नवनियुक्त अध्यक्ष राई भन्छन्- निगमलाई सबैले भरोसा र विश्वास गर्ने योग्य बनाउने गरी काम गर्न जरुरी छ

१८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा विक्रम राई नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले नवनियुक्त अध्यक्ष राईलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन्।

कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल तिहारमा सकिएपछि निगम नेतृत्वविहीन थियो। यसअघि राई सञ्चालक समितिको उपाध्यक्षको भूमिकामा थिए। प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले राईलाई अध्यक्षमा शुक्रबार नियुक्त गरेकी थिइन्।

तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले राईलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए। उनी प्रसादी एकेडेमीका सञ्चालक पनि हुन्।

नवनियुक्त अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले पद तथा गोपनीयताको शपथ गराइन्।

शपथपछि मन्त्रालयका निमित्त सचिव घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउन, व्यवस्थित पद्धतिको थालनी गर्न अध्यक्ष राई र निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलाई निर्देशन दिएकी थिइन्।

नवनियुक्त अध्यक्ष राईले वर्तमान चुनौतीपूर्ण अवस्थामा प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफूमा देखाएको भरोसा र विश्वासका लागि धन्यवाद दिएका थिए। उनले नेपाल वायुसेवा निगमलाई नयाँ उचाइँमा पुर्‍याउन आफूले मिहिनेत गर्ने पनि बताए। ‘निगमलाई सबैले भरोसा र विश्वास गर्ने योग्य बनाउने गरी काम गर्न जरुरी छ‚” उनले नेपालन्युजसँग भने‚ “त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु।”