इजरायलबाट इन्जिन ल्याउन १५ दिनको समय
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी) का अधिकारीहरूलाई दिइएको ‘बिजनेस क्लास अपग्रेड’ गर्न पाउने सुविधा बन्द भएको छ।
निमगको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका विक्रम राईले मंगलबार पदबहालीपछि व्यवस्थापनलाई निर्देशन दिँदै बिजनेस क्लास अपग्रेडको सुविधा हटाउन भनेका थिए।
सोहीअनुसार निगमको निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरुलाई बिजनेस क्लास अपग्रेडको सुविधा प्रयोग नगर्न मंगलबारै परिपत्र गरेका छन्।
यसअघि इकोनोमिक क्लासको टिकटलाई बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरुले ‘बिजनेस क्लासमा अपग्रेड’ गर्न सक्ने अधिकार दिइएको थियो। पहुँच हुनेहरुले सस्तो मूल्यमा इकोनोमिक क्लासको टिकट किनेर बिजनेस क्लासमा अपग्रेड गराउँदै आएका थिए।
संस्थाको आम्दानीलाई नै प्रभावित गर्ने यस्तो सुविधा बन्द गर्न अध्यक्ष राईले निर्देशन दिएको निगमका प्रवक्ता अनिल घिमिरेले बताए।

“बिजनेस क्लास अपग्रेड गर्ने प्रवृत्तिलाई तत्काल बन्द गर्न, यात्रु ब्यागेज नीतिमा समयानुकूल परिमार्जन गर्न तथा ब्यागेज टुटफुट सम्बन्धमा आएका जनगुनासो यथाशीघ्र सम्बोधन गर्न अध्यक्षले निर्देशन दिनुभएको थियो। निर्देशन कार्यान्वयन भइसकेको छ‚” घिमिरेले भने।
पछिल्लो समय निगममा करार तथा ज्यालादारीमा नियुक्त भएका कर्मचारीलाई हटाउन पनि राईले निर्देशन दिएका छन्। यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अवकाश हुने समयमा दैनिकज्याला र करारमा कर्मचारी नियुक्त गरेका थिए।
त्यसैगरी निगमको न्यारोबडी जहाजका लागि भाडामा ल्याएर प्रयोग गरेको इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्न र मर्मत गर्न इजरायल पठाइएको निगमको इन्जिन जडान गर्ने कार्य १५ दिनभित्र टुंग्याउन पनि उनले निर्देशन दिएका छन्।
निगमले इजरायलको एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई)बाट इन्जिन भाडामा ल्याएर लुम्बिनी नामको न्यारोबडी जहाजमा प्रयोग गरेको थियो। त्यसको भाडाबापतको करिब ४२ करोड रुपैयाँ निगमले भुक्तानी नगरेपछि इजरायली कम्पनीले सम्झौता रद्द गरिसकेको छ। यस विषयमा पनि राईले निगम व्यवस्थापनको ध्यानाकर्षण गराएका छन्।