काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ।
सरकार-सरकार साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी सम्झौता भयो। सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले र वैद्यखानाका तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले हस्ताक्षर गरे।
सम्झौतापछि विभागका प्रमुख केसीले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वास जनाए। यस्तै वैद्यखानाका कार्यकारी निर्देशक केसीले औषधिको गुणस्तरीयतामा संवेदनशील भएर माग पूर्ति गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले महानगरपालिकाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधिहरु वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने योजना रहेको बताए। महानगरपालिकाले यसप्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको छ।
सम्झौताबमोजिम वैद्यखानाले औषधिको ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि माग भएको ७ दिनभित्र उपलब्ध गराउनेछ। यो सम्झौता २०८३ असार मसान्तसम्मका लागि हो।