आयोगका सदस्य शर्मा भन्छन्- आरोपित सबैको बयान लिइन्छ
काठमाडौँ। जेन-जी आन्दोलनको अनुसन्धान गर्न गठिन न्यायिक जाँचबुझ आयोगले नख्खु कारागारका तत्कालीन प्रमुख सत्यराज जोशीसँग बयान लिएको छ।
सिंहदरबास्थित जाँचबुझ आयोगको कार्यालयमा बोलाएर जोशीसँग आज (आइतबार) बयान लिइएको सदस्य तथा पूर्वएआईजी विज्ञानराज शर्माले जनाए। “जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नख्खु कारागारबाट कसरी कैदीबन्दी भागे वा भगाइए भन्नेबारे जाँचबुझ आयोगले तत्कालीन कारागार प्रमुखसँग बयान लिएको छ,” शर्माले नेपालन्युजलाई भने, “त्यस सम्बन्धमा अन्य व्यक्तिहरूसँग सोधपुछ तथा बयान लिइँदै छ।”
आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट सुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएका थिए। त्यसपछि देशैभरिका २६ कारागार तोडफोड गरी कैदी भागेका थिए।
आयोगले त्यसदिन लामिछाने के-कसरी भाग्न सके र कारागार प्रशासनले कसरी छोड्यो भन्ने विषयमा जोशीसँग बयान लिएको शर्माले जानकारी दिए। जेन-जी आन्दोलन सम्हालिएपछि सुशीला कार्की नेतृत्वको सरकारले ५ भदौ २०८२ मा न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। मन्त्रिपरिषद् बैठकबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग बनाइएको थियो। कार्की नेतृत्वको आयोगमा पूर्वएआईजी शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
८ असोजमा सरकारले जाँचबुझ आयोगलाई पाँचबुँदे कार्यादेश दिएको थियो। कार्यादेश पाएपछि आयोगले जेन-जी आन्दोलनमा भएको दमनसहित सबै विषयमा छानबिन गरिरहेको छ। अरू को-कोसँग बयान लिइँदै छ भन्ने प्रश्नमा शर्माले भने, “आशंकित र घटनामा संलग्न जो-जो देखिएका विवरण प्राप्त भएका छन्, सबैसँग आयोगले क्रमश: बयान लिन्छ,” शर्माले भने।
जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा सक्रिय सुरक्षा निकायलगायत अन्य पक्षका जिम्मेवार व्यक्तिसँग आयोगले अनुसन्धान गरिरहेको छ।