काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जनस्वास्थ्य

घटनास्थलमा तत्कालै सीपीआर दिएमा मुटुको चाल बन्द भएका मानिसलाई सकिन्छ बचाउन

१७ कार्तिक २०८२
एआईसिर्जित तस्बिर
अ+
अ-

१३ कात्तिकमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतम (६५) भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दै थिए। बोल्दाबोल्दै एक्कासि भुइँमा ढले। उनी अचेत भएर ढलेपछि साथीहरू आत्तिए, अलमलमा परे। उनलाई तुरुन्तै नजिकैको क्रिमसन अस्पताल लगियो। तर, उनको मृत्यु भइसकेको घोषणा अस्पतालले गरिदियो। उनको मृत्युको कारण थियो– ‘सडेन कार्डियाक अरेस्ट’ अर्थात् मुटुको चाल अचानक बन्द हुनु।

बुटवल ज्योतिनगर निवासी गौतम ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् काटिएको विरोधमा विरोध गर्न भैरहवा पुगेका थिए। प्रदर्शनमा जानुअघि उनको स्वास्थ्य ठीकठाक थियो, त्यसैले त्यस घटनाबारे कसैले अनुमान लगाउन सकेनन्।

सीपीआर स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले पनि दिन सक्छन्।

अस्पतालभन्दा बाहिर तथा आकस्मिक उपचार सेवा उपलब्ध नभएको ठाउँमा यसरी कसैको मुटुले अकस्मात् काम गर्ने छाडेमा वरिपरि भएका मानिसले तत्कालै ‘सीपीआर’ (कार्डियोपल्मोनरी रिससिटेशन) गरे बिरामीको ज्यान बचाउन सकिने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्। मुटु रोकिँदा या सास बन्द हुँदा बिरामीलाई बचाउन मुटु र सासलाई कृत्रिम सहायता दिने आपत्‌कालीन उपचार प्रक्रियालाई सीपीआर भनिन्छ।

डा. रेग्मीका अनुसार, उपचारको व्यवस्था नहुन्जेल प्राथमिक उपचारअन्तर्गत आकस्मिक रूपमा सीपीआर दिँदा अचेत व्यक्ति होशमा आउन सक्छन्। तर, भैरहवाको कार्यक्रममा सहभागीहरूमध्ये कसैलाई पनि सीपीआरको ज्ञान भएको देखिएन। “अस्पताल लैजानुअघि उनलाई सीपीआर दिनसकेको भए ज्यान बचाउन सकिन्थ्यो,” डा. रेग्मी भन्छन्।

भाषण गर्दागर्दै ढलेर बितेका कमल गौतम

सीपीआर दिँदा कुनै समस्या आएर अचानक मुटु चल्न बन्द भएमा छातीको मध्य भागमा हत्केलाले थिचेर रगत पम्प गराउने प्रयास गरिन्छ। सीपीआरले आफैँ मुटुको चाल सुरु गराइहाल्ने होइन, आंशिक रूपमा रक्तप्रवाह गराएर मस्तिष्कमा रगत र अक्सिजन पुर्‍याई अन्य उपचार उपलब्ध नभएसम्म मस्तिष्कलाई बचाइराख्ने प्रयास गर्छ। मस्तिष्कमा चार मिनेटसम्म रगत नपुगेमा त्यसका कोषहरू मर्न थाल्छन् र सात मिनेटसम्म पनि नपुगेमा पूर्णरूपमा मर्छन्। त्यसैले मस्तिष्कलाई बचाइराख्न र मुटुको चाल ठीक गर्न दिइने ‘इलेक्ट्रिक सक’ का लागि मुटुलाई तयार पार्न सीपीआर गरिन्छ।

डा. रेग्मीका अनुसार हृदयाघात भएकामध्ये २५ प्रतिशतलाई ‘सडेन कार्डियाक अरेस्ट’ हुन्छ। यस्तो अवस्थामा तत्कालै अस्पताल नपुर्‍याउँदासम्म सीपीआर (छातीको मध्य भागमा हत्केलाले दम दिने) गर्दा कतिपयलाई बचाउन पनि सकिन्छ। अचानक मुटु चल्न बन्द हुने मुख्य दुई कारण छन्। पहिलो, मुटुको रक्तनली बन्द भएर हृदयाघात हुनु। दोस्रो, मुटुको चालमा अचानक गडबडी भएर रगतको पम्पिङ बन्द हुनु। “अप्रत्याशित मृत्युको कारण मुटुको चालको गडबडी र मुटुको रक्तसञ्चार बन्द भएर हुनसक्छ,” उनी भन्छन्।

उनका अनुसार सडेन कार्डियाक डेथ कुनै लक्षण नदेखिएका स्वस्थ व्यक्तिमा पनि हुन्छ। मुटुबाहेक फोक्सोमा ठूलो ‘क्लट’ जमेर वा अन्य कारणले पनि अचानक मृत्यु हुनसक्ने उनको भनाइ छ। यद्यपि, यस्तो घटना दुर्लभ हुन्छ।

आवश्यक सावधानी

सीपीआर स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले पनि दिन सक्छन्। सबै ठाउँमा स्वास्थ्यकर्मी उपलब्ध नहुनसक्छन्। त्यस्तो समयमा सीपीआरको तालिम लिएका व्यक्तिले ‘सडेन कार्डियाक अरेस्ट’ भएका व्यक्तिलाई तुरुन्तै सीपीआर दिनसक्ने मुटुरोग विशेषज्ञ डा. रेग्मी बताउँछन्।

