काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव कमजोर हुँदै गएको छ। शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको महाशाखाले जनाएको हो।
महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ। जसका कारण आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ।
दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति भने कोशी र मधेसमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।