काठमाडौं। भारतको डुबर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दूरावस्थाको संघर्षको मार्मिक चित्रण गरिएको छ।
परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको संघर्ष ट्रेलरमा देखाइएको छ। यस्तै, संघर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम् परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक माता-पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। विछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ। गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिन केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ।
उदीप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका छ भने उनीसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापालगायत कलाकारको अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।
चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदीप थापा छन्। चलचित्रको छायांकन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।
चलचित्र ‘धागो’ २८ कात्तिक (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ। नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।