काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

कम्युनिस्ट एकता

वामदेव गौतम नेतृत्वको मालेले २०५६ सालको चुनावमा चुनाव चिह्न ‘तारा’ बाट शून्य सिट प्राप्त

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठवटा कम्युनिस्टहरु नाम अन्तिम टुंगो नलागेको पनि चुनाव चिह्न भने पाँचकुने तारा हुने भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा साम्यवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा माओवादी समाजवादी, नेकपाले नयाँ दल बनाउने विषयमा आइतबार सहमति गरेका हुन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार ‘तारा’ चुनाव चिह्न जनसमाजवादी पार्टी नेपालको नाममा दर्ता छ । यो दलको अध्यक्ष सुवासराज काफ्ले पनि माओवादी केन्द्रसहितका दलहरुसँग एकता गर्न सहमत भएका छन् । व्यापारिक पृष्ठभूमिका काफ्ले राजनीतिक वृत्तमा चिनिएको नाम भने होइन । “हाम्रो लक्ष्यसँग देखाउने तारा चुनाव चिह्न राख्ने भएका छौं‚” एकीकृत समाजावदीको वार्ता टोली सदस्य प्रकाश ज्वाला भन्छन्, “तारा चुनाव चिह्न राख्ने भएपछि हामीले काफ्लेजीसँग कुराकानी गर्‍यौँ । उहाँ एकतामा आउन सहमत हुनुभयो ।”

तारा चुनाव चिह्न २०५४ साल एमालेबाट विभाजित भएर बनेको नेकपा मालेको थियो । २०५६ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मालेले सोही चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुँदा एक स्थान पनि जित्न सकेको थिएन । पछि गौतम एमालेमै फर्किए । सीपी मैनालीको नेतृत्वमा रहेको नेकपा मालेले सोही चुनाव चिह्नबाट पहिलो संविधानसभामा प्रतिस्पर्धा गरेको थियो । प्रत्यक्षतर्फ एक स्थान नजिते पनि समानुपातिकमा ९ स्थान जितेको थियो । तर मैनालीबाट जगत बोगटी विभाजन हुँदा यो चुनाव चिह्न बोगटीतर्फ रह्यो । पछिल्लो समयमा ‘तारा’ चुनाव चिह्न काफ्लेको जनसमाजवादी पार्टीसँग छ।

चुनाव चिह्नबारे टुंगो लागे पनि दलको नामको विषयमा टुंगो लागिसकेको छैन । वार्ता टोली सदस्य ज्वालाका अनुसार दलको नामको विषयमा अन्तिम टुंगो लगाउने जिम्मेवारी शीर्ष नेताहरुलाई दिइएको छ । “सरल र सबैले सजिलै बुझ्ने नाम राख्नेछौँ‚” उनले भने । ज्वालाका अनुसार नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टीसहितका नाम छलफलमा छन्।

एकताका लागि सहमति भएा आठ समूहमध्ये एउटा नेकपा समाजवादी पनि हो। यसको संयोजकमा राजु कार्की छन् । कार्की एमालेबाट राजनीति सुरु गरेका नेता हुन् । सशस्त्र विद्रोहका समयमा उनी माओवादीसँग जोडिए । नेत्रविक्रम चन्द हुँदै विभिन्न समूहमा लागेका कार्कीले पछिल्लो समयमा निर्वाचन आयोगमा नेकपा समाजवादी नामको दल दर्ता गरेका छन्।

यो पनि…

१९ कात्तिकमा माओवादीसहित आठ कम्युनिस्ट समूहको एकता बैठक