काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

विचार

बुद्ध स्वयंले परिवर्तनको मुख्य साधनका रूपमा धर्मदर्शनलाई नै ‘हतियार’ मानिसकेपछि गुम्बाभित्र हतियार हुन्छ भन्नु असंवेदनशील र असहिष्णु हुनु हो।

१६ कार्तिक २०८२
गोकर्णेश्वरमा अवस्थित फुलारी गुम्बा। तस्बिर : बिक्रम राई
अ+
अ-

हिजोआज नेपालमा गुम्बाका सम्बन्धमा सुन्दा ताज्जुब लाग्ने अनेक प्रश्न, टिप्पणी र आशंका व्यक्त हुन थालेका छन्। ती प्रश्नहरू केलाउने हो भने अधिकांश नेपालीलाई बुद्ध र बौद्ध धर्मबारे आधारभूत जानकारी नभएको मात्रै होइन, गलत अर्थ लगाउने र त्यहीअनुरूप विचार निर्माण गरिरहेको सहजै मान्न सकिन्छ। यसबाट बुद्ध जन्मिएको देश नेपाल, त्यही भूमिमा जन्मिएका हामी भन्नेलगायत गर्वको गरिमामाथि नै प्रश्न उत्पन्न हुन्छ।

गुम्बाभित्र के हुन्छ? गुम्बामा किन सबैलाई प्रवेश दिइँदैन? के गुम्बाभित्र हतियार लुकाएर राखिएको हुन्छ? यस्ता अनेक आशंकाहरूले अरू होइन, हाम्रै ज्ञानको दरिद्रता दर्साउँछ।

राणाकालमा बुद्धको मूर्तिलाई ‘बाँडाका देवता’ पनि भनिन्थ्यो। काठमाडौँको नेवार बौद्ध समाजमा शाक्य र बज्राचार्यहरू वस्तुतः गृहस्थ भिक्षु र पुरोहित वर्गका रूपमा रहेका कारण ‘वन्दनीय’ भनिएको हो र त्यही शब्द अपभ्रंश भएर ‘वाँडा’ हुनपुग्यो। यसरी नै तिब्बती बौद्धहरूलाई देखेर ‘भोटे धर्म’ भनिन्थ्यो। कति शासक त तिब्बत र नेपालमा प्रचलित धर्म एउटै हो भन्नेसम्म जान्दैनथे।

भारतमा शासन गर्न आएका बेलायतीहरूले बुद्ध र बौद्ध धर्मबारे विश्वभर प्रचारप्रसार गरिरहेका बेला नेपाल बेग्लै स्थितिमा थियो। नेपाली शासकको बुझाइमा बौद्ध धर्म विदेशी धर्म थियो। कतिसम्म भने, बौद्ध धर्मको गतिविधिमा लाग्नेहरूलाई जेलनेलको सजाय दिँदै बौद्ध भिक्षुहरूलाई देशनिकालासम्म गरेको इतिहास छ। विडम्बना, अहिले पनि कतिपयका लागि बौद्ध धर्म र दर्शन विदेशी कूटनीति, विदेशी पर्यटक र विदेशी मुद्रा कमाउने साधनभन्दा माथि केही होइन।

धर्मको बर्को ओडेर कसैले राजनीति गर्छ, नेपालमा विदेशी चलखेल गर्छ भने त्यसलाई रोक्नु राज्यको कर्तव्य हो। यसो गरिनु बौद्ध समाजकै लागि हितकर हुन्छ।

