काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटोफिचर

१७ कार्तिक २०८२
दुर्लभ वन्यजन्तु कृष्णसार। सबै तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा आउने गरेका छन्। यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको छ।

कृष्णसार संरक्षण क्षेत्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी, सार्क र अन्य देशका गरी चार हजार ६०० पर्यटक कृष्णसार हेर्न पुगेका थिए।

यस आर्थिक वर्षमा भने बर्सातको मौसमका कारण पर्यटक कम आएका बताइएको छ। पर्यटकहरू दिनभर अवलोकन गरेपछि बर्दिया निकुञ्जमा रहेका होटलमा फर्किने गर्छन्।

अहिले कृष्णसार हेर्न विदेशीलाई दुई हजार, सार्कबाट आएका पर्यटकलाई ५०० र नेपालीलाई १०० रुपैयाँ शुल्क तोकिएको छ। हाल कृष्णसार संरक्षण क्षेत्रमा २४८ वटा कृष्णसार छन्।

सरकारले ३ चैत २०६५ मा कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो। यसको क्षेत्रफल १६.९५ वर्ग किलोमिटर रहेको छ। कुल क्षेत्रफलमध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग किलोमिटर र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग किलोमिटर रहेको छ।

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैँसी, भेडा, बाख्राहरूलगायत सँगसँगै चर्ने र बस्ने गर्दछ। यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ।

कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भइरहेका छन्। संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ।