निकै राम्रो सम्बन्ध थियो। उनले थापालाई राजनीतिमा नलाग्न सुझाव पनि दिएका थिए। तर, बालासाहेबको खास भएका कारण उनले ‘नाइँ’ भन्न सकेनन्। राजनीतिमा हाम्फाले। “मामाको हत्या हुँदा दाउद र राजन एकै समूहमा थिए। त्यसैले पत्यार लागेको थिएन,” भान्जा केएन सिंह भन्छन्।

सन् १९९३ को ‘मुम्बई बम ब्लास्ट’ भन्दा ११ महिनाअघि भएको यस घटनाले दाउद र राजनबीच पहिलोपल्ट फाटो बढाएको थियो। मुम्बई बम ब्लास्टपछि त झनै दुई जना एकअर्काको ‘खुनको प्यासा’ भए।

थापाको हत्यामा गौली-नायक ‘ग्याङ’ पनि संलग्न रहेको विश्लेषकहरूको दाबी छ। सन् १९८९ मा सन-एन-स्यान्ड होटलमा गौली-नायक ग्याङका सदस्य लालु भाइको हत्या हुँदा गोली हान्ने व्यक्तिलाई बन्दरगाहबाट मुम्बई प्रवेश गराउन थापाले सहयोग गरेको आरोप लागेको थियो।

“यसमा कुनै शंका छैन, दाइको हत्या एकजनाको स्वार्थले मात्र भएको होइन। यसका लागि लामो समयदेखि योजना बनिरहेको थियो,” मास्टर भन्छन्, “राजनीतिमा उहाँको बढ्दो कदम, स्थानीय जनताको माया पनि प्रमुख कारण बन्न पुग्यो।”

सन् १९८६ मा केटी थापालाई पहिलोपल्ट मान्छे मारेको आरोप लाग्यो। यतिबेला उनलाई समात्न घर पुगेका प्रहरीलाई दाजु रामबहादुर र भरत पवारले उल्टै गोली प्रहार गरेका थिए। त्यतिबेला मनोहर जोशी र प्रमोद नवालकरको मध्यस्थतामा थापाले आत्मसमर्पण गरे। राजनीतिमा प्रवेश गरेपछि उनको प्रभाव चौतर्फी बढ्न थालेको थियो। यसमा पनि दाउदले पैसा कलेक्सनको जिम्मेवारी उनैलाई सुम्पिएपछि छोटा राजनलगायत अन्य ग्याङहरू पनि उनीसँग सन्तुष्ट थिएनन्। “उहाँको प्रभाव भान्डुपबाट फैलिएर चेम्बुर हुँदै अन्य ठाउँतर्फ सरिरहेको थियो। यस्तोमा छोटा राजन मात्र होइन, अन्य ग्याङका सदस्य पनि खुसी हुने कुरै भएन,” मास्टर भन्छन्।

अन्त्येष्टिका बेला केटी थापाको शव

उनको हत्या हुँदा भारतबाट प्रकाशन हुने चर्चित पत्रिका इन्डियन एक्सप्रेसले लेखेको थियो– सेतो फियाट कारमा आएका पाँच जनाले मंगतराम पेट्रोल पम्पअगाडिको रेस्टुराँमा अन्धाधुन्ध गोली हान्दा शरीरमा आठवटा बुलेट लागेर शिव सेनाका कन्ट्र्याक्टर केटी थापाको घटनास्थलमै निधन भयो। नजिकैको राजावाडी अस्पताल नपुग्दै उनको निधन भइसकेको चिकित्सकको भनाइ। उनीसँग रहेका पीएम अबुवाकरको शरीरमा तीनवटा बुलेट तर उनी जीवित।

के थियो घटना?

केटी थापा प्रायः आफ्ना ६०-७० जना ‘पन्टर’ हरू सँग हिँड्ने गर्थे। तर, हत्याको दिन उनी दुईजना मात्र बोकेर मंगतराम पेट्रोल पम्पनजिकै साथीले भर्खरै निर्माण गरेको रेस्टुराँमा खाना खान गएका थिए। खाना खाएर बाहिर निस्किने क्रममा सेतो फियाट गाडीमा आएका पाँच जनाले अन्धाधुन्ध गोली प्रहार गरे। ज्यान जोगाउन उनी रेस्टुराँको पछाडि दौडिएका थिए। तर, खेदाई-खेदाई गोली हानियो। यस घटनामा उनको ड्राइभर अब्दुत बोर्डेले सबै सूचना उपलब्ध गराएको मास्टर थापा बताउँछन्। “उहाँ निकै फुर्तिलो हुनुहुन्थ्यो। माउजर पनि साथमा थियो। तर पहिले नै फिल्डिङ भइसकेको रहेछ। उहाँलाई पहिलो गोली नै हातमा हानियो,” मास्टर भन्छन्।

उनको हत्यामा छोटा राजन ग्याङका तीन सदस्य दिवाकर चुरी, सञ्जय रग्गड र अमर जोक्कर संलग्न थिए। यो कुरा थाहा पाएपछि केटी थापाका अति मिलनसार साथी सुभाषसिंह ठाकुर रिसले आगो भएको र परिवारका सदस्यलाई हत्याको बदला लिने आश्वासन दिएको लेखक अग्रवाल बताउँछन्। नभन्दै ठाकुरले यी तीनजनालाई नेपालको पश्चिम सीमावर्ती क्षेत्रमा मारेर सेती नदीमा हाले। उनीहरूको लास अहिलेसम्म फेला परेको छैन।

“सुभाषसिंह प्रहरीको फन्दाबाट बच्न लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका थिए। यी तीनजनालाई दशा लागेजस्तै भयो। उनीहरू पनि एउटा अपरेसनका लागि नेपाल आएका थिए। त्यो सूचना पाएपछि सुभाषले नेपालमै उनीहरूको हत्या गरेर नदीमा फ्याँकिदिए,” उनी भन्छन्। थापालाई धोका दिएर मार्ने ड्राइभर अब्दुत बोर्डे पनि सात वर्षपछि मारिए। यस घटनामा संलग्न पाँचजनालाई नै मारेर सुभाषले आफ्नो बदला पूरा गरेको उनी बताउँछन्। “उनले आफ्नो वचन राखे,” अग्रवालको भनाइ छ।

केटी थापाको निधनपछि स्थानीय जनताले उनकी श्रीमती रमिलालाई नगर सेवक निर्वाचित गरे। अहिले उनका दुवै छोरा मुम्बईमा स्थापित छन्।

उनको विषयलाई लिएर नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग भएको एउटा संवादलाई लिएर मास्टर थापा अहिले पनि उत्साही हुने गर्छन्। सन् २०१५ मा उनी कामविशेषले नेपाल आएका थिए। त्यतिबेला उनको भेट बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कोइरालासँग भएको थियो।

मास्टरले आफ्नो छोटो परिचय दिँदै कोइरालालाई भने, ‘म मुम्बईबाट आएको।’

कुरा टुंग्याउन नपाउँदै प्रधानमन्त्री कोइरालाले बीचैमा सोधिहाले, ‘केटी थापालाई चिनेको छ?’

यो सुनेपछि मास्टरले आफ्नो शिर निहुर्‍याउँदै भने, ‘उहाँ त मेरो गुरु। मलाई मुम्बईमा पहिचान नै उहाँले दिलाउनुभएको हो।’

यो सुन्नेबित्तिकै कोइरालाले झ्याप्प अँगालो मारे। र, दबिएको स्वरमा भने, ‘धेरै राम्रो मान्छे। छिट्टै मारियो।’