गुम्बाको सामान्य अर्थ बौद्ध विहार हो। यसलाई आराम पनि भनिन्छ। गुम्बा बुद्ध र बुद्धका अनुयायीहरू निवास, धर्म चर्चा तथा ध्यान, साधना गर्ने स्थल थियो र अहिले पनि उही अर्थमा लिन सकिन्छ। त्यही विहारलाई काठमाडौँको नेवार बौद्ध समाजमा बहाः र बही भन्न थालियो। विहार नै बहाः र बहीका रूपमा छुट्टिनु विशिष्टीकरण हुनु हो। बहाःमा पूजाआजा, साधना, अनुष्ठान आदि कार्य हुन्छ भने बहीमा मुख्यतः बौद्ध धर्मदर्शनको अध्ययन तथा अध्यापन गराइन्छ। भारतको नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहार, जगद्दला आदि यही बहीका उदाहरण हुन्।

तिब्बती भाषामा विहारलाई गोम्पा भनियो र त्यही गोम्पा नेपालमा गुम्बाका रूपमा प्रचलित छ। तिब्बतीमा बहाःलाई ढाक्छाङ र बहीलाई शेद्रा भनिन्छ। तर, भन्ने बेलामा साधारणतः गुम्बा नै भनिने हो। विहार क्षेत्र मुख्यतः आध्यात्मिक साधना केन्द्र भएकाले यहाँ अन्य गतिविधि नहोस् भन्नेमा पहिलेदेखि नै ध्यान दिने गरिन्छ।

विहारको शान्त वातावरणले मन आनन्दित बनाउँछ। त्यहाँका आकर्षक कला बौद्ध धर्मदर्शनकै अभिव्यक्ति हो। तर, धेरै विहारहरूमा मानिस घुम्न जाने, दौडादौड गर्ने, नाचगान गर्ने, सेल्फी खिच्ने, सामाजिक सञ्जालमा राख्न भिडियो स्थलका रूपमा दुरुपयोग गरिएको हामीले देखिरहेकै छौँ।

लुम्बिनीको एउटा विहारका भित्ताहरू आकर्षक चित्रकलाले सिँगारिएका छन्। सुरुमा यहाँ फोटोग्राफी गर्न कुनै छेकबार थिएन। तर, बुद्ध तथा बोधिसत्वका विशिष्ट चित्रकलालाई पृष्ठभूमि बनाई अर्धनग्न पोसाकमा फोटो खिच्ने तथा अमर्यादित व्यवहार गर्न थाल्दा अहिले त्यहाँ फोटोग्राफी बन्देज छ। बौद्ध धर्मदर्शनको मर्यादामा ध्यान नदिएर विहार क्षेत्रलाई मनोरञ्जनस्थलका रूपमा बुझ्दा व्यवस्थापन पक्षले सावधानी अपनाउँदा नकारात्मक हुनु, सद्भाव नराख्नु र असहिष्णु हुनु हो।

गुम्बा शब्दले तिब्बती मात्रै नभएर सम्पूर्ण बौद्ध विहारलाई जनाउने कुरा हेक्का राखिसकेपछि सबै तिब्बती गुम्बाहरू दलाई लामासँग सम्बन्धित हुँदैनन् भनेर बुझ्नु अत्यन्त आवश्यक छ। तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामा धार्मिक मात्र नभएर राजनीतिक व्यक्तित्व पनि हुन्। उनी स्वतन्त्र तिब्बतको अभियानमा छन्। उता, चीन भने उनी र उनको अभियानलाई निस्तेज पार्न लागिरहेकै छ। अमेरिका र केही पश्चिमा राष्ट्रहरू दलाई लामालाई समर्थन गर्छन्, निर्वासित तिब्बती समुदायलाई सहयोग गर्छन्। त्यही हुनाले पनि कतिपय तिब्बती गुम्बाहरूमा पश्चिमा लगानी हुनुलाई नकार्न सकिन्न।

धर्मको बर्को ओडेर कसैले राजनीति गर्छ, नेपालमा विदेशी चलखेल गर्छ भने त्यसलाई रोक्नु राज्यको कर्तव्य हो। यसो गरिनु बौद्ध समाजकै लागि हितकर हुन्छ। तर, यही आशंकालाई निहुँ बनाएर सबै तिब्बती गुम्बाप्रति वक्रदृष्टि राख्नु गलत मात्र होइन, अन्याय पनि हो। बौद्ध समाजप्रति दमनको षड्यन्त्र पनि हो।

