१८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन्। त्यसका लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी-पत्रमा हस्ताक्षर गरे।

समझदारीपत्रमा आईक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीले हस्ताक्षर गरे।

समझदारीको उद्देश्य संस्थागत आर्थिक अपराध अनुसन्धान गर्न ज्ञान तथा दक्षता अभिवृद्धि गर्नु तथा संस्था, ब्युरोबीच लेखापरीक्षणसँग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी दुई निकायबीच समन्वय र सहकार्य स्थापित गर्नु,नेपाल चार्टर्ड एकाउन्टेन्टस ऐन, २०५३ बमोजिम गर्ने अनुगमनलगायत नियमनसम्बन्धी कार्यमा आवश्यकताअनुसार ब्युरोले संस्थालाई सहयोग उपलब्ध गराउनु, नक्कली लेखापरीक्षकविरुद्ध कारबाही गर्नु तथा संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँगसम्बन्धित विषयमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्न आवश्यक समन्वय, सहकार्य र सहयोग आदानप्रदानगर्नु रहेको समझदारीपत्रमा हस्ताक्षरपछि संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समझदारीअन्तर्गत आर्थिक तथा वित्तीय अपराध अनुसन्धानको सिलसिलामा ब्युरोबाट विषयसँग सम्बन्धित प्राविधिक तथा विशेषज्ञताका लागि माग भई आए संस्थाले ब्युरोलाई प्राविधिक तथा विशेषज्ञसम्बन्धी सहयोग गर्ने तथा संस्थाले सञ्चालन गर्ने फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गरी कर्मचारीको ज्ञान तथा दक्षता अभिवृद्धि गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आईक्यानका अध्यक्ष तथा सीआईबीका प्रमुखले वर्तमान समयमा संस्थागत वित्तीय अपराधहरु व्यापक मात्रामा बढ्दै गएकोले सोको अनुसन्धान तथा नियन्त्रण गर्न आवश्यक ज्ञान सीप तथा दक्षता अभिवृद्धि गर्न, गैरकानुनी वा अनाधिकृत रुपमा हुने लेखापरीक्षण वा लेखा व्यवसायलाई नियन्त्रण गर्न तथा संस्था र ब्युरोबीच आपसी सूचना आदानप्रदानमा यस समझदारीले अहं भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।