काठमाडौँ। आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी एकदिवशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।
अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।
अहिले लिग–२ को अंक तालिकामा अमेरिका शीर्षस्थानमा छ । २२ खेलमा १६ जितसहित अमेरिकाकाे ३२ अंक हुँदा नेपाल १८ खेलमा ५ जितसहित १२ अंकमा सातौं स्थानमा छ।