१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। भारतको गृह मन्त्रालयले नेपाली नागरिकहरूप्रति कुनै पनि प्रकारको पूर्वाग्रह वा भेदभाव नगरेको स्पष्ट पारेको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै हालको विवादित घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै संलग्नता नरहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ कि नेपाली नागरिक शाम्भवी अधिकारीलाई फिर्ता पठाउने निर्णय एयरलाइन्स कम्पनीले आफ्नै भिसा वैधता जाँचका आधारमा गरेको हो, जसमा भारतीय अध्यागमन निकायको भूमिका थिएन।

गृह मन्त्रालयको विज्ञप्तिमा घटनालाई ‘नेपाली नागरिकविरुद्धको पूर्वाग्रही भेदभाव’ को रूपमा गलत चित्रण गरिएको उल्लेख छ। यात्रु रोक्ने काम भिसा वैधता र यात्रा कागजातका आधारमा एयरलाइन्सले मात्र गरेको उल्लेख छ। अधिकारीले पछि यात्रा मिति परिवर्तन गरी काठमाडौंबाट अर्को बाटो हुँदै बर्लिन पुगेकी थिइन्।

‘बर्लिन जाँदै गरेकी नेपाली नागरिक शाम्भवी अधिकारीलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेर काठमाडौं फिर्ता पठाइएको रिपोर्ट आएको छ। यो घटनालाई नेपाली नागरिकविरुद्धको पूर्वाग्रह/भेदभावको रूपमा गलत रूपमा चित्रण गरिएको छ,’ गृहमन्त्रायले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अन्तर्राष्ट्रिय ट्रान्जिटमा यात्रुहरूले आफ्नो अगाडिको यात्राका लागि अध्यागमन विभागसँग सम्पर्क गर्न नपर्ने गृह मन्त्रालयले उल्लेख गरेको छ। ‘यो एयरलाइन्स र यात्रुबीचको विषय हो। यसमा अध्यागमन अधिकारीहरूको कुनै भूमिका हुँदैन। भारत नेपालसँगको आफ्नो बलियो सम्बन्धलाई महत्व दिन्छ र कुनै पनि भारतीय अधिकारीसँग नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नभएको आश्वस्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।