१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका ८, जयबागेश्वरी गायत्री मार्गमा पुनरुत्थान गरिएको ब्रह्मा मन्दिरमा मूर्ति पुन:स्थापना गरिएको छ।

महानगरीय प्रहरी वृत्त गौशालामा संरक्षण गरेर राखिएको मूर्तिलाई आज (सोमबार) बग्गीमा राखेर मन्दिर पुर्‍याइएको थियो। यस क्रममा महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगतसहित स्थानीयले उल्लासपूर्ण पुनःस्थापना यात्रामा सहभागिता जनाएका थिए।

मूर्तिलाई आसनमा पुनःस्थापना गराएपछि उपप्रमुख डंगोलले महानगरपालिकाभित्रका स्मारकहरुबाट हराएका, चोरिएका मूर्ति, काष्ठकला, धातुकला, चित्रकलाजस्ता सम्पत्ति पुनःस्थापना गर्न निरन्तर काम गरिरहेको बताइन्।

मन्दिर पुनर्निर्माण र मूर्ति पुनःस्थापनाका विषयमा उनले भनिन्, “वडाध्यक्षको नेतृत्व र समुदायको सक्रियता लोभलाग्दो छ। यो आपसी सम्बन्ध अन्य स्थानका लागि पनि अनुकरणीय छ।” चोरेर विदेशका संग्रहालयहरुमा लगिएका कला सामग्री फिर्ता ल्याउने र पुनःस्थापना गराउने काममा आफू सक्रिय रहेको बताइन्। उनले थपिन्,“म बेल्जियम पुगेका बेला त्यहाँ भेटिएका कला फिर्ता ल्याउन दूतावासमार्फत पहल गरेकी छु। यसको प्रक्रिया अगाडि बढेको सुनेका छौँ। दूतावासबाट फिर्ता भएन भने महानगरपालिका आफैँले खर्च गरेर फिर्ता गराउँछौँ। मूर्तिहरु संग्रहालयमा भन्दा जहाँ पुगिन्छन्। त्यही राख्नुपर्छ, भन्ने हाम्रो भनाइ हो।”

तस्बिर : सुजन तिमल्सिना

ब्रह्माको मूर्ति हराएको भेटाइएको र संरक्षण गरिएको विषयमा जानकारी दिँदै वडाध्यक्ष आशामान संगतले पाका स्थानीयको भनाइ उधृत गर्दै भने, “एकाथरीको भनाइ छ, चोरले मूर्ति चोरेर लाँदा लैजान नसकेपछि धोबीखोलामा फालेको थियो। अर्को एकथरीको भनाइ छ- पशुपतिको तिलगंगा क्षेत्रमा फालिएको थियो। जता फाले पनि २०३६ देखि २०३८ का बीचमा आसनबाट मूर्ति चोरी भएको हो। फालिएको ठाउँबाट प्रहरीले ल्याएर प्रहरी कम्पाउन्डमा राखेको चाहिँ सत्य हो।”

वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै एक सय वर्षभन्दा धेरै भएको थियो। यसस्थानमा झाडी मात्र थियो। पुरातत्त्व विभागको सहयोगमा उत्खननपश्चात यसको प्राचीनताको अध्ययन गरिएको थियो। यसबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ।

“मन्दिरको वनावट र प्रकृतिसम्बन्धी दस्ताबेज नपाइएपछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्त्वविद्हरुबाट मन्दिरको रेखांकन गरेर पुनर्निर्माण गराएका हौँ‚’ संगतले जानकारी दिए।

सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनर्निर्माण गरिएको हो। यसको लागत करिब एक करोड १५ लाख रुपैयाँ हो। माटो, इँटा र काठको प्रयोगबाट मन्दिर निर्माण गरिएको छ। यो दुई तलाको प्यागोडा शैलीको छ।