१६ कार्तिक २०८२
अ+
अ-

म्याग्दी। सूर्योदय, सूर्यास्त र गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरीलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि म्याग्दीको पुनहिल पछिल्लो समय लोकप्रिय गन्तव्य बनेको छ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित पुनहिलमा असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना भ्रमणका लागि उपयुक्त मानिन्छ। पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार यहाँ वार्षिक करिब ३० हजार पर्यटक आउने गरेका छन्।

व्यवसायी सुदीप पुर्जा पुनका अनुसार यस वर्ष मौसम र राजनीतिक कारणले अपेक्षाकृत कम पर्यटक आएका छन्। विगतका वर्षमा शरद ऋतुमा दैनिक करिब ४०० पर्यटक पुग्ने गरेका थिए। घोडेपानीमा बास बसेका पर्यटकहरू बिहान करिब ४० मिनेट पैदल उकालो चढी पुनहिल पुगेर सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन्।

हाल घोडेपानीमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने २३ वटा होटल सञ्चालनमा छन्। यहाँ कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा हुँदै घोडेपानी–पुनहिल पुग्न सकिन्छ। साथै, वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै पनि पदमार्ग सञ्चालनमा छन्।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकको स्तरोन्नति भइरहेको छ। “ठेक्काबाट हुने आम्दानीको केही हिस्सा पुनहिल क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगाउँदै आएका छौँ,” उनले बताए।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा पुनहिल क्षेत्रबाट करिब रु ४६ लाख आम्दानी गरेको छ। प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले जानकारी दिए। गत वर्ष रु ४० लाख आम्दानी भएको थियो।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमणका लागि विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु १५० र स्वदेशीबाट रु ५० शुल्क लिइँदै आएको गाउँपालिकाले जनाएको छ।