कुनै पनि बौद्ध विहार अर्थात् गुम्बामा हातहतियारको आशंका गर्नु गम्भीर र संवेदनशील कुरा हो। हिंसा र यससम्बन्धी गतिविधि त्याग्ने बौद्ध समाजको न्यूनतम सर्त हो।

तिब्बती बौद्ध धर्महरूमा चार सम्प्रदाय छन्– निङ्मापा, साक्यपा, कार्ग्यूपा र गेलुग्पा। दलाई लामा संख्यामा सबैभन्दा सानो गेलुग्पा सम्प्रदायका हुन्। नेपालमा यस सम्प्रदायका गुम्बा निकै थोरै छन्। तर, चारै सम्प्रदायसँग सम्बन्धित सबै गुम्बा तथा लामा तिब्बती शरणार्थी र लामा पक्षधर नै हुन् भनेर बुझ्नु ठूलो गल्ती हो।

सम्प्रदायविशेषका हिसाबले गुम्बाका संरचना फरक पनि हुनसक्छन्। तर, अधिकांश विहार वा गुम्बाभित्रको प्रमुख अंग पूजास्थल नै हुन्छ, जसलाई तिब्बती भाषामा ल्हाखाङ भनिन्छ। बिहानैदेखि यहाँ पूजाआजा तथा सूत्रपाठ भइरहेको हुन्छ।

विहारको योजनाअनुसार एउटा मूर्तिलाई प्रमुख मानेर त्यसको अगलबगलमा अन्य मूर्तिहरू राखिएका हुन्छन्। लामाहरूको गतिविधि नहुने समयमा पनि यो प्रायः खुला नै रहन्छ, जोकोही आगन्तुकलाई यहाँ पस्न, हेर्न, नमस्कार गर्न तथा स्वेच्छाले दान चढाउन रोकतोक हुँदैन। कुनै गुम्बाका ल्हाखाङमा कंग्यूर र तंग्यूर भनेर छुट्याइएका बौद्ध ग्रन्थहरू राखिएका हुन्छन्। कुनैमा ती ग्रन्थहरू पुस्तकालयमा संगृहीत हुन्छन्। बौद्ध कलाकृति तथा चित्रकलाहरू हुन्छन्। यसबाहेक भान्साघर, भोजनालय, निवास, शौचालय आदि हुन्छन्।

कुनै पनि व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान तथा सरकारी एवं गैरसरकारी कार्यालयमा स्वतन्त्र रूपमा घुमफिर गर्न दिइँदैन। सुरक्षाको निश्चित बन्दोबस्त मिलाइएको हुन्छ। धार्मिक संस्थाहरूकै कुरा गर्ने हो भने पनि कतिपय ठाउँमा अन्य धर्मावलम्बीलाई प्रवेश निषेध नै गरिएको हुन्छ, जसलाई मानवअधिकारका दृष्टिले अन्यथा पनि लिइँदैन। तर, बौद्धस्थलहरूमा अन्य धर्मावलम्बीलाई निषेध गरिँदैन। अपवादका रूपमा कुनै निश्चित समय र स्थानमा कतिपयलाई प्रवेश नगराइनुको अर्थ दीक्षा नपाइसकेकाले रोकिएको हो।

कुनै पनि बौद्ध विहार अर्थात् गुम्बामा हातहतियारको आशंका गर्नु गम्भीर र संवेदनशील कुरा हो। हिंसा र यससम्बन्धी गतिविधि त्याग्ने बौद्ध समाजको न्यूनतम सर्त हो। बुद्धले धर्मदर्शनलाई परिवर्तनको ‘हतियार’ मानेका थिए र भिक्षु सारिपुत्रलाई त धर्मसेनापति नै घोषित गरेका थिए।