काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ कार्तिक २०८२
अ+
अ-

बिर्तामोड। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपीएफले २९ औँ मिनेटमा सविता रानामगरको गोलमार्फत अग्रता लियो। त्यसपछि ३८औँ मिनेटमा सरु लिम्बूले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै अनिता बस्नेतले दोस्रो गोल थपिन्।

पहिलो हाफको इन्ज्युरी समयमा एपीएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो। ४१औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन्। जससँगै पहिलो हाफ एपीएफको पक्षमा ५-० मा समाप्त भयो।

दोस्रो हाफमा पनि एपीएफको आक्रमण रोकिएन। ७१औँ मिनेटमा सविता रानामगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्। ८४औँ मिनेटमा अनिता केसीको पासमा रश्मीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन्।

सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१औँ मिनेटमा गरेको प्रहार एपीएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् भने ८०औँ मिनेटमा वान-भर्सेस-वानको अवसर पनि सुक्रियाले गुमाइन्।

एपीएफका प्रशिक्षक जिवेश पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए। खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे र योजनाअनुसारको फुटबल देखाए,” उनले भने।

सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिएको बताइन्। “हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ,” उनले प्रतिक्रिया दिइन्।

खेलकी प्लेयर अफ द म्याच रश्मी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। भोलि हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ। उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा आठवटा टिम त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।