उनका अनुसार अस्पताल लैजाँदासम्म ठीक तरिकाले सीपीआर दिइरहे मुटुको चाल बन्द भएका मानिसलाई बचाउन सकिने सम्भावना हुन्छ। “अचानक मुटुको चाल बन्द भएका बिरामीलाई आधारभूत लाइफ सपोर्ट अर्थात् सीपीआर राम्रोसँग गर्न सकियो भने मुटु बन्द भइसकेका व्यक्तिलाई पनि बचाउन सकिने सम्भावना धेरै हुन्छ,” उनी भन्छन्। नेपालमा मुटु चल्न बन्द भएका कति मानिसहरूलाई बचाइयो भन्ने यकिन तथ्यांक नभए पनि केही त्यस्ता बिरामीहरू उपचारपछि बाँचेका उदाहरण भएको उनी बताउँछन्।

अस्पताल, रेडक्रस र समाजिक संघसंस्थाले यस्तो तालिम आयोजना गर्दै आएका छन्, जुन धेरै ठाउँमा पुग्न सकेको छैन।

सडेन कार्डियाक अरेस्टका घटना बढिरहे पनि यसको ज्ञान भएका मानिसहरू नहुँदा जोगाउन सकिने धेरैको ज्यान अकालमा गइरहेको डा. रेग्मीको भनाइ छ। उनका अनुसार अस्पतालहरूले आफ्ना स्वास्थ्यकर्मीलाई यसको तालिम दिने गरे पनि समुदायस्तरमा यसको ज्ञान छैन।

आकस्मिक स्वास्थ्य सेवाअन्तर्गत पर्ने सीपीआर तालिम लिन स्वास्थ्यकर्मी नै हुनु पर्दैन, जोसुकैले लिनसक्छन्। सीपीआर दिने व्यक्तिमा बिरामीको नाडीको चाल र मुटुको धड्कन चलेको छ कि छैन, सास फेरिरहेको छ कि छैन भन्ने आधारभूत ज्ञान हुनुपर्छ। डा. रेग्मीको भनाइमा सीपीआर दिने भन्दैमा कोही व्यक्ति ढल्नासाथ मुटु चले या नचलेको ख्याल नगरी तुरुन्तै छाती थिच्नु हुँदैन। “मुटुको गति चलिरहेको बेला सीपीआर गर्दा मुटु बन्द हुन्छ र मानिसको मृत्यु हुन्छ। त्यसैले मुटुको गति र नाडीको चाल बन्द भएको अवस्थामा मात्रै सीपीआर दिइन्छ,” उनी भन्छन्।

अपर्याप्त तालिम

विश्वका धेरै देशमा विद्यालय तहदेखि नै सीपीआरको तालिम दिइन्छ। विभिन्न कार्यालयका कर्मचारीदेखि सामान्य व्यक्तिसम्मलाई यस्तो तालिम दिइन्छ। अचानक बेहोस भएका व्यक्तिलाई सीपीआर दिनेबित्तिकै बाँच्छन् भन्ने त होइन, तर अस्पतालभन्दा बाहिर मुटुको चाल बन्द भएका बिरामीलाई बचाउन सकिन्छ भन्ने उद्देश्यले यस्तो तालिम दिइने गरेको मुटुरोग विशेषज्ञ डा. रेग्मी बताउँछन्।

तर, नेपालमा सीपीआरको आधारभूत तालिम र ज्ञान दिने अभ्यास अत्यन्त न्यून छ। त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, वीर अस्पताललगायत अस्पतालहरूले आफ्ना स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई यससम्बन्धी तालिम दिए पनि समुदायस्तरमा सञ्चालन हुन नसक्दा सडक र सार्वजनिक स्थलमा आकस्मिक घटना भए मानिसहरू आत्तिने वा अलमलिएर बस्ने अवस्था रहेको डा. रेग्मी बताउँछन्। सरकारले विद्यालय र क्याम्पसका पाठ्यक्रममा यो विषय समेट्नुपर्ने र सरकारी/गैरसरकारी कार्यालयमा यस्तो तालिम अनिवार्य गर्नुपर्ने उनको सुझाव छ। उनका अनुसार आमा समूह, राजनीतिक दलका सदस्यहरू, युवा समूहलगायत सीपीआरको तालिम र ज्ञान प्रसारमा लाग्न सक्छन्।

अस्पताल, रेडक्रस र समाजिक संघसंस्थाले यस्तो तालिम आयोजना गर्दै आएका छन्, जुन धेरै ठाउँमा पुग्न सकेको छैन। सरकारको तर्फबाट गत वर्षदेखि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले समुदायस्तरमा तालिम कार्यक्रम लागू गरेको छ। तर, बजेट अभावका कारण सबै ठाउँमा पुर्‍याउन नसकिएको केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्रप्रसाद पंगेनी बताउँछन्। उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई तथा दोस्रो चरणमा शिक्षक, प्रहरी, एम्बुलेन्स चालक, महिला समूह, महिला स्वयंसेविका र दलका सदस्यहरूलाई तालिम दिइएको छ।

आकस्मिक उपचार उपलब्ध नभएका ठाउँ र भौगोलिक रूपमा विकट स्थानका शिक्षक, संघसंस्था र राजनीतिक दलनिकट संगठनहरूलाई यस्तो तालिम दिने गरिएको पंगेनी बताउँछन्। भन्छन्, “प्रत्येक नागरिकले थाहा पाउनुपर्ने विषय भए पनि बजेट सीमित भएकाले थोरैलाई भए पनि जानकारी दिएका छौँ।”