१८ कार्तिक २०८२
अ+
अ-

मुस्ताङ। माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक आरोहण भएको छ। दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठजनाको टोलीले ६‚२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक आरोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ।

माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका ४ स्थित नाम्डो गाउँबाट माथिको ५‚४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ। दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र चुलसहित पाँच नेपाली पर्यटक गाइडले छुआमा आधार शिविर हुँदै ‘छुआमा’ हिमालको २ नोभेम्बरमा सफलतापूर्वक आरोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

पहिलोपटक उपल्लो मुस्ताङमा अवस्थित तीनवटा छुआमा शिखरमध्ये छुआमा तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ। नोभेम्बर २ तारिखको बिहान २ बजे ‘छुआमा’ आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि शिखरमा पुगेको थियो।

उपल्लो मुस्ताङबाट पहिलोपटक विदेशी नागरिकले ‘छुआमा’ हिमालको पर्वतारोहण गरेको एक्याप लोमान्थाङको भनाइ छ। यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि १८ अक्टोबरमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

पहिलोपटक यहाँको छुआमा हिमालको सफलतापूर्वक पर्वतारोहण गरी फर्किएका तीन कोरियालीसहितको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ। पहिलोपटक छुआमा हिमालको आरोहणसँगै माथिल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन तथा माथिल्लो मुस्ताङको हिमाल पर्वतारोहण प्रवर्द्धनमा ठूलो सहयोग पुर्‍याउने विश्वास गरिएको एक्याप प्रमुख पौडेलको भनाइ छ।