बैतडी। बैतडीस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ। जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ र्आएसँगै सो सेवा भए पुनः सुरु भएको हो।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा आएको जिल्ला अस्पतालका प्रमुख डा सुशील विकले जानकारी दिए।
शल्यक्रिया सेवा जिल्ला अस्पतालबाटै प्राप्त हुने जनाइएको छ । यस्तै, ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए।
त्यसैगरी, पैताला र पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बाङ्गो भएको उपचार, दुर्घटना वा प्लास्टरपछि भएको हड्डीसम्बन्धी समस्याको उपचार र सबै प्रकारका हाडजोर्नी तथा नसासम्बन्धी समस्याको उपचार जिल्ला अस्पतालमै हुनेछ।
जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ आएसँगै हाडजोर्नी र नशासम्बन्धी सामान्य समस्याका लागि पनि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला अस्पतालले जनाएको छ। अस्पातलमा अहिले तीन जना विशेषज्ञसहित १० चिकित्सकले सेवा दिइरहेका छन्।